नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाएका छन्।
शुक्रबार (आज) काठमाडौंमा विपक्षी दलहरूको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको तर्क गरे।
अध्यक्ष नेपालले अहिलेको सरकारले संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको उल्लेख गर्दै भने, ‘अहिले सरकारको काम र क्रियाकलाप सन्तोषजनक छैन। सबै क्षेत्रमा यसको काम अत्यन्तै अलोकतान्त्रिक छ। संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको छ। संविधान संशोधन गर्ने जस्तो विषयमा अरु कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन। अब ०८७ सम्म कुर्नुपर्ने। यो सरकारलाई २०८७ सम्म टिकाइराख्नुपर्यो। प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने। यसको जवाफ दिनुपर्यो।’
अध्यक्ष नेपालले सरकारका कामको आलोचना गर्नुको अर्थ विकल्पमा तयार छौँ भन्ने नरहेको पनि जिकिर गरेका छन्।
प्रकाशित: ४ माघ २०८१ १६:२८ शुक्रबार