नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विश्व राजनीतिक अहिले विघटनको संघारमा पुगेको बताएका छन् । सदरमुकाम गाईघाटमा आइतबार बिहान पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टी प्रवक्तासमेत रहेका सापकोटाले सो कुरा बताएका हुन् । अहिले विश्वमा प्रविधि उपनिवेशवाद लागू भएको भन्दै प्रविधिकै माध्यमबाट विश्वयुद्ध हुनसक्ने खतरा सापकोटाले औँल्याए ।
‘अहिले विश्व प्रविधि उपनिवेशवादको कब्जामा छ’ उपाध्यक्ष सापकोटाले भने ‘प्रविधिकै प्रयोगबाट विश्वयुद्धको तयारी भइरहेको छ, अर्कातिर प्रविधिले मान्छेको दिमाग छरपस्ट पारेर एकत्रित हुन दिइरहेको छैन ।’
सापकोटाले विश्वको शक्तिशाली राष्ट्र अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हामी विश्वयुद्धको तयारीमा छौँ भनेर पटक पटक भन्दै गरेको स्मरण गराउँदै यसको मतलब अव तेस्रो विश्वयुद्ध हुने खतरा नजिकिएको बताए । ट्रम्प आगामी कार्यकालका लागि अमेरिकन राष्ट्रपतिका उम्मेदवारसमेत भएको भन्दै सापकोटाले राष्ट्रपतिको उम्मेदवारी घोषणा गरिसकेका व्यक्तिले विश्वयुद्धको तयारीमा छ भन्नु सत्यनजिक भएको बताए ।
विश्वका दुई शक्तिशाली राष्ट्रहरू अमेरिका र चीनबीच अहिले शीतयुद्ध चलिरहेको भन्दै उनले त्यसको युद्ध स्थल उनीहरुले नेपाललाई बनाइरहेको पनि बताए । नेपाल उनीहरूको क्रिडास्थल हुनबाट बचाउन माओवादीबाट मात्र संभव हुने उनले बताए । काँग्रेस एमाले भ्रष्टाचारी र दलाल नोकरशाहीहरुको ठेकेदार पार्टी भएकाले उनीहरूबाट राष्ट्रियता बँच्ने कुरा असम्भव भएको भन्दै देशको स्वाभिमान र स्वाधीनता बँचाउने जिम्मेवारी नेकपा माओवादीकै काँधमा आएको बताए ।
कार्यक्रममा पार्टी महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार देशी विदेशी षडयन्त्रको उपज भएको बताए । माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारीहरूलाई एकपछि अर्को कारबाही गर्नुका साथै सुशासनको अनुभूति गराउन थालेपछि आत्तिएका भ्रष्ट, तस्कर र दलालहरूले दुई ठुला दलहरू काँग्रेस र एमालेलाई मिलाएर पश्चगामी सरकार बनाएको बताए ।
‘प्रचण्ड नेतृत्वको सरकारले एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै धमाधम कारबाही गर्न थालेपछि उनीहरु आत्तिए’ महासचिव गुरुङले भने ‘त्यसपछि तस्कर, भ्रष्ट र देशी विदेशी दलालहरू मिलेर एमाले र काँग्रेसको गठबन्धन बनाई ओलीलाई प्रधानमन्त्री बनाएका हुन् ।’ त्यसैले ओली सरकार देश, जनता र विकासका निम्ति घातक भएको गुरुङको भनाई थियो ।
अहिले मुलुक महाशंकटमा आइपुगेको भन्दै महासचिव गुरुङले यस्तो बेला चट्टानी अडानका साथ माओवादीहरू एककृत भएर अघि बढ्नुपर्ने खाँचो औँल्याए । शंकट परेका बेला आत्तिने होइन, दृढ संकल्पका साथ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो । ‘खराबभन्दा झन् खराबका लागि तयार हुने र राम्रोभन्दा राम्रोका लागि तयारी गर्ने’ माओको भनाई उद्धृत गर्दै महासचिव गुरुङले कार्यकर्तालाई निर्देशन दिदै भने ‘त्यसैले जस्तो सुकै खराबका लागि पनि तयार भएर जुट्दै राम्रो र उत्तम परिणामका लागि तयार रहनुपर्छ ।’
प्रकाशित: २३ भाद्र २०८१ ११:४९ आइतबार