१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले ल्याएको उदार अर्थ नीतिकै जगमा मुलुक अघि बढेको छ: सांसद पौडेल

नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले बहुदलयता आएका सम्पूर्ण बजेट कांग्रेस नेतृत्वको सरकारले २०४८ सालमा लिएको उदार अर्थनीतिकै जगमा टेकेर आएको भन्दै खुसी व्यक्त गरेका छन्। राष्ट्रियसभामा सरकारको बजेटमाथि भइरहेको छलफलमा शुक्रवार सहभागी हुँदै सांसद पौडेलले यस्तो बताएका हुन्। 

२०४६ को राजनीतिक परिवर्तनपछि बनेको कांग्रेसको सरकारले जर्जर र संकुचित अवस्थामा रहेको पञ्चायतकालीन अर्थ व्यवस्थालाई आर्थिक उदारीकरणको नीति अनुरूप प्रतिस्पर्धी र आधुनिक बनाएको उनले बताए। 

त्यही नीतिले आर्थिक सामर्थ्य बढाएर लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित सामाजिक न्याय सहितको समतामूलक समाजको जग बसाल्ने काम गरेको सांसद पौडेलले तर्क गरे। 

‘लामो सशस्त्र द्वन्द्व, २०७२ को महाभूकम्प, कोभिड—१९ को महामारी, रुस–युक्रेन बिच भएको द्वन्द्वले समेत नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावका बाबजुद पनि मुलुकको आर्थिक स्थायित्व कायम रहनसक्नुमा २०४८ पछि नेपाली कांग्रेसको सरकारले बसालेको दरिलो अर्थतन्त्रको जग नै हो,’ उनले भने। 

अहिले अर्थमन्त्री विष्णु पौडेलको बजेट वक्तव्यमा अघिल्ला अर्थमन्त्रीहरू डा. प्रकाश शरण महत, जनार्दन शर्मा, वर्षामान पुनले प्रस्तुत गरेको भन्दा खासै भिन्न नरहेको सांसद पौडेलले बताए।  त्यसका उनले केही उदाहरण समेत पेस गरे। 

‘हरेक वर्षका बजेट वक्तव्यहरूमा यिनै कुराहरू दोहरिइरहेका छन् । हामी कसैले यसलाई समर्थन गर्छौँ, हामी कसैले विरोध गर्छौँ । यो स्वाभाविक पनि होला,’ उनले भने, ‘तर जति पनि बजेट वक्तव्य आए, त्यो नेपाली कांंग्रेसले २०४८ सालमा लिएको उदार आर्थिक नीतिको जगमा टेकेर आएको हुँदा खुसी व्यक्त गर्न चाहन्छु।’

प्रकाशित: २३ जेष्ठ २०८२ १९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App