१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

अवकाशको मुखैमा एआइजी

प्रहरीमा बढुवा बेथिति

यतिबेला नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्पादनको केन्द्र बनेको छ। प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरका ब्याचीहरू अधिकांश एआइजी बन्ने भएका छन्। तीन जनाबाहेक सबै एआइजीमा बढुवाका लागि तयारी अवस्थामा छन्। प्रहरीमा एआइजीबाट अवकाश हुने उमेरहद ५६ वर्ष रहेका कारण डिआइजीबाट एआइजी बढुवाको रोलक्रममा रहेका धेरैजसो अवकाशको सम्मुखमा बढुवा हुँदै बिदा हुने गरेका छन्।

कुनै बेला नेपाल प्रहरीमा एआइजीको दरबन्दी १६ थियो। २०७४ साल कात्तिकमा एआइजीको दरबन्दी १६ पु¥याइएको थियो। अहिले एआइजीको दरबन्दी आठ मात्र छ। आठमध्ये दुई दरबन्दी रिक्त छन्। रिक्त दरबन्दीमा डिआइजीद्वय केदार ढकाल र बुद्धिराज गुरुङलाई बढुवा गर्न सिफारिस गरिएको छ। ढकाल यही मंसिर २१ गते सेवाबाट अवकाशमा जाँदै छन्। बढुवा भएर अवकाशमा जाँदै गर्दा आइजिपी कुँवरका ब्याचीहरूलाई एआइजी बन्न सहज भएको छ। कुँवर आइजिपी भएपछि नै रामदत्त जोशी एआइजीमा बढुवा भएर बिदा भएका छन्। त्यसैगरी किरण राणा पनि अवकाशको अघिल्लो दिन एआइजिपीको फूली लगाएर अवकाशमा गएकी थिइन्।

यही मंसिर २१ र २६ गते क्रमशः एआइजी ढकाल र भीम ढकाल अवकाशमा जाँदै छन्। रिक्त हुने एआइजीका दुई पदमा दुर्गासिंह चन्द, कुवेर कडायत र भरत बोहोरामध्येबाट बढुवा गर्ने तयारी भइरहेको छ। एआइजी किरण बज्राचार्य पनि पुसमा उमेरहदकै कारण अवकाशमा जाँदै छन्। रिक्त हुने पदमा रोलक्रममा रहेका डिआइजीलाई बढुवा गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

‘अवकाशको मुखमा सबैले एआइजी हुने अवसर पाए’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने।  

पूर्वगृहसचिव डा. गोविन्द कुसुम कार्यक्षमता नभएकालाई विशिष्ट श्रेणीमा बढुवा गर्न नहुने बताउँछन्। उनले बढुवा गर्नुअघि सरकारले ख्याल गर्नुपर्ने पनि बताए। ‘कार्यसम्पादन हेर्नुपर्छ, योग्यता, क्षमता पनि हेर्नुपर्छ। कार्यसम्पादन मूल्यांकन राम्रो छैन भने अवकाशमा जानुअघि विशिष्ट श्रेणीमा बढुवाको अर्थ रहँदैन। कार्यसम्पादन विवरण हेरेर क्षमतावान् र योग्यलाई बढुवा दिनु न्यायोचित हुुन्छ’, कुुसुमले भने।

डिआइजीको दरबन्दी ३० पुर्‍याइँदै

सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी ३० पुर्‍याउने भएको छ। तीनवटा दरबन्दी थपेर डिआइजीको संख्या ३० पुर्‍याउने प्रस्ताव गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ। नेपाल प्रहरीमा लागुऔषध नियन्त्रण ब्युरो, ट्राफिक महाशाखा र त्रिभुवन विमानस्थल सुरक्षा गार्डका लागि डिआइजीको दरबन्दी थप गर्न लागिएको हो।

‘दरबन्दी थपका लागि प्रस्ताव आइसकेको छ, गृह मन्त्रालयले यसमा पहल गरिरहेको छ’, मन्त्रालय स्रोतले भन्यो। नेपाल प्रहरी प्रवक्ता दानबहादुर कार्कीले दरबन्दी थप गर्ने विषयमा आफूलाई जानकारी नभएको बताए। ‘दरबन्दी थप गर्ने र घटाउने अधिकार सरकारसँग छ, यो विषय नेपाल प्रहरीको प्रवक्तालाई जानकारी हुँदैन’, कार्कीले भने।

नेपाल प्रहरीमा अहिले जनपदतर्फ २० र प्राविधिकतर्फ सात गरी २७ डिआइजीको दरबन्दी छ। जनपदतर्फ ३ दरबन्दी थप गर्न लागिएको हो। हाल डिआइजीका आठ दरबन्दी रिक्त छन्। तीनवटा दरबन्दी थपेर एकसाथ ११ पदमा बढुवा सिफारिस गर्र्ने तयारी छ। डिआइजीका रिक्त ८ पदमा बढुवा रोकेर दरबन्दी थप्न लागिएको हो। डिआइजीमा बढुवा आकांक्षीले चलखेल गर्न थालेपछि प्रहरी प्रधान कार्यालयले तीन दरबन्दी थप गर्न लागेको हो। प्रहरी प्रधान कार्यालयले प्राविधिक डिआइजीतर्फ पनि दुई दरबन्दी थप गर्न माग गरेको छ। तर अर्थ मन्त्रालयले अस्वीकार गरेको स्रोतले जनाएको छ।

गत असारदेखि नेपाल प्रहरीमा डिआइजीको पद रिक्त हुँदै गए पनि बढुवा रोकिएको छ। असारमा एआइजीमा बढुवा सिफारिस भए पनि पोषराज पोखरेल बढुवा नपाइ डिआइजीबाट अवकाशमा गएका थिए। उनले आफूलाई बढुवा नगर्नुको कारण माग्दै सर्वोच्चमा हालेको मुद्दा विचाराधीन छ।

गत साउनमा रामदत्त जोशी एआइजीमा बढुवा भए भने भदौ १६ गते डिआइजी विष्णुकुमार केसी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गए। असोज १४ गते डिआइजी यज्ञविनोद पोखरेल पनि अवकाशमा गए। कात्तिक ११ गते डिआइजी राजेशनाथ बास्तोला अवकाशमा गए भने किरण राणा एआइजीमा बढुवा भइन्।

राणा एआइजी भएको दुई दिनमै अवकाशमा गइन्। रामदत्त जोशी पनि एआइजीबाट अवकाशमा गए। यसरी रिक्त भएका एआइजीका दुई पदमा डिआइजी गुरुङ र ढकाललाई बढुवाका लागि सिफारिस गरिएको छ। उनीहरूको बढुवा निर्णय हुन बाँकी छ। यी दुईजना बढुवा हुँदा डिआइजीका ८ पद रिक्त हुने छन्।डिआइजीका रिक्त पदमा बढुवाका लागि एसएसपीहरूले लबिइङ गरिरहेका छन्।

डिआइजीमा बढुवाका लागि लबिइङ गर्नेमा प्रहरी महानिरीक्षक कुँवरका ब्याची पनि छन्। मुख्य गरी १५ एसएसपीमध्येबाट डिआइजीमा बढुवा सिफारिस हुने देखिएको छ। आइजिपी कुँवरका ब्याची ध्रुवराज राउत र भोलाबहादुर रावल एसएसपीमा सबैभन्दा सिनियर हुन्। उनीहरू भर्नादेखि एसपीसम्म नै अगाडि थिए। त्यसपछि आईजिपीसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका गणेश चन्द पनि अहिले डिआइजी बन्ने सूचीको प्राथमिकतामा छन। डिआइजी दुर्गासिंह चन्दलाई एआइजी बढुवामा पछि पारिएपछि उनका पति गणेश चन्दलाई बढुवा दिएर न्याय गर्ने बताइएको छ। उनी २०७९ असार २५ गते ३२ जना एसएसपी बढुवा हुँदा पहिलो नम्बरमा थिए।

सुरुमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका र पछि नेपाल प्रहरीमा ल्याइएका पनि यसपटक डिआइजी बन्ने छन्। यो टोलीबाट एसएसपी सिद्धिविक्रम शाह डिआइजी बन्ने करिब निश्चित छ। उनीभन्दा पछाडिका उमाप्रसाद चतुर्वेदी र सुशीलसिंह राठौर पनि डिआइजीका बलिया दाबेदार हुन। शाहकै ब्याचका हिमालयकुमार श्रेष्ठ, ओम राना र डम्बरबहादुर विक पनि डिआइजीका लागि प्रतिस्पर्धी हुन्। उनीहरूले डिआइजी बन्न २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर सँगै एसएसपी भएको टोलीलाई रोक्नुपर्छ।

यो टोलीका दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी यसअघि डिआइजी भइसकेका छन्। त्यही ब्याचकाले अहिले डिआइजीमा दाबी गरिरहेका छन्। उनीहरूमध्येबाट पनि केही बढुवा हुने सम्भावना छ। यो टोलीबाट ईश्वर कार्की, गोविन्द थपलिया, दिनेश आचार्य, अरूण पौडेल, राजेन्द्रप्रसाद भट्ट डिआइजीका दाबेदार हुन्।

एकसाथ बढुवा भएका ३२ जना एसएसपीमध्ये तीनजना यसअघि नै डिआइजी भइसकेका छन् भने पाँजना अवकाशमा गइसकेका छन्। एसएसपीबाट जीवनकुमार श्रेष्ठ, दिल्लीराज बिष्ट, मनोजकुमार यादव, रेवती ढकाल र किसन सिंह थापा अवकाश भएपछि अघिल्लो र पछिल्लो टोली मिलाउन सहज भएको छ। एसएसपीमा एकसाथ बढुवा भएको टोलीका माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दिपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी पनि डिआइजीका दाबेदार हुन्।

प्रकाशित: ६ मंसिर २०८१ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App