नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको हो ।
गृहमन्त्री रमेश लेखकले पद बहाली गरेसँगै यी विधेयकलाई प्राथमिकतामा राखेका थिए । उनले प्रहरी सङ्गठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाएका थिए । सोही अनुसार गृह मन्त्रालयले विधेयक अघि बढाएको थियो ।
त्यसपछि यो विधेयकलाई अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगमा समेत सहमतिपछि लागि पठाइएको थियो । सबै स्थानबाट सहमति प्राप्त भएपछि सङ्घीय संसद्मा लैजान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको थियो ।
मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि अब विधेयकलाई कानुनी रूप दिन पारितका लागि आगामी सङ्घीय संसद्मा पेस गरिने गृहमन्त्री लेखकले बताए ।
प्रकाशित: २७ पुस २०८१ १६:५९ शनिबार