९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

अमेरिकामा प्रमको विरोधप्रति नेपालीकै आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला अमेरिकामा छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री ओली आइतबार न्युयोर्कस्थित नेपाली समुदायका संघसंस्थाले राखेको स्वागत कार्यक्रममा सहभागी भएनन्। त्यस दिन प्रधानमन्त्री ओलीको त्यहाँ रहेका नेपालीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम थियो। तर न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले विज्ञप्ति जारी गर्दै सुरक्षा संवेदनशीलताका कारणले कार्यक्रम रद्द भएको जनाएपछि यस विषयलाई लिएर विभिन्न टीकाटिप्पणी भए, भइरहेका छन्।

प्रधानमन्त्री अमेरिकामा रहेकै बेला यता प्रहरीले सहकारी ठगीसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले दिएको निर्देशनबमोजिम पूर्वडिआइजी एवं गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई पक्राउ गर्‍यो। जोशी पक्राउ परेपछि सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पनि पक्राउ गर्न खोजिएको भन्दै प्रतिवादका लागि कार्यकर्तालाई पार्टी कार्यालयमा भेला हुन उर्दी दिए। उनले प्रधानमन्त्री ओलीलाई न्युयोर्कबाट आँखा नसन्काउन भन्दै विदेशमा रहेका आफ्ना समर्थकलाई उकास्ने काम गरे। संसदीय समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको छ। सहकारी ठगी मामिलामा लामिछाने प्रहरीको निगरानी थिए, छन्।

देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओलीविरुद्ध त्यहाँ रहेका केही नेपालीले गरेको व्यवहारबाट देशकै छविमाथि आँच पुर्‍याउने काम भएको छ। अमेरिकामा रहेका केही नेपालीले सामाजिक सञ्जालमार्फत ओलीका विषयमा जे हल्ला चलाए, त्यसलाई त्यहीं रहेकै धेरैजसो नेपालीले राम्रो मानेका छैनन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण र त्यहाँ आयोजित एक कार्यक्रममा सहभागी नभएको विषयलाई लिएर ‘अनर्गल’ हल्ला फैलाइएको थियो। न्युयोर्कस्थित नेपाली सम्बद्ध संघसंस्थाले आयोजना गरेको कार्यक्रममा ओली सहभागी नभएको भन्ने हल्ला फैलाइयो। सँगसँगै प्रधानमन्त्री ओलीलाई कालोझन्डा देखाइएको र जुत्ताको माला लगाइएको हल्ला पनि सामाजिक सञ्जालमार्फत फैलाइयो। तर प्रधानमन्त्री ओली र अमेरिकामै रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही घण्टा पहिले नै आयोजक पक्षलाई उक्त कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी गराइसकेका थिए।

प्रधानमन्त्री ओली नेपाली संघसंस्थाले आयोजना गरेको कार्यक्रम सुरु हुनुभन्दा केही समयअघि न्युयोर्क पुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा व्यस्त थिए। ३० मिनेटका लागि तय गरिएको उक्त भेटवार्ता लम्बिएर ४५ मिनेटसम्म भएको थियो। सोही कारण प्रधानमन्त्री ओली उक्त कार्यक्रममा सहभागी हुन नपाएका हुन्।

अमेरिकास्थित नेपाली महावाणिज्य दूतावासले प्रधानमन्त्री ओली साइडलाइन भेटवार्तामा व्यस्त भएको र सुरक्षा संवेदनशीलतलाई पनि ध्यानमा राखेर उक्त कार्यक्रममा सहभागी नहुने जानकारी गराएको थियो। सुरक्षा संवेदनशीलताको विषय उठाइएपछि अमेरिकामा रहेका नेपाली ‘यो राम्रो सन्देश नभएको’ भन्दै खिन्न भएका थिए।

लामो समयदेखि अमेरिकामा बस्दै आएका तर नेपाली राजनीतिमा विशेष चासो राख्ने राधाकृष्ण देउजाले प्रधानमन्त्री ओलीलाई कार्यक्रममै सहभागी हुन नदिनेगरी गरिएको व्यवहार राम्रो नभएको टिप्पणी गरेका छन्। ‘प्रधानमन्त्री वा मन्त्रीहरूसँग निजी वा दलीय विमति हुन सक्छन् तर अन्तर्राष्ट्रिय मञ्चमा भाग लिइरहेका बेला निजी असन्तुष्टि र दलीय विमतिलाई लिएर अनादर, अपमान र दुव्र्यवहार गर्न हुन्न’, उनले भनेका छन्। उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क आएका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री देउवाको सम्मान र स्वागतार्थ आयोजना गरिएको कार्यक्रम सुरक्षाको कारण देखाएर अन्तिम अवस्थामा स्थगित भएको खबरले दुःख लागेको बताएका छन्। ‘म स्वयं प्रधानमन्त्री केपी ओलीको निरन्तर आलोचक रहँदै आएको छु। उहाँको असंवैधानिक सोच अनि उहाँको वरिपरि रहेर भ्रष्टाचार र अनैतिकतालाइ प्रश्रय दिने कोटरीको गतिविधिप्रति अझै मेरो असन्तुष्टि छ। उहाँहरू सच्चिहाल्ने पनि देखिन्न। त्यसैले आलोचना पनि निरन्तर रहन्छ नै तर यसको मतलव उहाँहरूलाई जहाँ देख्यो त्यहीं सराप्ने वा अपमान गर्ने भन्ने हुनै सक्दैन’, उनले भने।

यसैगरी अमेरिका बस्दै आएका पूर्वसञ्चारकर्मी रामचन्द्र भट्टले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई लक्षित गरेर अमेरिकामा रहेका केही नेपालीले गरेको व्यवहारप्रति असहमति प्रकट गरेका छन्। ‘जन्मभूमिबाट टाढा आएर बसिसकेका हाम्रा लागि नेपालबाट अमेरिका आउने हरेक व्यक्ति पाहुना हुन्। चाहे राजनीतिक व्यक्ति हुन्, चाहे सामाजिक, प्रशासनिक व्यक्ति हुन् या सेना–प्रहरीका अधिकारीहरू या सर्वसाधारण उहाँहरूलाई भौतिक रूपमा उपस्थित हुन नसके मनले भए पनि स्वागत गर्ने, विकसित देशका प्रविधि, विकास बुझेर जाऊन्, नेपालमा त्यसलाई कार्यान्वयनका लागि प्रयास होस् भनेर शुभेच्छा सद्भाव व्यक्त गर्नु हाम्रो कर्तव्य हो’, भट्टले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संसारकै विकसित भनिने देशमा आएर, यहाँको सिस्टमलाई राम्रो भन्ने हामीहरू संस्कारमा किन पिछडिएका हौं ? न्युयोर्क आएका नेपालका प्रम केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु देउवा यतिखेर हाम्रा अतिथि हुन्। अहिले सहकारी प्रकरणमा परेका रवि लामिछाने अमेरिका आए भने पनि हाम्रा निम्ति पाहुना हुन्। यथोचित सम्मान गर्नुपर्छ तर हिजो न्युयोर्कमा जे भयो त्यो डायस्पोराका लागि हित गर्ने विषय भएन।’

अमेरिकामा रहेका इन्जिनियर कृष्ण कुसुमले पनि प्रधानमन्त्री ओलीलाई दुव्र्यवहार गर्न खोजेको विषयले नेपाली डायस्पोरालाई विवादमा पारेको बताएका छन्। उनका अनुसार नेपालको प्रतिनिधित्व गर्दै आएका प्रधानमन्त्रीलाई विदेशी भूमिमा विरोध गर्नु राष्ट्रहितको विषय होइन र असहमति भए देशभित्र राख्न सकिन्छ। ‘राष्ट्रको मुद्दामा नेपाली डायस्पोरा एकजुट हुनुपथ्र्यो। प्रधानमन्त्रीलाई विदेशी भूमिमा अपमान हुने व्यवहार व्यक्तिगत होइन, राष्ट्रिय विषय हो, राष्ट्रकै अपमान हो। व्यक्तिगत रूपमा असहमति होला तर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आएका प्रधानमन्त्रीलाई नेपाली समुदायले गर्ने व्यवहार सन्तोषजनक छैन’, इन्जिनियर कुसुमले भने, ‘भारतीय नागरिकमा पनि नरेन्द्र मोदीप्रति अनेकन असहमति छन् तर उनीहरूले आफ्ना धारणा राखे, प्रधानमन्त्रीको धारणा सुने।’

प्रधानमन्त्री ओेली र परराष्ट्रमन्त्री देउवा संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यतिबेला न्युयोर्कमा छन्। सामाजिक सञ्जालमा सोमबार दिनभर प्रधानमन्त्री ओलीलाई जुत्ता प्रहार भएको झुटो समाचार फैलाइएको थियो।

प्रकाशित: ९ आश्विन २०८१ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App