१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘पत्नीसँगै इज्जत र सम्पत्ति पनि गुम्यो’

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफूले पत्नीसँगै इज्जत र सम्पत्ति गुमाएको बताएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई ६ घण्टा लामो बयान दिँदै उनले आफूले गल्ती नगर्दा पनि पत्नीका कारण सबैथोक गुमाउनु परेको बयान दिएका हुन्।

‘पत्नी त गइन् नै, डिभोर्स पनि भयो। त्योसँगै इज्जत, प्रतिष्ठा र सम्पत्तिसमेत गुमाउनुप¥यो, यो विषयमा म अनुसन्धानका लागि सहयोग गर्न तयार छु,’ सिआइबीको बयानलाई उद्धृत गर्दै स्रोतले भन्यो। आफूले पत्नीसँग गरेको सम्बन्धविच्छेद (डिभोर्स) नक्कली नभएको समेत बताएका छन्। ‘सहकारीले मेरी पत्नी पनि लग्यो, घर पनि लग्यो, इज्जत पनि लग्यो, ऋण पनि लगायो,’ पूर्वकानुनमन्त्रीसमेत रहेका गुरुङलाई उद्धृत गर्दै बयानमा संलग्न एक प्रहरी अधिकृतले भने।

सिआइबीले गुरुङसँग बुधबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म ६ घण्टा बयान लिएको थियो। सहकारी ठगी प्रकरणमा मुछिएका गुरुङसँग बयान लिइएको सिआइबी प्रमुख एआइजी दीपक थापाले बताए। बयानका क्रममा उनले सहकारीको पैसा आफूले हिनामिना नगरेको बताएका थिए। उनले अनुसन्धानमा सहयोग गर्ने पनि बताएका थिए। ‘सिआइबीले उहाँसँग सोधपुछ गरेको छ, कागज गरेको छ,’ सिआइबी प्रमुख एआइजी थापाले भने। एआइजी थापाका अनुसार उनले पत्नीसँगको डिभोर्स नक्कली नभएको बयानमा उल्लेख गरेका छन्। डिभोर्सपछि पूर्वपत्नी ज्योति गुरुङसँग आफ्नो बोलचाल र भेटघाटसमेत नभएको बयानमा उनले बताएका छन्।

सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले पनि ‘ज्योति गुरुङ र धनराज गुरुङसमेतमाथि प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएको भन्दै थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अघि बढाउन’ सिफारिस गरेको थियो। सिफारिसका आधारमा गुरुङमाथि अनुसन्धान नभएको भन्दै आलोचना भइरहेको थियो।

 गुरुङलाई छानबिनको दायरामा नल्याएपछि सरकारमाथि जोगाउन खोजेको आरोप पनि लागेको थियो। आरोपप्रत्यारोप चलिरहेका बेला सिआइबीका अधिकृतहरूले बुधबार उनलाई लाजिम्पाटस्थित कार्यालयमा बोलाएर सोधपुछ गरेका हुन्। आफ्नो भागमा परेको ८४ लाख रुपैयाँ पटकपटक गरेर तिरेको बयान उनले दिएका छन्।

धनराज गुरुङ र ज्योति गुरुङ पति–पत्नी भए पनि २९ फागुन २०७६ मा सम्बन्ध विच्छेद भएको थियो। सिआइबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड रुपैयाँ हिनामिनाको आरोपसम्बन्धी बयानमा कागज पनि गराएको छ। सिआइबीले गुरुङसँग उनकी पूर्वपत्नी ज्योतिले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण, उनले भुक्तान गरेको भनिएको ९२ लाख रुपैयाँसम्बन्धमा सोधपुछ गरेको थियो।

२०५७ सालदेखि उक्त सहकारीको कर्मचारी ज्योति २०७५ मा कार्यकारी प्रमुख भएकी थिइन्। ज्योतिको नाममा सहकारीबाट एक करोड १३ लाख रूपैयाँ ऋण प्रवाह भएको थियो। ज्योतिले एक करोड १३ लाख रूपैयाँ तिरेको देखिए पनि ८४ लाख रूपैयाँको दायित्व धनराजले लिएका थिए। धनराजले ज्योतिसँग सम्बन्धविच्छेद हुँदा ज्योतिले सम्पत्ति नलिने र आफूले सहकारीको ऋण तिर्ने सहमति भएको बयान दिएका छन्। धनराजले आफू सहकारीका जोडिनु र पत्नीसँग भएको सम्बन्ध विच्छेदबारे बयान दिएका थिए।

 धनराजले पत्नी ज्योति घर छाडेर माइती गएको र त्यसको एक महिनापछि आफूलाई अदालतबाट पुर्जी आएको बयानमा बताएका छन्। ‘मविरुद्ध सम्बन्धविच्छेदको निवेदन दिएको त्यसबेला थाहा भयो, मैले सकभर विच्छेद गर्नुहुँदैन भनेर प्रयास गरेको थिएँ, उनले कुनै हालतमा सँगै नबस्ने भनेपछि २९ फागुन २०७६ मा सम्बन्धविच्छेद भएको हो,’ उनको बयान उद्धृत गर्दै स्रोतले भन्यो। उनले त्यही बेला घर धितो राखेर सहकारीबाट लिएको ऋण आफूले तिर्ने सर्तमा ज्योतिले कुनै सम्पत्ति दाबी नगर्ने लिखित सम्झौता भएको पनि दाबी गरेका छन्। ‘मैले १२ लाख रूपैयाँ मात्र ऋण लिएको भए पनि सम्बन्धविच्छेदका बेला भएको सर्तअनुसार पटकपटक गरेर ८४ लाख रूपैयाँ तिरेको थिएँ,’ उनको बयानलाई उद्धृत गर्दै स्रोतले भन्यो।

प्रकाशित: २९ कार्तिक २०८१ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App