१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध उत्रिए सरोकारवाला निकाय, माइतीघरमा प्रदर्शन

काठमाडौं– चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाको मागसहित अनशनरत डा. गोविन्द केसीको पक्षमा सरोकारवाला निकाय उभिएका छन्। उनीहरुले आज माइतीघरमा प्रदर्शन गर्दैछन्। प्रदर्शनमा सहभागी हुन आम नागरिकलाई आह्वान समेत गरिएको छ।

हामी सोलाडारिटी फर प्राडा गोविन्द केसी एलाइन्स, गंगामाया बचाउ अभियान, नेपाल मेडिकल एशोसिएसन, नेपाल बार एशोसिएसन, नेपाल प्राध्यापक संघ, नेपाल इन्जीनियर्स एशोसिएसन, आयुर्वेर्दिक एशोसिएसन अफ नेपाल, डक्टर्स सोसाइटी अफ नेपाल, नेपाल नर्सिंग युनियन, पब्लिक डिफेन्स एलायन्स, हेल्थ प्रोफ्सनल अर्गनाइजेसन, काठमाडांै विश्वविद्यालय प्राध्यापक संघ, गभर्मेन्ट डक्टर्स एशोसिएसन लगायत संस्थाले विज्ञप्ति जारी गर्दै तत्काल संवादको माध्यमबाट सत्याग्रहीका मागहरु सम्बोधन गर्न सरकारसँग अपील गरेका छन्।

‘अन्यथा, सत्याग्रहीको जीवन जोखिममा पर्नेअवस्था आएमा उहाँहरुको जीवन रक्षाका लागि कडा कदम चाल्न बाध्य हुनेछांै,’ विज्ञप्तिमार्फत चेतावनी दिइएको छ। 

सरोकारवाला निकायले चिकित्सा क्षेत्रको सुधारका लागि प्रा डा गोविन्द केसीको सत्याग्रह र आफ्नो छोराको हत्याका आरोपीलाई कारवाहीका लागि गंगामाया अधिकारीले गरिरहेको सत्याग्रहप्रति वर्तमान सरकार असंवेदनशील र अनुदार देखिएको र सरकारले आम नागरिकका विरोधका आवाजहरु बन्द गर्नका लागि माइतीघर मण्डला लगायत देशभरका विभिन्न क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा गरेको ठहर गरेका छन्।

‘सरकार संवादका माध्यमबाट सत्याग्रहीका मागहरु संवोधन गर्नुको सट्टा परिस्थितिलाई थप जटिल बनाउनेतर्फ उन्मुख छ। यस्तो कार्यले सत्याग्रहीको जीवन जोखिममा पारेको, नागरिक स्वतन्त्रतामा अंकुश लगाएको, चिकित्सा क्षेत्रको सुधार र अपराध पीडितको न्यायको उपेक्षा गरेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः तत्काल संवादको माध्यमबाट सत्याग्रहीका मागहरु सम्बोधन गर्न अपिल गर्दछाैं।’

प्रकाशित: ३० असार २०७५ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App