काठमाडौं– अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशभर पराजय भोग्ने भयले नेविसंघले स्ववियु चुनाव नचाहेको आरोप लगाएका छन्। स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै आघात पुगेको उनको भनाई छ। स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने पनि जोड दिए।
विश्वविद्यालयले सबै विद्यार्थी संगठनहरुलाई चाँडै बोलाएर स्ववियुको निर्वाचन बनाउन आग्रह गर्ने पनि उनले विश्वास दिलाए।
नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्नको लागि बहानीबाजी गरिरहको पनि उनको आरोप छ। देशभरीबाट पराजय व्यहोर्नुपर्ने हो कि भन्ने भयबाट नेविसंघले कहीँ न कहीँ काम गरेको आफूहरुले पाएको पनि उनले दाबी गरे। उनले भने, ‘त्यसैले नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्न बहानाबाजी गरेको देखिन्छ। तर, म पूर्णरुपमा भन्न चाहन्छु की नेविसंघजस्तो संगठन आफ्नो जिम्मेवारीबाट हट्छ भने यो शोभनीय हुँदैन्।’
स्ववियु निर्वाचन निर्धारित मितिमा हुन नसके यो वर्ष निर्वाचन गर्न निकै कठिन हुने पनि उनले तर्क गरे। अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी मिलेको भय नेविसंघमा देखिएको सुनाउँदै तामाङले भने, ‘कुनैपनि बहानामा स्ववियुको निर्वाचन स्थगित गर्नुहुँदैन्।’ उनले आफूहरु दुई संगठन मिल्दा भय हुने हो भने फागुन १४ गतेसम्म आफूहरु एकता नगर्न पनि तयार रहेको भन्दै व्यंग्य गरे।
उनले नेविसंघले कृत्रिम मुद्दा उचालेर र यो वा त्यो बहाना बनाएर स्ववियु निर्वाचनबाट भाग्न लागेको आफूहरुलाई संशय भएको बताए। उनले भने, ‘तिललाइ पहाड नबनाउनुहोस् । म फेरि पनि दोहोर्याएर भन्छु स्ववियुको निर्वाचन निर्धारित मितिमा हुनुपर्छ।’
प्रधानमन्त्रीले अहिले पक्राउ परेका नेविसंघका विद्यार्थीहरुलाई पनि रिहाई गर्ने र स्ववियु निर्वाचनको लागि शान्ति, सुरक्षाको वातावरण सरकारले बनाउँछ भनेर विश्वास दिलाई सकेको पनि तामाङले जानकारी गराए।
प्रकाशित: १५ माघ २०७५ ११:३५ मंगलबार