दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं पुगेका छन्। उनी आफ्नो कूटनीतिक दक्षिण एसिया भ्रमणको क्रममा काठमाडौं आइपुगेका हुन्।
उनी नेपाल आएको जानकारी दिदैँ नेपालस्थित अमेरिकी दूतावासले लेखेको छ, ‘दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई नेपालमा स्वागत छ । आफ्नो दक्षिण एशिया भ्रमणको क्रममा उहाँले काठमाडौँमा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्नुहुनेछ।’
दूतावासले लुको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने उल्लेख गरेको छ। साथै, वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने प्रतिबद्धता प्रस्तुत गर्ने जनाइएको छ।
प्रकाशित: २३ मंसिर २०८१ १२:५२ आइतबार