२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

डा. केसीको समर्थनमा धर्ना, अनशन र र्‍याली

डा. गोविन्द केसीको समर्थनमा बिहीबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सकले निकालेको र्‍याली। तस्बिर: रोहित/नागरिक

धरान - अनशनरत डा. गोविन्द केसीको समर्थनमा आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सकले बिहीबार र्‍याली निकालेका छन्।

केसीको स्वास्थ्य चिन्ताजनक हुँदै गए पनि माग सम्बोधन गर्नेतर्फ सरकारले ध्यान नदिएको भन्दै प्रतिष्ठानका चिकित्सकले र्‍याली निकालेका हुन्। सरकारले केसीको ज्यान बचाउन तत्काल ठोस कदम नचाले आकस्मिक सेवा पनि बहिष्कार गर्ने चेतावनी चिकित्सकले दिएका छन्। केसीको समर्थनमा प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी र नेपाल चिकित्सक संघ दुवै आन्दोलनमा छन्। सोसाइटीको आह्वानमा बिहीबार प्रतिष्ठानका चिकित्सकले बृहत विरोध र्‍याली निकाले। प्रतिष्ठानको जिओपिडी भवन अघिबाट निकालिएको र्‍याली भानुचोक पुगेर पुनः जिओपिडी अघि पुगेर कोणसभामा परिणत भयो। प्रतिष्ठानका जुनियर रेसिडेन्टले ओपिडी सेवा बहिस्कार गर्दै धर्ना दिइरहेका छन्।

सोसाइटीका अध्यक्ष कविराज पौडेलले स्वास्थ्य शिक्षा सुधार गर्ने डा. केसीको जायज मागप्रति सरकारले बेवास्ता गरिरहेका कारण आफुहरु काम छोडेर आन्दोलनमा उत्रनुपरेको बतााए। ‘अहिले ओपिडी सेवा मात्र बहिस्कार गरिरहेका छौं, सरकारले वार्ता वा माग सम्बोधन गरेर केसीको ज्यान बचाउन ध्यान नदिने हो भने थप कडा आन्दोलन पनि गर्नसक्छौ,’ पौडेलले भने। माग सम्बोधन नगरेसम्म धर्ना कार्यक्रम निरन्तर रहने उनले बताए। नेपाल चिकित्सक संघको आह्वानमा प्रतिष्ठानमा रिले अनशन पनि जारी छ। ‘केन्द्रको निर्णय अनुसार रिले अनसन भइरहेको छ, चिकित्सा शिक्षासम्बन्धी डा. केसीको जायज माग सम्बोधन गर्दै उहाँको जीवन रक्षाका लागि आवश्यक प्रक्रिया अघि बढाउन सरकारसँग संघको माग छ,’ संघ धरान शाखा अध्यक्ष प्रा.डा. राजु रिजालले भने।

प्रकाशित: १८ माघ २०७५ ०२:१६ शुक्रबार

अनशन डा._गोविन्द_केसी आन्दोलन बिपी_कोइराला_स्वास्थ्य_विज्ञान_प्रतिष्ठान