७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

लागुऔषध विरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री थापा

ललितपुर– गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसार पसार विरुद्ध दलहरुको संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन्।

मंगलबार ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तर देखि नै लागु औषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकै रुपमा सुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन सबैसँग आग्रह गरे।

राजनीतिक उपलब्धी हासिल गर्न जसरी दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसैगरी विकास र समृद्धिका लागि समेत संयुक्त आन्दोलन जरुरी रहेकोमा गृहमन्त्री थापाले जोड दिए।

उनले भने, ‘लागु औषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार एक्लैको प्रयास वा नेताको प्रयासले मात्रै सकिँदैन। यो आन्दोलनमा सम्पूर्ण जनताको साथ आवश्यक छ। निकट भविष्यमै वडास्तरबाटै यस्तो आन्दोनको सुरुवात गर्दैछौँ।’

यस्तो आन्दोलनमा विद्यालय र कलेजका विद्यार्थीहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए। ‘यो आन्दोलनमा जनसहभागिता अनिवार्य छ। युवाहरुलाई यो लडाँई, यो आन्दोलनकोे मुल कमाण्डरको रुपमा जिम्मेवारी दिएर मात्रै लक्ष्यमा पुग्न सकिन्छ।’

लागु औषध कारोबारीलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रले पनि आफ्नो कार्यशैलीलाई सुधार गर्न सुधार आवश्यक रहेको उनको भनाई छ।

गृहले लागुऔषध निषेधलाई गम्भिरताका साथ लिँदै मुलभूत कार्यभारको रुपमा लिएको जानकारी दिए। उनले भने, ‘लागुऔषधको कारोबार, प्रयोग र ओसारपसार नियन्त्रण होइन पूर्ण रुपमा निषेध गर्ने तथा लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ।’

सरकारले विकासका लागि ५ र १० वर्षको योजना बनाएजस्तै गृहमन्त्रालयले लागुऔषधलाई पूर्ण रुपमा निषेध गर्ने समयबद्ध योजना बनाएको उनले खुलासा गरे। उनले भने, ‘लागुऔषधका निषेध सरल छैन तर सम्भव छ। विगतमा जस्तो सामान्य अभियान चलाएर मात्रै यो सम्भव छैन, यसलाई आन्दोलनकै रुपमा अघि लैजानुपर्छ।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेतृ एवम् सांसद पम्फा भुसालले लागु औषध निषेध र मदिरा नियन्त्रण अभियान पाईलट प्रोजेक्टको रुपमा आफ्नो निर्वाचन क्षेत्र रहेको ललितपुर क्षेत्र नं ३ बाट सुरु गर्न गृहमन्त्रीसँग आग्रह गरे।

प्रकाशित: १२ असार २०७५ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App