१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

संविधानभित्रै समस्याको समाधान खोज्नुपर्छ: डा. कोइराला

नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको संविधानभित्रै रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।

बुढीगङ्गा गाउँपालिका–१ मा निर्माण गर्न लागिएको बुढीगङ्गा पार्कको बिहीबार शिलान्यास गर्दै उनले संविधानले शान्तिपूर्ण आन्दोलनको अधिकार सुनिश्चित गरेको उल्लेख गरे। तर, हिंसा, आतङ्क, तोडफोड र आगजनी काङ्ग्रेसलाई स्वीकार्य नहुने उनले प्रस्ट पारे।

कोइरालाले गत शुक्रबार काठमाडौंमा भएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए।

“जनतालाई विश्वास दिलाउन सरकारले छिटो छानबिन समिति बनाएर घटनाको अनुसन्धान गर्नुपर्छ,” उनले भने। उनले यो व्यवस्थालाई बलियो र दिगो बनाउन राजनीतिक दलहरू सुध्रिनुपर्ने बताउँदै जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए।

नेता कोइरालाले काङ्ग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदा संविधान संशोधन, सुशासन, आर्थिक विकास र रोजगारी सिर्जनाको प्रतिबद्धता व्यक्त गरिए पनि कार्यान्वयन नभएको गुनासो गरे।

“दलहरूले जतिसक्दो छिटो प्रतिबद्धता पूरा गर्नेतर्फ ध्यान दिनुपर्छ,” उनले भने। नेपालमा कृषि, जलविद्युत्, जडीबुटी र पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले यिनको उचित उपयोगबाट युवालाई स्वरोजगार बनाई समृद्ध नेपाल निर्माण गर्न सकिने बताए।

प्रकाशित: २१ चैत्र २०८१ २१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App