१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णालीका सांसदकाे माग,छानविन समिति गठन गर

सुर्खेत-कर्णाली प्रदेशका सांसदहरुले जेठ १९ गते हत्या गरिएकी कालिकोटको नरहरिनाथ गाउँपालिका–९ कि वडा सदस्य मना सार्की घटनाको छानविनका लागि उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरेका छन्।उनीहरुले मृतक सार्कीलाई सहिद घोषणा र परिवारलाई राहत तथा क्षतिपूर्तिको माग पनि गरेका छन्।

शुक्रबारको संसद बैठकमा विशेष समयमा बोल्दै सांसद सीता नेपालीले दलित भएकै कारण मनाको हत्या भएको भन्दै उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने बताइन्। ‘यस्ताखाले घटना फेरि दोहोरिन नदिनका लागि प्रदेश सरकारले उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्छ’ उनले भनिन् ।

सांसद कौशिलावती खत्रीले समतामूलक समाज निर्माणको अभियान चलिरहेका बेला जनप्रतिनिधिकै हत्या हुनु दुःखद् भएको बताइन्। ‘घटनामा संलग्नहरुलाई कारवाही गरेर मात्रै पुग्दैन्, यस्ता घटना नदोहोरिन दिनका लागि उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्छ,जातीय विभेदमा संलग्नहरुको पहिचान गरेर कानुनको दायरामा ल्याउन आवश्यक छ’ उनले भनिन्।

सांसद दानसिंह परियारले दलित भएकै कारण उपल्लो जातिबाट मनाको हत्या भएको बताउँदै संलग्नहरुको पहिचान गरेर कारवाही गर्न प्रदेश सरकारसँग माग गरे ।

सशस्त्र द्वन्द्वलाई ‘नाटक’ भनेपछि
कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा नेकपाका सांसद दानसिंह परियारले १० वर्षे सशस्त्र द्वन्द्वलाई जनयुद्धको नाममा गरिएको ‘नाटक’ भएको बताए। जनयुद्धका नाममा गरिएको नाटकमा १३ हजार मानिस मारिँदा १३ सय दलितले रगत बगाएकाे बताउदै उनले दलितहरुमाथिको विभेद र अन्याय कायमै रहेकाे बताए।

परियारको भनाईप्रति नेकपाकै सांसद सीता नेपालीले आपत्ती जनाइन्। उनले जनयुद्ध नाटक नभएको बताइन् । ‘जनयुद्ध नाटक थिएन्, जनयुद्धकै कारण राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना, समानुपातिक, समावेशी राज्य स्थापना भएको छ’ उनले भनिन्, ‘यो रेकर्डबाट हटाइयोस् भन्ने माग गर्दछु।’
 

प्रकाशित: २५ जेष्ठ २०७५ १३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App