२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारतसँग गल्यो सरकार ? विरोधका बीच पुल सञ्चालनको अनुमति

दार्चुला– दार्चुलाको उत्तरी ब्यांस गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा विगतदेखि नै सधै अनेक समस्याहरु उत्पन्न हुँदै आएका छन्। सीमा समस्याको विकराल रुप कालापानी र लिपुलेक सीमा अतिक्रमणसम्म भएको यस क्षेत्रमा हमेशा भारतीय पक्षको दबदबा रहँदै आएको गुनासोहरु सुनिने गरेका छन्। 

यही क्रममा नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा नदीको रुपमा रहेको महकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई शुक्रबार अनुमति दिएपछि यस क्षेत्रमा सुरक्षा चुनौती थपिएको छ। हाल यहाँ सुरक्षा निकायको पहुँच र उपस्थिती छैन्। नेपाली जंगलको प्रयोगदेखि लिएर नेपाली भुभागमै सुरक्षा गस्तीहरु समेत संचालन गर्ने सम्मको कार्यहरु भारतीय सुरक्षाकर्मीले गरेका छन्। भारतमा सडक निर्माणको बहानामा नेपाली भुमीको दोहनसमेत भएको छ। सीमा पारी निर्माण हुने सडकमा प्रयोग गरिएका विष्फोटकले नेपालतर्फ गम्भीर क्षति पुग्ने गरेको छ भने वन पैदावार तथा वन्यजन्तुहरुको समेत चोरी सिकारी हुने गरेको छ। यस्तो बेला स्थानीयको भावना र विरोधका बीच संघीय सरकारले भारतलाई पुल निर्माणको अनुमति दिएको छ। पुल निर्माणको अनुमतिका लागि भारतीय उच्च नेतृत्वबाट दबाब समेत आएको बुझिएको छ।

सीमामा सुरक्षा निकायको युनिट राख्नको माग गर्दा सुनुवाई भएन, भारतलाई पुल बनाउन साता दिनमै अनुमति ।

नेपालको भुभागमा भारतीय पक्षले आफू अनुकुलका गतिविधिहरु संचालन गरिरहेको छ। नेपाली प्राकृतिक सम्पदाको दोहन, नेपाली भुमिमै सशस्त्र सुरक्षा गस्ती, सुरक्षाकर्मीको दुर्व्यवहार, तुइन काटिने, सुरक्षा जांचको नाममा खानतलासी, माल समानमा रोकटोक तथा यात्रा अनुमतिपत्रको मार भोग्दै  आएको  यस क्षेत्रमा पछिल्लो समय  भारतीय पक्षले नेपालतिर मानव बस्ती नै नभएको तथा राज्यको उपस्थिति नै नभएको  व्यास गाउँपालिका–२  ताम्पाकु, घाटबगर, दोपखे नजांग, लखनपुर  र छाङकङरे नज्यगं क्षेत्रमा महाकाली  नदीमा एकतर्फी  काठेपुल निर्माण तथा नेपाली भुमीको प्रयोग तथा प्राकृतिक साधनहरुको समेत दोहन गर्ने गरेको घटना सर्वत्र सार्वजनिक भई यो समस्याले नयाँ मोड लिएको छ।

एक महिना अगाडि दार्चुलाको उत्तरी ब्यांस गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा  भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली  सीमा नदीमा एकतर्फी काठे पुल लगाई  संचालन गरेको  नेपाली पक्षबाट  गम्भीर बिरोध भएपछि संचालनमा रोक लागेको थियो। महाकाली नदीमै पुल बनाई नेपाली भूमिमै आएर  बाटो बनाएको र डोजर प्रयोग  भएको घटना नेपाल र भारतका अधिकारीबीच  फागुन २२ मा भारतको पिथौरागढमा भएको  सीमा बैठकमा नेपाली पक्षको कडा आपत्ती पश्चात संचालनमा रोक  तथा संचालन अनुमतिको लागी  केन्द्रमा सहमति माग गरिएको थियो। नेपाल र भारतका अधिकारीहरुबीच महाकाली नदीमा केन्द्र सरकारको अनुमति पाएपछि मात्रै अस्थायी रुपमा काठेपुल सञ्चालन गर्ने सहमति भएको थियो यद्यपी यो क्रम भने रोकिएको थिएन। भारतीय पक्षले माग गरेको ठाउँहरुमा तीन वटा काठेपुल लगाई संचालन  गर्न  शक्रबार नेपाल सरकार गृह मन्त्रालयबाट अनुमति प्राप्त भएसंगै सुरक्षा चुनौती थपिएको छ। भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्रमा पर्ने ब्याँस गाउपालिकाको वडा नम्बर २ को नजांग, लखनपुर  र छाङकङरे खोलामा अस्थायी काठे पुल लगाउन नेपाल सरकार संग अनुमति माग गरेको र  कैलाश मानसरोवर जाने तीर्थ यात्री तथा शौका समुदायको हुने बसाई सराईलाई मध्यनजर गर्दै केहि समयका लागि मात्रै अनुमति प्रदान गरिएको भएपनि सुरक्षा व्यवस्थापन चुनौतीपुर्ण रहेकोले हुन सकेको छैन्। 

सीमाक्षेत्रका छिमेकी पक्षका गतिविधि बढेको समाचार सार्वजनिक भएपछि सुरक्षा सर्तकताका साथ नेपाली सेना, सशस्त्र प्रहरीको  क्षेत्रको स्थलगत सुरक्षा गस्ती निस्केको थियो। नेपालको भुभागमा भारतीय पक्षले आफु अनुकुलका गतिविधिहरु संचालन गरिरहेको अवस्थामा सुरक्षा निकायको  क्रियाशीलताले बढाएको थियो तर स्थाई रुपमा राज्यको कुनै उपस्थिति नै छैन। सीमामा भारतीय पक्षको दोहन रोक्नका लागी न त यस क्षेत्रमा   कसैको बसोबास रहेको छ न त सुरक्षा निकायको उपस्थिति नै हुने भएकोले पनि त्यस क्षेत्रमा  भारतीय पक्षबाट  यस्ता क्रियाकलापहरु हुँदै आएका थिए।

हाल  दार्चुलाको उत्तरी सिमानामा कुनै पनि सुरक्षा निकायको नियमित उपस्थिति रहेको छैन। ब्यांस गाउँपालिका २ दुम्लिंगसम्म नेपाल प्रहरीको उपस्थिति रहने गरेको छ। भौगोलिक विकटता र पुर्वाधार अभावमा नेपाल प्रहरीको तिंकर र सीतापुलमा रहेको चौकी दुम्लिङमा सारिएको अवस्थामा छ। तिंकर र सीतापुलको चौकी हिउंदमा हिमपात र पुर्वाधार बस्न नसकिने भएकोले गर्मी याममा मात्रै सो क्षेत्रमा प्रहरी चौकी रहने गरेको छ।  नेपाली सेनाको गस्ती, सशस्त्र प्रहरी को गस्ती संगै नेपाल प्रहरी समेत त्यस क्षेत्रमा खटिने दार्चुलाका डिएसपी जनक बहादुर शाहीले बताए। ‘ब्यांस क्षेत्रमा हाल स्थानीय बासिन्दा समेत नगएकोले स्थानीयसँगै प्रहरी चौकी समेत सीतापुल र तिंकरमा सर्ने तयारीमा रहेको छ’, डिएसपी शाहीले भने, ‘प्रहरीले अहिले दुम्लिङबाट सीमा क्षेत्र लगायत नियमित क्रियाकलाप संचालनमा रहेका छन। त्यस क्षेत्रमा वर्षभरी बस्ने पुर्वाधार हुन आवश्यक छ ।

जिल्लामा सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म स्थापना भएको र सीमामा ६ वटा स्थान छाङरु, सीतापुल, सितापुल, सिना, दत्तु र उकुमा सशस्त्र प्रहरीको सीमा चौकी राख्ने जिल्लामा गुल्म स्थापनासंगै केन्द्रमा पटक पटक मांग गरिएको सीमा सुरक्षा गुल्म दार्चुलाका गुल्मपती डिएसपी अम्बिका प्रसाद जोशीले बताए। सीमामा स्थाई सुरक्षा निकायको युनिट राख्नको लागी  जिल्ला सुरक्षा समिति मार्फत केन्द्रमा यसअघि नै माग गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । ‘सीमामा स्थायी सुरक्षा निकायको युनिट राख्नको लागी केन्द्रमा माग गरिएको छ’, उनले भने, ‘जिल्लामा रहेको सशस्त्र प्रहरीको सीमा सम्म विस्तार गर्न माग गरेका छौं।’

प्रकाशित: १७ चैत्र २०७४ १५:५७ शनिबार

भारतसँग गल्यो सरकार विरोधका पुल सञ्चालनको अनुमति