१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपालको समावेशी विकासमा भारतको साथ

काठमाडौं - नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समावेशी विकास र आर्थिक समृद्धिको प्रयासमा भारतका करोडौं जनताको साथ रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्र निर्माण र विकासको सोचमा नेपाली जनताले विश्वास देखाएको टिप्पणी गर्दै उनले नेपाली जनताको अखण्ड, समृद्ध र सशक्त नेपालको चाहनालाई भारतले भरपुर समर्थन गर्ने बताए।

‘नेपालको समावेशी विकास, आर्थिक समृद्धि प्रयासको सफलताका लागि भारतका करोडौं जनताको शुभकामना तपाईंको साथमा छ,’ शुक्रबार साँझ बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा नेपाल–भारत द्विपक्षीय बैठक सम्पन्न भएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीलाई संकेत गर्दै मोदीले भने, ‘राष्ट्र निर्माण र विकासका लागि प्रधानमन्त्री ओलीजीको भिजनमा नेपाली जनताले विश्वास देखाएका छन् । नेपाली जनताको अखण्ड, समृद्ध र सशक्त नेपालको आकांक्षाको भारत भरपुर समर्थन गर्छ ।’

सम्बोधनका क्रममा उनले धेरै भारतीयको जस्तो आफ्नो पनि नेपालसँगको सम्पर्क निकै पुरानो भएको दाबी गरे । प्रधानमन्त्री या सामान्य नागरिकको रुपमा आउँदा पनि नेपालीले सधैं आपूmलाई आफ्नो मानेको र परिवारको सदस्यलाई झैं स्वागत गरेको उनले बताए । मोदीले भने, ‘नेपालमा प्रधानमन्त्रीका रुपमा यो मेरो तेस्रो यात्रा हो । यसले नेपालप्रति मेरो र मेरो सरकारको प्रतिबद्धता कति गहिरो छ भन्ने स्पष्ट हुन्छ ।’

दुवै देशका सरकारभन्दा जनता–जनताबीचको सम्बन्ध धेरै माथि रहेको उनले बताए । आफ्नो ‘सबैको साथ, सबैको विकास’ नीति र नेपालका प्रधानमन्त्री ओलीले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ एकअर्काको पूरक भएको उनले स्पष्ट पारे । उनले महŒवपूर्ण समयमा आफ्नो नेपाल भ्रमण भएकोमा खुसी व्यक्त गरे । ‘मेरो नेपाल यात्रा यस्तो ऐतिहासिक समयमा भएको छ जति बेला नेपालमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । यो कालखण्ड नेपालको इतिहासमा स्वर्णीम अक्षरले लेखिन्छ,’ मोदीले भने ।

द्विपक्षीय बैठकअघि केही समय मोदी र ओलीबीच होटल द्वारिकाजमै ‘वान टु वान’ भेटवार्ता भएको थियो । उक्त भेटमा धेरै विषयमा छलफल भएको मोदीले बताए । एकसाथ नेपाल–भारत सम्बन्धका सबै आयामको समीक्षा गरिएको उनले स्पष्ट पारे । उनले थपे, ‘ओलीजीले भारत भ्रमण गरेपछि यति छोटो समयमा सबै मुद्दामा काम भएका छन् । केही मु्द्दा त सुल्झिएका पनि छन् ।’
कृषि, जलमार्ग, रेलमार्ग केही परिवर्तनकारी सुरुआत् भएको दाबी उनले गरे । जलमार्गलाई विशेष महŒव दिएको उनले बताए । ‘नेपाल ल्यान्डलक रहनुहुँदैन, ल्यान्डलिंक र वाटरलिंक हुनुपर्छ । ओलीजीको यो प्रयासमा सहयोग गर्न हामी प्रतिबद्ध छौं,’ मोदीले भने ।

उनले कृषि क्षेत्रको विकासका लागि दुई देशका कृषिमन्त्रीले छिट्टै भेट्ने जानकारी दिए । दुई देशका कषिमन्त्रीको भेटपछि कृषि अनुसन्धान, कृषि शिक्षा र विकासमा सहयोगसम्बन्धी रोडम्याप तयार पारिने उनले जनाए । रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन पनि छिटै सुरु हुने दाबी उनले गरे । ‘व्यापार र लगानीमा हाम्रो सम्बन्ध अझ मजबुत बनाउन छिटै व्यापार सन्धिको विस्तृत समीक्षा पनि गर्नेछौं,’ मोदीले भने।

उनले भक्तपुर अस्पताललाई क्यान्सर रोगीको उपचारका लागि रेडियो थेरापी मेसिन प्रदान गरिने बताए । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजना जलस्रोत क्षेत्रमा नयाँ आयाम थपिएको उनले बताए । शुक्रबार द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले रिमोट कन्ट्रोलमार्फत अरुण तेस्रो जलविद्युत् परियोजनाको शिलान्यास गरेका थिए । ‘यो परियोजनाले नेपालमा आर्थिक र व्यावसायिक अवसर सिर्जना गर्नेछ,’ मोदीले भने । नेपाल–भारत सम्बन्धलाई आफूले एकदमै आशावादी विचारका साथ सोच्ने गरेको उनले बताए।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय बैठकमा नेपाललाई आवश्यक थप चारवटा हवाई मार्गबारे छलफल भएको जानकारी दिए । उनले यी हवाईमार्ग थपिनेमा आपूm आशावादी रहेको समेत बताए । ‘नेपाल र भारत दुवै स्वतन्त्र र अन्तरनिर्भर छन् । नेपाल र भारतबीच भएका सबै सन्धिसम्झौता कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउने कुरामा हामी सहमत भएका छौं,’ ओलीले भने ।

ऊर्जा व्यापार सम्झौतालाई पूर्णता दिई कार्यान्वयनमा ल्याउन दुवै पक्ष सहमत भएको उनले बताए । द्विपक्षीय बैठकमा प्रत्येक वर्ष वर्षामा हुने नेपालको भूमि डुबानको विषय पनि उठेको उनले जनाए । उनले थपे, ‘हरेक वर्षामा नेपालको भूमि डुबानमा पर्छ, यसमा दुवै पक्षले संयुक्त टिम बनाई उपयुक्त निकास निकाल्ने सहमति बनेको छ।’

बैठकमा भारतसँगको व्यापार घाटाको कुरा पनि उठेको उनले बताए । नेपालको चासोलाई भारतले छिटै सम्बोधन गर्ने आशा उनले व्यक्त गरे । नेपालमा रहेका भारतीय पाँच सय र एक हजार दरका नोट सटहीका विषयमा पनि छलफल भएको जानकारी उनले दिए । ‘बैंक र सर्वसाधारणसँग रहेका भारतीय नोट छिटो सटही हुनेमा म आशावादी छु,’ प्रधानमन्त्री ओलीले भने । जलमार्ग परियोजनाका लागि छिटै भारतले विज्ञ समूह पठाउने उनले बताए ।

मोदी दिनभर राजनीतिक भेटमा व्यस्त
काठमाडौं– नेपाल भ्रमणको पहिलो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महŒवपूर्ण राजनीतिक भेटघाटमा व्यस्त रहे । उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपरराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका थिए । उनले नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग पनि सामूहिक भेटवार्ता गरेका थिए ।

मोदी जनकपुर हुँदै शुक्रबार दिउँसो काठमाडौं आएका हुन् । जनकपुर उपमहानगरपालिकाले शुक्रबार नै उनको नागरिक अभिनन्दन गरेको थियो । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरेका थिए । त्यसपछि उनी सीधै  बस्ने बौद्धस्थित होटल हायात पुगेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले हायातमा नै मोदीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री मोदीलाई नेपाली सेनाको एक टुकडीले सैनिक मञ्च टुँडिखेलमा सम्मान गारथ (गार्ड अफ अनर) दिएको थियो । टुँडिखेलमा उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । गार्ड अफ अनर लिएपछि भारतीय प्रधानमन्त्री मोदी उपराष्ट्रपति पुनलाई भेट्न उनको कार्यालय पुगेका थिए । त्यसपछि उनी राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न शीतलनिवास पुगेका थिए । राष्ट्रपति र उपराष्ट्रपतिसँग उनले नेपाल–भारत सम्बन्धका विषयमा छलफल गरेका थिए । ‘सो अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साँझ मोदीले नेपालका समकक्षीसँग ‘वान टु वान’ वार्ता गरेका थिए । त्यसपछि दुवै देशका प्रधानमन्त्री नेपाल–भारत द्विपक्षीय बैठकमा सहभागी भएका थिए । बैठकमा नेपाल–भारतबीचका सबै पक्षमा छलफल भएको थियो । त्यसपछि मोदी र ओलीले नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग संयुक्त भेटवार्ता गरेका थिए । भेटवार्तामा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, खिलराज रेग्मी, झलनाथ खनाल, बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्द उपस्थित थिए । त्यसपछि दुवै प्रधानमन्त्री संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएका थिए।

प्रधानमन्त्री मोदी शनिबार बिहान मुक्तिनाथ जाने कार्यक्रम छ । मुक्तिनाथको दर्शन र पूजा सकेपछि उनी जोमसोम हुँदै काठमाडौं आउनेछन् । त्यसपछि उनले पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । पशुपतिनाथको पूजा सकेपछि उनी नागरिक अभिनन्दनका लागि राष्ट्रिय सभागृह जानेछन् । काठमाडौं महानगरपालिकाले सभागृहमा मोदीको नागरिक अभिनन्दन गर्नेछ । अभिनन्दन सकेपछि मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । उनी शनिबारै अपराह्न स्वदेश फर्कनेछन्।

प्रकाशित: २९ वैशाख २०७५ ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App