प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको प्रसिद्ध पेकिङ विश्वविद्यालयमा सम्बोधन गरेका छन्। चीनको औपचारिक भ्रमणमा रहेका ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ विषयमा सम्बोधन गरेका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले, ‘विस्तृत लोकतन्त्र समृद्ध नेपाल, सुखी नेपालीतर्फको नेपालको यात्रा’ विषयमा बोलेका थिए।
सम्बोधनमा ओलीले नेपालको राजनीतिक आन्दोलन , एमालेको जनताको बहुदलीय जनवाद देखी पेकिङ विश्वविद्यालय र मदन भण्डारी विश्वविद्यालयबीच सहकार्यको प्रस्ताव पनि राखेका थिए। ओलीले सम्बोधनको बिट मार्दै भनेका थिए , ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु।’
विश्वविद्यालयमा सम्बोधन गर्दै ओलीले भने, ‘नेपाल र चीन प्राचीन ज्ञानको भूमि हो।’ उनले महान् दार्शनिक र ऋषिहरूको शिक्षाले पुस्तालाई प्रेरित गरेको उल्लेख गर्दै त्यसले संसारभरका धेरै जीवनहरूलाई प्रभाव पारेको बताए। ओलीले संसारको यस क्षेत्रमा धेरै महान सभ्यताहरू हुर्केको उल्लेख गरे।
कार्यक्रममा विश्वविद्यालयका सभापति कोङ छियुआङले स्वागत मन्तव्य गरेका थिए भने प्राध्यापक तथा चीनका पूर्व सहायक शिक्षामन्त्री हाओ पिङले सहजीकरण गरेका थिए। कार्यक्रममा प्रश्नोत्तर सत्र समेत भएको थियो।
प्रकाशित: १९ मंसिर २०८१ १०:३९ बुधबार