१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

शेखर भन्छन् : कांग्रेस कम्युनिष्ट जस्तो होइन, सभापतिको 'डिक्टेटर' चल्दैन

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विधान संशोधनको मस्यौदामा असहमति जनाउँदै सभापतिलाई 'डिक्टेटर' बनाउन खोजिएको आरोप लगाएका छन्।

बिहीवार प्रजातान्त्रिक प्राध्यापक संघ अारअार क्याम्पसद्वारा आयोजित लोकदृष्टि जर्नलको लोकार्पण तथा विजयादशमी दिपावली नेपाल सम्वत् एवं छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले विधान संशोधन मस्यौदाका केही बुँदा आपत्तिजनक रहेको भन्दै सच्याउन सुझाव दिए।

‘हामी विधान संशोधनको चरणमा छौं। विधानमा सभापतिलाई बलियो बनाउने भनिएको छ। यसमा रहेका प्रावधानले सभापतिलाई निरंकुश बनाउँछ, अधिकार बढाउने नाममा सभापतिलाई डिक्टेटर बनाउने?’ उनले प्रश्न गरे, ‘कांग्रेस हिजोदेखि राणा, राजाको डिक्टेटर सिस्टमविरुद्ध लड्दै आएको पार्टी हो। अब आफ्नै पार्टीभित्र लड्नुपर्ने अवस्था ल्याउन लागेको हो? के कांग्रेस कम्युनिस्ट पार्टी हो, पार्टीमा निरंकुश शासक ल्याउन खोजिएको हो?’

विधानमा मनोनित प्रणाली ल्याउने प्रावधानमा पनि कोइरालाले असहमति जनाए। ‘हामी मनोनित सिस्टममा गयौं भने पार्टी विभाजन हुन्छ। सभापतिले आफ्नो आफ्नो मान्छे राख्दा फाटो ल्याउँछ। कुनै किसिमको मनोनयन अब राख्न हुँदैन्। इलेक्ट्रेड हिसाबले जाउ, जो जित्छ उ नेतृत्वमा जान्छ’, उनले भने, ‘सभापति निरंकुश हिसाबले जान खोज्यो भने भने गाउँका तल्ला कार्यकर्तासम्म कोही पनि स्वीकार्न तयार छैनन्।’

उनले मस्यौदा समितिले तयार पारिरहेको संशोधित विधान लामो छलफल र बहसबाट  निष्कर्षमा पुर्‍याएर १४ औं महाधिवेशनपछि मात्रै लागू गर्नुपर्ने धारणा पनि व्यक्त गरे। ‘अहिले नै लागू भयो भने सभापति डिक्टेटर हुन्छ’, उनले भने।

 डा. कोइरालाले सभापति शेरबहादुर देउवाको भूमिकाको प्रतिपक्षीको मर्मविपरित रहेको भन्दै आलोचना गरे। प्रधानन्यायाधीशको नियुक्तिमा केन्द्रीय समितिले एउटा निर्णय गरेको र संवैधानिक परिषद्को बैठकमा सभापतिले अर्को व्यक्तिको सिफारिसमा हस्ताक्षर गरेको भन्दै उनले जवाफ मागे। ‘केन्द्रीय कमिटीमा आफैं एउटा निर्णय गर्ने, विदेशबाट फर्केर ७ दिनपछि अर्कोलाई हस्ताक्षर गरिदिएपछि के हुन्छ? हामी कति कमजोर रहेछौं। सभापतिले यसको जवाफ दिनुपर्छ कि पर्दैन्?’ कोइरालाले प्रश्न गरे।

नेपाली कांग्रेस रेणु दाहाल, उपेन्द्र यादव, महन्थ ठाकुर, अशोक राई, विक्रम पाण्डे, कमल थापालाई बोक्दा हारेको भन्दै यसको जिम्मेवारी सभापति लिनुपर्ने उनको तर्क छ। ‘कांग्रेसले उपेन्द्र यादव, महन्थ ठाकुर, अशोक राई, विक्रम पाण्डेका लागि ठाउँ छोड्यो, एउटा कांग्रेसको लागि कसैले छोड्यो?’ उनले प्रश्न गरे, ‘एकातिर कमल थापाका लागि छोड्यो। अर्कोतिर सिटौला (कृष्णप्रसाद) जी राप्रपाको मान्छेसँग हार्नुपर्‍यो। कहाँ छ पार्टी? सभापतिले सोच्नुपर्दैन?’

अहिले पार्टीमा सम्वाद, छलफल, बहस हुन छाडेको भन्दै उनले यसरी कांग्रेस अगाडि बढ्न नसक्ने बताए।

ओलीमा दुईतिहाईको दम्भ देखियो

डा. कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारमा दुईतिहाईको दम्भ देखिएको टिप्पणी गरे। देश अत्यन्तै अप्ठेरो परिस्थितीमा रहेको भन्दै उनले दुईतिहाईको सरकारले संविधानलाई टेकेर हिडेको छ? भनी प्रश्न गरे। ‘दुई तिहाईको दम्भले मै राज्य, मै कानुन हो, मैले जे बोले त्यहीँ हुन्छ भन्ने देखियो’, उनले भने। निर्मला हत्याकाण्ड, प्रहरीको निरीहता, प्रधानमन्त्री ओलीले अमेरिकाबाट अपराधी पत्ता लाग्छ १२ वर्षसम्म लाग्छ भन्ने अभिव्यक्तिजस्ता घटनाक्रमले दुईतिहाईको दम्भलाई प्रष्ट पारेको उनको भनाई छ।

ठूला माछालाई प्रधानमन्त्रीले नै उम्काए

नेता कोइरालाले ३३ किलो सुन तस्करी प्रकरणका ठूला माछालाई प्रधानमन्त्री ओलीले नै संरक्षण गरेको दावी गरे। ‘ठूला माछा समात्ने बेला प्रधानमन्त्री ओलीजी चीन जानुभयो। तपाईहरु हेर्नुस् चीन जाने को को हुनुहुन्थ्यो, उहाँहरु नै ठूलो माछा हो। चीनबाट फर्केर आएपछि ओलीजीले छानविन सामसुम पार्नुभयो। अनुसन्धान रोकेर प्रतिवेदन पनि लुकाउनुभयो।’

गृहमन्त्रीलाई जवाफ

कांग्रेस नेता कोइरालाले गृहमन्त्री रामबहादुर थापाको गैरजिम्मेवार अभिव्यक्तिको पनि आलोचना गरे। पुँजीवादले बलात्कार बढेको भन्ने गृहमन्त्री थापाको अभिव्यक्तिको जवाफ दिँदै उनले भने, ‘म भन्न चाहन्छु पुँजीवादले होइन तपाईहरुको दण्डहिनताको कारणले बलात्कार बढेको हो।’

‘जनमत फर्काउन नेतृत्व परिवर्तन हुनुपर्छ’

कार्यक्रममा केन्द्रीय सदस्य एवं सांसद भीमसेनदास प्रधानले जनताको मत फर्काउन नेतृत्व परिवर्तनको आवश्यक रहेको बताए। शेरबहादुर देउवा सभापति भए पनि पार्टी विधि विधानअनुसार नलचेको भन्दै जनताको मतलाई फर्काउन नेतृत्व परिवर्तन गर्नुपर्ने उनको सुझाव छ। ‘सबै नेता सभापति भनेर दौडिरहेका छन्, भारतमा भाजपाका अध्यक्ष अमित शाह चुनावमा उठेनन्। वरिष्ठ नेता लालकृष्ण अडवाणी, राजनाथ सिंहहरुलाई छोडेर गुजरात विकासको मोडल नरेन्द्र मोदीलाई अघि सारियो। नेतृत्वमा म मेरा मान्छे भन्दा पनि सबैले रुचाएको व्यक्ति ल्याउनुपर्छ’, उनले भने। सहमतिमा सबैको एउटै सभापति बनाउनुपर्नेमा जोड दिँदै यसले मात्र कांग्रेस उभो लाग्ने उनको धारणा छ। ‘हाम्रो नेतामा विश्लेषण कम, झगडा बढी भयो’, उनले भने।

कम्युनिस्ट पार्टीले जनतालाई झुक्याएको उनले आरोप लगाए। ‘चुनावी घोषणापत्रमा एउटा कुरा लेख्या छ। बजेटमा अर्कै छ’, उनले भने।

प्रकाशित: १८ आश्विन २०७५ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App