२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

पूर्वलडाकु भन्छन्– जनयुद्ध लड्दा बर्बाद भइयो

ठेलामा ब्यापार गर्न बसेका तत्कालीन माओवादीका लडाकुहरू योगेन्द्र केसी, खेमप्रसाद बुढामगर र क्षितिज मगर। तस्बिर : देवेन्द्र/नागरिक

दाङ - ‘राज्यसत्ता’ कब्जा गर्ने र मुलुकमा जनवादी सत्ता स्थापना गर्ने अठोटसहित तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सश्स्त्र ‘जनयुद्ध’ मा होमिएका रामेछापका योगेन्द्र केसी अहिले फुटपाथमा पसल चलाउँछन्। जनवादी सत्ता ल्याउने सपना बोकेर जनयुद्धमा लागेको बताउने उनी अहिले ती दिन सम्झिन चाहँदैनन्। किनकी उनलाई देखाइएको सपना पूरा भएन। राजनीतिक परिवर्तन भए पनि उनले सोचेजस्तो पद्धति विकास हुन सकेन। घोराहीको एक व्यस्त चोकमा ठेलामा प्याकिङ मिठाइ राखेर ग्राहक कुरिरहेका उनले भने, ‘देश बदल्छु भनेर लाग्दा आफैं बर्बाद भएँ, अब आफूलाई यो फुटपाथको दैनिकीबाट बदल्ने मिसनमा छु।’ माओवादीको जनमुक्ति सेनामा प्लाटुन कमाण्डरसम्म भएर काम गरेका उनी द्वन्द्वकालीन आरोहअवरोह सुनाउन अनकनाए। उनले भने, ‘नमिठो अतीत किन सम्झनु।’ केसीका अनुसार राज्यसत्ता परिवर्तनका लागि भन्दै उनी २०५८ सालमा माओवादी लडाकुमा प्रवेश गरेका थिए।

रामेछापका उनी काठमाडौंको धुम्बाराहीस्थित एक गार्मेन्ट उद्योगमा कामदार थिए। उद्योगमा काम गर्ने उनलाई २०५७ मा राज्यका सुरक्षाकर्मीले माओवादीको आरोपमा पक्राउ गरे। ‘गार्मेन्टबाटै पक्राउ गरेर ६ महिनासम्म थुनामा राखे। त्यतिबेला मलाई माओवादीको म पनि थाहा थिएन तर तँ माओवादी होस् भनेर जबरजस्ती पक्राउ गरियो,’ उनले भने। ६ महिनापछि थुनामुक्त हुँदा त्यो गार्मेन्ट उद्योग बन्द भैसकेको थियो। काम खोजीमा उनी काठमाडौंबाट धनुषा गएर एक होटेलमा वेटर भए। वेटर काम गर्दा एकदिन उनको केही युवकसँग विवाद भयो। उनीहरू तालिम सकाएर ब्यारेकमा खटिँदै गरेका तत्कालीन शाही नेपाली सेनाका सैनिक रहेछन्। त्यो विवादपछि उनी धनुषामा तारन्तार सुरक्षाकर्मीको तारो बन्न थाले। ‘मलाई माओवादीको आरोप लगाएर सुरक्षाकर्मीले धेरैपटक केरकार गरे,’ उनले भने, ‘तर मलाई माओवादीबारे केही थाहा थिएन। तारन्तार सुरक्षाकर्मीबाट केरकार हुन थालेपछि असुरक्षित महसुस गरेर अन्ततः आफ्नै सुरक्षा खोजीमा जंगल पसें माओवादी सेना बन्न।’ उनले भने, ‘सुरक्षित तरिकाले बस्नै नपाउने भएपछि ज्यान जोगाउन जंगल पस्नु मेरा लागि बाध्यता भयोे। ०५८ मा लडाकुमा भर्ना भएको बताउने उनले रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्रमा सैन्य तालिम लिएको स्मरण गरे। ‘मुलुक परिवर्तन गर्नु जरुरी रहेछ भन्ने मलाई त्यहाँ गैसकेपछि थाहा भयो। मुलुक परिवर्तनका लागि बन्दुक उठाएँ,’ उनले भने, ‘प्रशिक्षण पाएपछि आँट आयो। देश बदल्न भनेर विभिन्न मोर्चामा लडियो तर सोचेअनुसार भएन।’

माओवादी राजनीतिले मलाई धोका दियो। अहिले राजनीतिबाट अलग रहेर व्यवसायमा तल्लीन छु। म अहिले मेरो निर्माण व्यवसायबाट धेरै खुसी छु।

लडाकुको तालिम लिएपछि उनी रोल्पामा खटिएका उनी राप्तीमा भएका ठूलठूला भिडन्तमा सहभागी भए। उनले सम्झिए, ‘रुकुमको खारालगायत क्षेत्रमा भएका भिडन्तहरुको नेतृृत्व गर्ने मौका पाएँ।’ रुकुम र रोल्पाको सीमासाँधमा पर्ने दलसिङ भन्ने स्थानमा भएको भिडन्तमा उनी धन्ने मृत्युको मुखमा पुगेका थिए। उनले भने, ‘दुई सेकेण्ड म छिटो भइदिएको भए आज जिउँदो हुने थिइनँ। खुट्टामा छर्राले भने छोयो। अहिले पनि देब्रे खुट्टाले बेलाबेलामा दुःख दिइरहन्छ।’

‘देश र जनताका लागि जनवादी सत्ता’ भन्दै उनले विभिन्न दुःखकष्ट झेले। केसीका अनुसार शान्तिप्रकियापछि उनले व्यक्तिगत तथा समग्र मुलुकका लागि देखेको सपना तुहियो। उनी स्वेच्छिक अवकाशमा लडाकुबाट बाहिरिन बाध्य भए। नेपाली सेनामा समायोजनका लागि पार्टी नेतृत्वले गरेको गलत सम्झौताका कारण आफूले स्वेच्छिक अवकाश रोज्न बाध्य भएको उनले बताए। ‘म समायोजनमा गएको भए सेनाको जवानमा मात्रै रहनथें। शैक्षिक प्रमाणपत्रका आधारमा सेनामा दर्जा दिने सहमतिपार्टीले गरेको थियो,’ उनले भने, ‘बुर्जुवा शिक्षा भनेर पहिला पढ्न नदिएको माओवादीले त्यही शिक्षाको प्रमाणपत्र खोज्नु कत्ति पनि चित्तबुझ्दो थिएन।’

शान्तिसम्झौतापछि रोल्पास्थित दहवन शिविरमा बसेका उनी पाँच लाख रुपैयाँको चेक बुझेर माओवादीको सक्रिय राजनीतिबाट बाहिरिए। ‘सर्वहारा जनताको न्यायका लागि लडेको माओवादीले लडाकुमाथि ठूलो अन्याय ग¥यो,’ उनले भन, ‘पाँच लाखको चेक बोकर फिर्ता हुनु मेरो रहर नभई बाध्यता थियो।’ त्यो पाँच लाख बोकेर उनी व्यवसायी बन्ने लक्ष्यसाथ दाङ झरे। घोराहीमा आइसक्रिम फ्याक्ट्री खोले। सात लाख रुपैयाँ लगानीमा सुरु गरेको त्यो व्यवसाय चौपटै भएपछि उनी अहिले ठेलामा मौसमअनुसारका सामान राखेर बिक्री गर्न दिनहुँ फुटपाथमा निस्कन्छन्। ‘अहिले यो ठेला ठूलो सहारा बनिदिएको छ, सिजनअनुसारका चाट, आइसक्रिम, मिठाइ बिक्री गरेर गुजारा चलिरहेको छ,’ उनले भने, ‘यसैबाट चारजनाको परिवार जेनतेन धानिएको छ।’

केसीलाई माओवादीमा लागेर व्यर्थैमा समय खेर फालेजस्तो लाग्छ अहिले। उनीमात्रै हैनन्, कैयन माओवादी लडाकु अहिले पश्चात्तापको रापमा छन्।

रोल्पा थबाङका–३, मिरुलका खेमप्रसाद बुढामगरलाई पनि माओवादी लडाकु बनेकोमा अहिले पछुतो भइरहेको छ। उनी भन्छन्, ‘छुट्टै संसारको परिकल्पना गरेर बन्दुक समाएका थियौं तर अहिले आफू तंग्रिन गाह्रो परिरहेको छ।’ २०५८ सालमा आफ्नै आँखाअघि बाबु धन बुढालाई तत्कालीन शाही सेनाका सैनिकले गोली हानेर मारिदिएपछि आफूमा बदला भाव पलाएको उनले बताए। उनका बाबु माओवादी राजनीतिमा सक्रिय थिए। ०५८ चैत १५ गते बिहानै बाबुलाई सैनिकहरूले घरबाट निकालेर आँगनमा गोली हानेर मारेको उनले बताए। उनले भने, ‘बाबु मारिदिएपछि बदला लिने भावना मनमा पैदा भयो र माओवादीमा लागें।’ १० वर्षको उमेरमा माओवादीमा लागेका उनले सुरुसुरुमा चिठी आदानप्रदान गर्ने हुलाकीको जिम्मा पाए। पछि उनी लडाकु बने। ‘घोेराहीको आर्मी ब्यारेक, तौलिहवालगायत ठाउँमा भएका भिडन्तमा म पनि सहभागी भएको थिएँ,’ उनले भने, ‘तर अहोभाग्य नै मान्नुपर्छ मलाई कतै केही भएन।’

शान्तिप्रक्रिया पछि सेनामा समायोजनका लागि उनी नापिए। तर उमेरले उनलाई रोक्यो। ०६३ सालसम्म १८ वर्ष उमेर पुगेका लडाकुमात्रै नेपाली सेनामा समायोजन हुन पाउने सम्झौता थियो। तर उनी १७ वर्षका मात्रै थिए। ‘माओवादीले सञ्चालन गरेका भिडन्तमा जाँदा हामी योग्य थियौं, तर पछि त्यही माओवादीले नेपाली सेनामा जानका लागि मलाई अयोग्य भनिदियो,’ उनले दुखेसे सुनाए, ‘उमेरको मामिलाले स्वेच्छिक अवकाश लिएर घर फर्कनुबाहेक मेरो अरु कुनै विकल्पै रहेन।’

अवकाशबापत पाएको पाँच लाख रुपैयाँ बोकेर शिविरबाट बाहिरिएका उनी केही समय घरमै बसे। तर गाउँसमाजको वातावरण अनुकूल बनिदिएन। ‘यो त अयोग्य लडाकु हो भनेर समाजमा हेयका दृष्टिले हेर्न थालियो,’ उनले भने, ‘अनि म गाउँ छोडेर दाङ झरें।’ ०७३ मा घोराही झरेका उनी अहिले निर्माण व्यवसायीमा दरिएका छन्। ‘माओवादी राजनीतिले मलाई धोका दियो, अहिले राजनीतिबाट अलग रहेर नितान्त व्यवसायमा तल्लीन छु,’ उनले भने, ‘म मेरो निर्माण व्यवसायबाट धेरै खुसी छु।’ अहिले उनी ठेक्कामा बाटो निर्माणमा संलग्न छन्।

त्यस्तै माओवादी लडाकुका सहायक कमाण्डर क्षितिज मगर अहिले घरको आँगनमा टायल बिछ्याउने काम गर्छन्। रोल्पा जेलबाङका उनले ठेक्कामा यो काम गर्दै आएको र यसैबाट गुजरा चलिरहेको बताए। उनले भने, ‘त्यो लडाइँभन्दा अहिलेको यही व्यवसाय लाख बढी सही छ मेरा लागि।’ मगरका अनुसार उनी २०४९ सालदेखि नै अखिल क्रन्तिकारीबाट माओवादी राजनीतिमा सक्रिय थिए। माओवादीले जनयुद्ध थालेदेखि उनी भूमिगत भए। ‘गाउँमा धेरै अत्याचार थियो, गरिब असहाय बिनाकारण कुटिनुपथ्र्यो,’ उनले भने, ‘तिहारमा भैलो किन खेलिस भनेर म पनि कुटिएको थिएँ। समाजमा हुने यस्तै व्यवहारले माओवादीको राजनीतिमा लाग्न प्रेरित गरे।’ राज्यसत्ता परिवर्तन र जनवादी सत्ता स्थापना गर्ने सपनामा विभिन्न युद्धमोर्चामा सहभागी भएका उनी सहायक कमाण्डरको तहसम्म पुगेका थिए। नेपाली सेनामा समायोजन हुने आकांक्षा उनको पनि थियो तर आफ्नै पार्टीले गरेको एउटा गलत निर्णयले त्यो चाहना पूरा हुन पाएन। उनी सदाका लागि बन्दुक त्याग्न बाध्य भए। शैक्षिक योग्यता नपुगेपछि आफू समायोजनमा नपरेको उनले बताए। ‘माओवादी लडाकुमा लागेको मितिमा हासिल गरेको शैक्षिक योग्यतालाई आधार मानेर सेनामा समायोजन गर्ने भनियो,’ उनले भने, ‘बुर्जुवा शिक्षा भनेर भण्डाफोर गर्दै हिँडेका हामीले त्यो शिक्षा पढ्ने कुरै भएन।’ शान्तिप्रक्रियामा आएपछि शिविरबाट बाहिरिनु अघिसम्म उनले बिएसम्मको अध्ययन पूरा गरिसकेका थिए। ‘पछिल्लो अध्ययनलाई मानिदिएको भए म मेरो अध्ययन अनुसारको दर्जामा समायोजन हुन्थें,’ उनले भने, ‘माओवादीमा छँदा मेरो नेतृत्वमा रहेका लडाकुलाई नेपाली सेनामा गएर स्यालुट हान्ने सामथ्र्य मैले राख्न सकिनँ। त्यही भएर अवकाश रोज्न बाध्य भएँ। उनलाई पनि माओवादी लडाकु बनेकोमा अहिले पछुतो लागेको छ। ‘हामीहरु ठगियौं, धोका भयो,’ उनले भने, ‘मुलुक परिवर्तनको सुन्दर नारासहित बन्दुक उठाउन आह्वान गरेको माओवादीले शान्तिप्रक्रियामा आएपछि आफ्नो अजेन्डालाई पूरै बिर्सियो। यो दुःखको कुरा हो।’ माओवादी जनयुद्धमा लागेर के मिल्यो त भन्ने प्रश्नमा उनले भने, ’हामीहरु भ-याङ बन्यौं मात्रै, मिल्नेजति ठूलाबडालाई मात्रै मिल्यो।’ उनी अहिले पार्टी राजनीतिबाट पूरै अलग भैसकेका छन्।

माओवादी नेतृत्वमा आएको सैद्धान्तिक विचलनका कारण आफूहरुले धोका पाए पनि जनयुद्धका कारण मुलुकमा केही परिवर्तन हुनुलाई भने सकारात्मक ठान्छिन् ईन्द्रा बुढा। ‘त्यो बेला देखाइएका सपनाहरु त धेरै सुन्दर थिए,’ पूर्वलडाकु बुढाले भनिन्, ‘तर हाम्रै योगदानबाट मुलुकमा केही परिवर्तन भएका छन्।’ उनी अहिले घोराहीमा फूल खेती गर्छिन्।

प्रकाशित: ६ मंसिर २०७५ ०१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App