१२ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रोटोकलमा पछाडि पारिएपछि कोशी सम्मेलनमा शेखर कोइराला सहभागी नहुने

शनिबार नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन हुँदैछ । सम्मेलनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र नेताहरू प्रदेशको राजधानी विराटनगर शुक्रबार नै पुगिसकेका छन् ।

तर, नेता डा. शेखर कोइराला भने सम्मेलनमा सहभागी नहुने भएका छन् । उनी विराटनगरको सट्टा चितवन झर्दैछन् । त्यहाँ उनका दुईवटा कार्यक्रम तय भएका छन् ।

शेखर चितवनमा कांग्रेसका पूर्वसदस्य उद्धव लोहनीका बुवा टेकबहादुर लोहनी र कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाका बुवा भिष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुनेछन् ।

शेखरको सचिवालय सदस्य दिनेश चन्द्र थपलियाका अनुसार चितवनको कार्यक्रम प्रदेश सम्मेलनभन्दा अगाडि निर्धारित भएका हुन् । 'प्रदेशको सम्मेलनबारे हामीलाई १८ गते बिहान मात्रै आधिकारिक जानकारी आयो । चितवनका कार्यक्रमहरू त्योभन्दा अगाडि निर्धारित भएका हुन् । फेरि शोकसभा जस्तो कार्यक्रम हो, त्यहाँ नजाने कुरा हुन्न । त्यसैले उहाँ चितवन नै जानुहुन्छ, सम्मेलनमा जानुहुन्न ।'

तर, स्रोत भने प्रोटोकलमा पछाडि पारिएपछि शेखर सम्मेलनमा सहभागी नहुने पक्का भएको बताउँछ । स्रोत भन्छ, 'उहाँ (शेखर कोइराला) लाई प्रोटोकलमा पछाडि पारियो, त्यसैले उहाँ सम्मेलनमा सहभागी हुनुहुन्न ।'

शेरबहादुर देउवा र शेखर कोइराला ।

सम्मेलनको प्रोटोकलमा शेखरलाई पदाधिकारीभन्दा पछाडि राखिएको छ । कांग्रेसमा १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री छन् । सहमहामन्त्रीहरूमा ८औं वरीयतामा जीवन परियार छन् ।

सम्मेलनको प्रोटोकलमा शेखरलाई जीवन परियारपछि राखिएको छ । यसबारे नागरिकसँग स्रोत भन्छ, 'उहाँलाई जीवन परियारपछि राखेपछि के हुन्छ ? यसरी कोही सम्मेलनमा सहभागी हुन्छ ?'

त्यसो त यसअघि गण्डकी, लुम्बिनीलगायतका प्रदेशहरूको प्रोटोकलमा शेखरलाई विशिष्ठ अतिथि सम्बोधन गरेर दोस्रो नम्बरमा राखिएको थियो । तर, कोशीमा भने पदाधिकारीपछि मात्रै दिइएको हो । 'एउटा प्रदेशमा एउटा र अर्को प्रदेशमा अर्को प्रोटोकल भन्ने पनि हुन्छ ? यो नभएको कुरा हो,' स्रोत भन्छ ।

जसै शेखर १४औं महाधिवेशनमा सभापति निर्वाचित शेरबहादुर देउवाका निकटतम् प्रतिस्पर्धी हुन् । विधानत: कांग्रेस सभापति निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्छ । तर, पहिलो चरणमा देउवाले पनि ५१ प्रतिशत मत ल्याएका थिएनन् । दोस्रो चरणमा उनलाई सभापतिका अन्य उम्मेदवारहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङलगायतले समर्थन जनाए, यसपछि उनी सभापति निर्वाचित भए ।

त्यसबेला पनि शेखरले करिब ४० प्रतिशत मत ल्याएका थिए । सभापतिका निकटतम् प्रतिस्पर्धी हुँदासमेत शेखरलाई पार्टीको २०औं वरीयतामा राखिएको छ ।

उसो त तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले २०४८ सालको १०औं महाधिवेशनमा आफूसँग पराजित शेरबहादुर देउवालाई दोस्रो वरीयतामा राखेका थिए । तर, अहिले देउवा आफैँले भने २०औं नम्बरमा राखेका हुन् ।

यो पनि पढ्नुहोस्

संस्थापन बन्ने दाउमा गगन, सभापतिको तीव्र तयारीमा शेखर

 

प्रकाशित: २१ मंसिर २०८१ १९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App