२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस गणेशमानको बाटोमा : नेता सिंह

काठमाडौँ - विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं कांग्रेस नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ।

स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो। कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे। “स्व सिंह सङ्घर्षशील, त्यागी र प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो”, उनले भने।

नेता सिंहले मुलुकमा अलग अलग धारमा विभाजित कम्युनिष्टलाई एक ठाउँमा ल्याउन स्व सिंहले महत्वपूर्ण भूमिका खेलेको बताए। “एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन त्यतिवेला स्व सिंहको महत्वपूर्ण योगदान छ,” उनले भने। काङ्ग्रेस स्व सिंहको विचारलाई अनुशरण गरेर अगाडि बढिरहेको उनको भनाई छ।

सिंहले वर्तमान सरकारले जनताको समस्यालाई चित्तबुझ्दो तरिकाले समाधान गर्न नसकेको आरोप लगाए। “सरकारले राखेको लक्ष्य सुशासन र समृद्धिको नारालाई पूरा गर्न सकेको छैन”, उनले भने। काङ्ग्रेस जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उल्लेख गरे।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, काठमाडौँ पार्टी सभापति सबुज बानियाँ, भातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो। विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो। रासस
 

 

प्रकाशित: २ आश्विन २०७५ ०५:१८ मंगलबार

गणेशमान स्मृति_दिवस