८ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

बिआरआईले भारतलाई पनि फाइदा हुन्छ, नेपालले हस्ताक्षर गर्दा तर्सिनु पर्दैन : महासेठ

नेकपा एमालेका सचिव रघुवीर महासेठले चीनसँग बिआरआई सम्झौतामा हस्ताक्षर गर्दा भारतको आपत्ति जनाउन आवश्यक नभएको बताएका छन्।  

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै बिआरआई परियोजना नेपाल र भारतका लागि नै फाइदाजनक भएको दाबी गरे। उनका अनुसार, बिआरआईमार्फत नेपालमा रेल र सडक जस्ता कनेक्टिभिटीका पूर्वाधार विकास हुँदा भारतले पनि लाभ लिन सक्नेछ।  बिआरआई परियोजना नेपालमा विकासको ढोका खोल्ने भएकोले, यसमा भारतको आपत्ति बिना अघि बढ्नुपर्नेमा उनको जोड थियो।

उनले भने,‘‘बिआरआईबाट भारत तर्सनुपर्ने काम छैन। नेपालमा कनेक्टिभिटिको विकास भयो भने नेपालको बाटो भारतले प्रयोग गर्न मिल्दैन र? नेपालले जसरी रेल बनाएका छ। काठमाडौं केरुङ र काठमाडौं रक्सौल उहाँहरु नै सहयोगी हुनुहुन्थ्यो। हाम्रो पालामा सम्झौता भएको हो। त्यो रेल बन्यो भने भारतले महिना दिन लगाएर सामान ल्याउँछ। नेपाल–चीन रेल र सडक मार्ग बन्दा एक दिनमा चीनबाट भारत पुग्छ। त्यसैले भारत पनि बिआरआईबाट तर्सनु हुँदैन।”  

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले महासेठले बिआरआईको मुख्य उद्देश्य आर्थिक सहकार्य र कनेक्टिभिटीको विकास भएको भन्दै, यसलाई भारतको बिरोधमा नभइ, नेपालका लागि आवश्यक ठानेर अघि बढाइएको उल्लेख गरे। 

प्रकाशित: २१ मंसिर २०८१ १८:३६ शुक्रबार

#BRI (Belt and Road Initiative) #Raghubir_Mahaseth