४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आइजीपी नियुक्तीमा एमाले र माओवादीबीच विवाद

काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तीबारे सत्ताधारी दल नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति बन्न नसक्दा निर्णय हुन सकेन। चैत २९ मा प्रहरी महानिरीक्षक प्रकाश अर्याल तथा सबै एआईजी र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले अवकाश पाउने भएपछि भावी आइजिपीको नियुक्तीका लागि मंगलबार विहान बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो।

प्रधानमन्त्री ओलीले प्रहरी प्रमुख विवादरहित रुपमा विधिसम्मत ढंगले चयन हुने दावी गरेका थिए। तर पार्टी नै एक गर्ने सहमति भइसकेको दुई दलबीच कुरा नमिल्दा २६ औं आइजिपी नियुक्ती पनि २५ औं आइजिपी नियुक्तीझैं विवादित हुने देखिएको छ। २५ औं आइजिपीमा नवराज सिलवाल, प्रकाश अर्याल र जयबहादुर चन्दबीचको टकरावमा अर्याल नियुक्त भएका थिए।

सत्ताधारी दलबीच आइजिपीको चयनबारे सहमति हुन नसक्दा विहानको मन्त्रिपरिषद् बैठक प्रहरी नेतृत्वबारे निर्णय नै नगरी सकिएको थियो। बैठकमा एमाले पुष्कर कार्कीको पक्षमा देखिएको थियो भने माओवादी केन्द्र सर्वेन्द्र खनालको पक्षमा उभिदा निर्णय हुन सकेन्।

जानकार स्रोतका अनुसार आइजिपीबारे प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाबीच अनौपचारिक छलफल भइरहेको छ। तर दुबै दल एकै व्यक्तिमा सहमत हुन सकेका छैनन्।

प्रहरी नियमावली अनुसार नेपाल प्रहरीमा रहेका १२ जना डिआइजी नै आइजिपीका लागि योग्य मानिन्छन्। अगाडि सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की छन्। त्यसपछिको क्रमसंख्यामा उत्तम कुमार कार्की, भोगबहादुर थापा, पुष्कल रेग्मी, पवन खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञान विक्रम शाह, ठूले राई, शरद चन्द, धिरु बस्नेत, पुष्पचन्द्र रञ्जित र सुरेश विक्रम शाह रहेका छन्।

स्रोतका अनुसार दुबै दलका नेताबीच यी तीन डिआइजी बाहेकका उम्मेदवारको नाम समेत छलफलमा आएको छ। यद्यपी आइजीपी को हुने निर्क्यौल हुन सकेको छैन्। 

सशस्त्र प्रहरीमा एआइजी शैलेन्द्र खनाल, पुष्पराम केसी अगाडि देखिएका छन्। खनाल केसी भन्दा ११ महिना अगाडि एआइजी भएकाले उनको विकल्पमा जान सरकारलाई अप्ठ्यारो छ।

विवाद भएपनि प्रधानमन्त्री ओलीले दुई दलबीच सहमति गरी मंगलबार साँझ मन्त्रिपरिषद बैठक बोलाएर आइजीपी नियुक्ति गर्ने तयारी गरेका छन्। यसका लागि उनले मन्त्रीहरुलाई जुनसुकै बेला पनि बैठक बस्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। 

प्रकाशित: २७ चैत्र २०७४ १०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App