८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

पार्टीको गुटले मलाई फाइदा गरेन : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र आफूले गुट अन्त्य गर्न चाहेको बताएका छन्। ट्रेड युनियन कांग्रेसको ७३ औं स्थापना दिवसका अवसरमा बोल्दै सभापति देउवाले गुट उपगुटले पार्टीमा समस्या भएको बताएका हुन्।

‘गुटले मलाई के फाइदा गर्छ ?, गुट उपगुटले त झन अप्ठ्यारो बनाएको छ। गुट अन्त्य गर्न म चाहान्छु’, छेउमै बसेका महामन्त्री डा. शशांक कोइरालातर्फ इंकित गर्दै देउवाले भने,‘महामन्त्री ज्यू गुट अन्त्य गर्न मलाई सहयोग गर्नुस्।’

सभापति देउवाले सरकार जनताका अधिकार खोसेर प्रजातन्त्रमाथि आक्रमण गर्न खोजिरहेको दावी गरे। ‘यो सरकारले जनताका मौलिक अधिकार खोसेर प्रजातन्त्रमाथि आक्रमण गर्न खोजिरहेको छ’, देउवाले भने ‘अहिले सरकारले अनलाईन, फेसबुक कन्ट्रोल गर्ने विधेयक ल्याएको छ। बिस्तारै प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्छ।’

सभापति देउवाले प्रजातन्त्रको रक्षामा ठूलो आन्दोलन गर्नुपर्ने हुनसक्छ भन्दै कार्यकर्तालाई तयार रहन आग्रह गरे। देउवाले वर्तमान कम्युनिष्ट सरकार कामभन्दा बढी प्रचार र हल्लाखल्लामा लागेको आरोप लगाए।

‘सामाजिक सुरक्षा कार्यक्रम २०५८ सालमा कांग्रेसले गैर सरकारी विधेयकको रुपमा ल्याएको थियो। तर, यो सरकारले आफ्नौ काम हो भनेर हल्लाखल्ला गर्यो’, उनले भने, यो कार्यक्रमको जस हामीले पाउनुपर्छ। 

 

प्रकाशित: २१ फाल्गुन २०७५ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App