१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

यसकारण म काङ्ग्रेस बनिन: डा‍. बाबुराम भट्टराई

'विमान विद्राेह : एउटा राजनीतिक अपहरणकाे बयान' पुस्तकबारे शनिबार गरिएकाे अन्तरसंवादमा सम्बाेधन गर्दै लेखक दुर्गा सुवेदी, साथमा टिप्पणीकारहरू पूर्वप्रधानमन्त्री बाबुराम भट्टरार्इ, पूर्वप्रधानन्यायाधीश शुशीला कार्की र कांग्रेस नेता गगन थापा। तस्बिरः नागरिक

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता बिपी कोइरालाले मेलमिलापको नीति नलिएको भए आफू अहिलेसम्म पनि काँग्रेसी रहने बताएका छन्। २०३० सालको विमान अपहरण काण्डका प्रमुख पात्र दुर्गा सुवेदीको कृति ‘विमान विद्रोहः एउटा राजनीतिक अपहरणको बयान’बारे राजधानीमा शनिबार गरिएको अन्तरसंवादमा डा. भट्टराईले मेलमिलापको नीति नै काँग्रेस नबन्नुको कारक रहेको बताए।

उनले राजसंस्थाको अन्त्य गरी गणतन्त्र ल्याएमा मात्र देशको विकास हुने सोचेर भारतमा आन्दोलन गरिरहँदा बिपीले के कारणले मेलमिलापको नीति लिए भन्ने कुरा अझै बुझ्न नसकेको बताए। ‘म उहाँसँग वैचारिक रुपमा सहमत हुन नसकेपनि उहाँ मलाई माया गर्नुहुन्थ्यो। उहाँले मेलमिलापको नीति अवलम्बन गरेर नेपाल नफर्किएको भए म त्यही समयमा काँग्रेस भइसक्थे। तर उहाँको एउटा निर्णयले मेरो योजना रोकियो,’डा. भट्टराईले भने। उनले यो पुस्तकले पनि आफ्नो जिज्ञाषा भने मेट्न नसकेको बताए।  उनले भने,‘यो पुस्तक विशिष्ट प्रकृतिको छ। पुस्तक पढेपछि पनि केही विषय अझै मेरा लागि अनुत्तरित छन्। बिपी किन नेपाल फर्किए भन्ने प्रश्नको उत्तर यो पुस्तक पढ्दा पनि मैले पाउन सकेको छैन। तर नेपाल फर्किएर पनि बिपीले देशका विरुद्ध भने कुनै सम्झौता गर्नुभएन।’

डा. भट्टराईले पुस्तकमा लेखक सुवेदीले आफूले जेलमा भोगेको पीडा, पार्टीका नेताबीचको असमझदारी पढ्दा आफ्नै जस्तो भोगाई पाएको  बताए। ‘मैले पुस्तक पढ्दा जनयुद्धताकाको भोगाई सम्झिएँ। हामी त्यो समयमा जीवनको एउटा नयाँ मोडमा उभिएका थियौं,’उनले भने,‘यो पुस्तक पढ्दा मैले दुर्गाजीको जीवनलाई पनि त्यही रुपमा पाएँ। दुर्गाजीले इतिहास बनाउन र इतिहास लेख्न दुवै भूमिका निभाउनु भएको छ । जुन आफैमा ऐतिहासिक हो।’

नेपाली काँग्रसका युवा नेता तथा सांसद गगन थापाले सुवेदीको पुस्तक दोषमुक्त रहेको बताए। ‘आत्मकथामा लेखकले आफ्नो बढाइचढाँई गर्छन्। तर यो पुस्तक यो विषयमा दोषमुक्त छ,’उनले भने,‘पुस्तकमा लेखकप्रति कुनै लोभ र लालचा देखिँदैन। सरल र मिठासपूर्ण प्रस्तुतिले पुस्तक आफैमा बेजोड बनेको छ।’

गगनले पुस्तक पढेपछि जोकोही पाठकलाई पनि दुर्गा सुबेदी बन्न गाह्राे हुने दाबी गरे। ‘उहाँको संघर्ष आफैमा कठोर छ। जोकोही पनि त्यस्तो संघर्ष गर्न सक्दैन,’गगनले भने,‘पुस्तकले नेपाली काँग्रेसको अवस्थालाई कठोर किसिमले समीक्षा गर्नुपर्ने बनाएको छ। यो विषयमा बहस नगरी काँग्रेस अगाडि बढ्नु पनि हुँदैन।’ उनले काँग्रेसमा आस्था राख्ने जोकोहीले पनि पुस्तक पूर्ण रुपमा पढेर मात्र पुुस्तकबारे बोल्न मनासिब हुने बताए।

पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीले आफूलाई शुक्रबारमात्र पुस्तकबारे केही भनाई राख्न लेखकले अनुरोध गरेको स्मरण गरिन्। ‘यो पुस्तक तयार पार्न उहाँले धेरै समय अघिदेखि नै कागजात तयार पार्नुभएको थियो । २०७१ सालमै यो पुस्तक ल्याउने तयारी भइरहँदा उहाँ दुर्घटनामा पर्नु भएपछि पाठकमाझ ल्याउन लामो समय लाग्यो,’ सुवेदीकी पत्नीसमेत रहेकी पूर्व न्यायाधिश सुशिलाले भनिन्,‘डाक्टरले उहाँलाई कुनै पनि किसिमको मानसिक तनाव नदिन सल्लाह दिएपछि उहाँ पुस्तक लेखनमा प्रेरित हुनुभयो। मैले पनि एउटा पाना लेख्दा नासिएला किताब लेख्दा नासिँदैन भनेंपछि पुस्तक लेख्ने जाँगर बढ्यो।’

सुशिलाले त्यो समयमा दुईवटा पुस्तक लेख्ने तयारी भए पनि दुर्घटनाको कारण नलेखिएको बताइन्। सुशिलाले पुस्तकमा रहेका नेपाली काँग्रेसका कार्यकर्ताद्वय राम–लक्ष्मण र विमान अपहरणमा संलग्न नरेन्द्र ढुंगेल आफ्नो कक्षा सहकर्मी भएको बताइन् । ‘उहाँले सबैको कुरा लेखेपछि मेरो विषय पनि लेख्छु भन्नुभयो। मैले तपाईले सबै देख्नुभएको छ आफै लेख्नुहोस् भनें,’सुशिलाले भनिन्,‘पछि पुस्तक पढ्दा पो उहाँले बालुवाटारमा ठूलै दुःख पाउनुभएको रहेछ भन्ने थाहा पाएँ । यो पुस्तकले उहाँलाई उर्जा दिएको छ। नढाटी भन्नुपर्दा हाम्रो घरमा दशैं आए जस्तै भएको छ।’

लेखक सुवेदीले आफू परिस्थिति र परमात्मामा विश्वास राख्ने भएकाले पनि पुस्तक लेखनमा जाँगरिलो बनेको बताए। ‘विमान अपहरण जस्तो घटनामा संलग्न सायदै कोही प्रधानमन्त्री बनेका छन् होला,’उनले भने,‘हामीले विगतमा जे देख्यौं। त्यसलाई मैले पुस्तकमा प्रयोग गरेको छु।’

किताब पब्लिसर्सले प्रकाशन गरेको पुस्तकमा पञ्चायती सत्ताविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पु-याउन राष्ट्रबैंकको ३० लाख भारतीय रुपैया लुट्न सुवेदीले बसन्त भट्टराई र नगेन्द्र ढुंगेलसँग मिलेर २०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेको उल्लेख गरिएको छ। त्यसवापत करिब १० वर्ष लामो प्रवास–बसाई र दुई वर्ष भारतीय जेल जीवन बिताएका सुवेदी तत्कालीन माओवादी र सरकारबीच शान्ति–संवाद गराउने सूत्रधार पनि हुन्।

प्रकाशित: ३ भाद्र २०७५ ०६:२५ आइतबार

विमान_अपहरण दुर्गा सुवेदी बाबुराम भट्टराई मेलमिलाप नीति