सिन्धुपाल्चोक– कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारमा प्रधानमन्त्री केपी ओली र कांग्रेस पार्टीभित्र सभापति शेरबहादुर देउवा अधिनायकवादतर्फ अग्रसर रहेको आरोप लगाएका छन्।
कांग्रेस, चौतारा साँगाचोकगढी नगर समितिद्धारा आइतवार सदरमुकाममा आयोजित कार्यकर्ता भेलामा उनले ओली सरकारमा दम्भ देखाउँदै र देउवा कांग्रेसमा शक्ति सञ्चय गर्दै अधिनायकवादतिर अग्रसर भएको प्रतिक्रिया दिए।
‘सरकार गठनदेखि नै ओलीमा दम्भ देखिएको छ। उनी नपत्याउँदो तरिकारले मुलुकलाई निरंकुशतातर्फ लैजादैँ छन्,’ फरक प्रसंगमा नेता कोइरालाले भने, ‘पार्टी विधि विधान नमानेर देउवा पनि अधिनायकवादतिरै अघि बढेका छन्। उनी शक्ती सञ्चय गरिरहेका छन्।’ प्रधानमन्त्री ओलीकोभन्दा आफ्नै पार्टी सभापति देउवाको आलोचनामा बढी समय खर्चिएका उनले विधान नस्वीकार्ने, सहमति पनि नमान्ने नेतृत्व (देउवा) प्रवृत्तिका कारण कांग्रेस समस्याग्रस्त बनेको टिप्पणी गरे।
आफू नेतृत्वको सरकारले तीनवटै तहको निर्वाचन सम्पन्न गरेको भनेर सभापति देउवाले जस लिएको भन्दै उनले आलोचनासहित प्रश्न गरे, ‘तर मेरो नेतृत्वमा पार्टीले हा-यो भनेर भन्न नसक्ने, यस्तो नि राजनीतिक इमानदारिता हुन्छ?’ छिटोभन्दा छिटो महाधिवेशन हुनु पर्ने धारणा राख्दै नेता कोइरालाले देउवा नेतृत्वमा अब कांग्रेस अघि बढ्न नसक्ने जिकिर गरे।
नयाँ नेतृत्वले मात्र कांग्रेस हाँक्न सक्ने दाबी गर्दै उनले भने, ‘जति छिटो महाधिवेशन हुन्छ, त्यति छिटो कांग्रेस सुध्रिन्छ।’ कांग्रेसमा गैरराजनीतिक चरित्र हावी भएको भन्दै उनले संघीय सांसद निलम्बनको विषयमा पार्टीले लिएको अडान सही र स्वीकार्य नभएको बताए।
नेपाल कम्युनिस्ट पार्टी गठनले मन्त्री र पदका लोभी कांग्रेसको एउटा तप्का बेखुशी रहेको उनको टिप्पणी थियो। तर कम्युनिस्ट एकताले आफू खुशी रहेको जिकिर गर्दै नेता कोइरालाले यसका लागि तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन नै गरेर बधाई दिएको जानकारी दिए।
अर्का कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी जोगाउन बुढा नेतालाई हस्तक्षेप गर्ने बेला आएको विचार राखे। तीनै तहको निर्वाचनमा पराजय भोगेपछि नेतृत्वको कमिकमजोरी औँल्याउँदै आफूसहितका युवा नेताले ५२ पष्ृठ लामो प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेको प्रसंग कोट्याउँदै उनले भने, ‘नेतृत्व बुढो भइसकेछ, त्यसलाई सुन्ने काम भएन। पौष्टिक आहार खान नपाएका नेताहरुका हात काँप्न थालिसकेछन्।’
नेतृत्वको खरो आलोचना गर्दै युवा नेता भण्डारीले पार्टी गुटभन्दा पनि तल झरेर गिरोहको पछाडि लाग्दा कांग्रेसले तीनटै तहको चुनावमा पराजय भोग्नु परेको बताए। उनले थपे, ‘त्यसो त भारतले नाकाबन्दी लगाउँदा पार्टीले नाकाबन्दी हो भनेर भन्न नसकेको दिनबाटै कांग्रेस पराजित भइसकेको थियो।’
पार्टीलाई यो हालतमा पु-याउने नेतृत्व अर्को महाधिवेशनबाट बिदा हुने ठोकुवा गर्दै उनले सच्चिएर अघि बढे बाम एकताले कांग्रेसलाई फाइदा मिल्ने उल्लेख गरे। ‘अझै यथास्थितिमा रहने हो भने कांग्रेस शून्यमा झर्छ,’ नेतृत्वलाई खबरदारी गर्दै नेता भण्डारीले चेतावनी दिए।
प्रकाशित: ६ जेष्ठ २०७५ १३:०४ आइतबार