२९ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

ओली झापामा, अमेरिकी सहायक मन्त्रीले सल्लाहकार भेटे

दक्षिण र मध्य एसिया मामिला विभाग हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक सल्लाहकार डा. युवराज खतिवडासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री ओली गृह जिल्ला झापाको भ्रमणमा रहेका बेला अमेरिकी सहायक मन्त्री लुले प्रधानमन्त्रीको सचिवालयका प्रमुख व्यक्तिसँग भेट गरेका हुन् ।

सहायक मन्त्री लुसँगै नेपालस्थित अमेरिकी राजदूत डिनआर थम्पसन पनि थिए । 

सहायक मन्त्री लुसँगको भेटमा तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार रिमालले भेट सौहार्दपूर्ण भएको उल्लेख गरेका छन् । ‘अमेरिकी सहायक विदेश मन्त्री (दक्षिण र मध्य एसिया मामिला विभाग) श्री डोनाल्ड लुसँग सौहार्दपूर्ण शिष्टाचार भेटघाट सम्पन्न भयो,’ रिमालले लेखेका छन्,‘आपसी चासोका मुख्य विषयवस्तुहरूमा छलफल गर्दै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाहरू बारे चर्चा भयो। नेपालसँगको निरन्तर साझेदारी र सहयोगप्रति आभार व्यक्त गरियो।’ 

यता लु नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्री ओली भने दुई दिनदेखि गृह जिल्ला झापामै छन् । लु काठमाडौँमा राजनीतिक भेटघाटमा व्यस्त हुँदा ओली विभिन्न आयोजनाको उद्घाटनमा व्यस्त छन् ।  

यसअघि सहायक मन्त्री लुले आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटिसकेका छन् । 

यस्तै सोमबार लुले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई पनि सिंहदरबार पुगेर भेटिसकेका छन् ।

अर्थमन्त्रीसँगको भेटमा लुले एमसिसी, युएसएआइडीलगायतका अमेरिकी सहयोगका कार्यक्रमको कार्यान्वयनबारे छलफल भएको मन्त्रालयस्रोतले जनाएको छ । 

प्रकाशित: २४ मंसिर २०८१ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App