१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याई गर्नुहुन्न : गृहमन्त्री थापा

फाइल तस्बिर

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याई गर्न नहुने बताएका छन्। आइतबार गृहमन्त्रालयमा आयोजित मन्त्रालयको आ.व.२०७५/०७६को प्रथम चौमासिक प्रगति समिक्षा र गृहमन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले विकासको लक्ष्य हासिल गर्न तथा सुशासन कायम गर्न सुरक्षामा लगानी गर्नु अनिवार्य रहेको टिप्पणी गरे।

शान्ति सुरक्षा र विकास अन्तरसम्बन्धित रहेको कुरालाई राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालजस्ता निकायले बुझेर सोही अनुरुपको सहयोग गर्नुपर्ने गृहमन्त्री थापाकाे भनाइ छ। सुरक्षाका लागि आवश्यक अत्याधुनिक प्रविधिका प्रयोगलाई बढाउँदै लैजानुपर्नेमा उनले जोड दिए।

बैठकमा मन्त्रालयको पुँजिगत खर्च कम भएको विवरण पेश भएपछि गृहमन्त्री थापाले यस्तो कार्य सच्याउन मातहतका निकायहरुलाई निर्देशन समेत दिए। उनले भने, ‘बजेट भएर पनि काम नभएको भए त्यहाँ लापरवाही भएको स्पष्ट छ। त्यसलाई तत्काल सच्याउनुहोस्।'

कार्यक्रममा गृह सचिव प्रेमकुमार राईले मन्त्रालयबाट आवश्यक सहयोग रहेपनि मन्त्रालय अन्तर्गतका निकायहरुले अपेक्षित गती अझै लिन नसकेको भन्दै त्यसलाई सुधार गर्न निर्देशन दिए।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीका लागि आवश्यक स्रोत र साधनको कमी रहेको तथा आवश्यकता अनुसार प्रहरी जनशक्ति भर्ना गर्न नसकिएको गुनासो गरे।

बैठकमा गृह मन्त्रालय अन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार विभाग, प्रहरी किताबखाना लगायतका निकायहरुले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए। बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए। 

प्रकाशित: ८ पुस २०७५ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App