१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारले प्रादेशिक पूर्वाधार कम्पनी निर्माण गर्ने

मकवानपुर - प्रदेश नम्बर तीनको सरकारले प्रादेशिक पूर्वाधार कम्पनी निर्माण गर्ने भएको छ। प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रादेशिक पूर्वाधार कम्पनी निर्माणका लागि विधेयक तयार गर्न स्विकृती दिएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको प्रादेशिक पूर्वाधार कम्पनी निर्माण गर्न कानुन तर्जुमाको सैद्धान्तिक सहमति गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रीपरिषद बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ।

बैठकले भ्रष्टाचार निवारण सम्बन्धी प्रदेश रणनीतिको मस्यौदा २०७५ स्वीकृत गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रादेशिक पूर्वाधार कम्पनी निर्माण गर्न प्रस्ताव र भ्रष्टाचार निवारण सम्बन्धी प्रदेश रणनीतिको मस्यौदा पेश गरेको थियो।

त्यसैगरी मन्त्रीपरिषद बैठकले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको प्रदेश औद्योगिक व्यवसाय सम्बन्धी विधेयक २०७५ प्रदेश सभामा पेश गर्ने, प्रदेश संयुक्त बजार अनुगमन निर्देशिका २०७५ र डिभिजन वन कार्यालयको संगठन संरचना स्विकृत गर्ने निर्णय समेत गरेको छ। त्यस्तै, संघीय खानेपानी मन्त्रालयले पठाएको १ सय ५ जना कर्मचारीको प्रदेश दरबन्दी समेत स्विकृत गरिएको छ ।

यस्तै, साझा यातायात सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा विद्युतीय बस सञ्चालन गर्ने निर्णय भएकाे आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले बताए।

बैठकमा मुख्यमन्त्री पौडेल, मन्त्री जम्कट्टेलसहित उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा सहभागी थिए।

प्रकाशित: १९ मंसिर २०७५ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App