घरायसी विवाद हुँदा धरानमा एक बालिकाको हत्या भएको छ। मंगलबार दिउँसो धरान वडा नं-३ मा १४ वर्षीया बालिका यूनिसा साहीको खुकुरी प्रहार गरी हत्या भएको हो। घटनामा बालिकाकी आमा सिर्जना साही पनि गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार संखुवासभा खाँदवारीका वबिन बरालले बालिका यूनिसा र उनकी आमा सिर्जनालाई खुकुरी प्रहार गरेका थिए। बराल सिर्जनाको नातामा बहिनी ज्वाइँ हुन्।
प्रहरीका अनुसार सामान्य विवादका क्रममा बरालले अचानक खुकुरी निकालेर प्रहार गर्दा बालिका गम्भीर घाइते भएकी थिइन्। यूनिसाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले बराललाई खुकुरीसहित पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ।ले घटनाबारे जानकारी दिँदै डिएसपी नवीनकृष्ण भण्डारीले भने, 'सिर्जना साहीको घरमा सामान्य विवाद हुँदा अचानक खुकुरी निकालेर प्रहार गरिएको देखिन्छ। सिर्जनाको धरानमै उपचार भइरहेको छ।'
बरालले अन्धाधुन्ध बालिका यूनिसा र आमा सिर्जनामाथि खुकुरी प्रहार गरेको खुलेको छ।
प्रकाशित: ११ भाद्र २०८१ १९:४५ मंगलबार