८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सयको नोटमा सरकारले नयाँ नक्शा राख्ने निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले सरकारको निर्णय बिरुद्धमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

शुक्रवार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवि नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्शा राख्ने निर्णयमा विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो? भन्दै प्रश्न गरे।

उनले यस विषयमा राष्ट्रपति पोडेल स्वयं र सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग गरे। उनले संसदको बैठकमा नेकपा एमालेको तर्फबाट सो विषयमा आवाज उठाउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिए। अध्यक्ष ओलीले सल्लाहकार नेपालले राष्ट्रिय हित विपरित बोलेको आरोप समेत लगाए।

उनले राष्ट्रपति कार्यालयमा राष्ट्रहित विपरित बोल्ने व्यक्तिहरु किन राखेको भन्दै आपत्ति जनाए। उनले हरेक नेपालको नोटमा र हरेक सिक्कामा अनिवार्य नेपालको नक्शा राख्नुपर्ने पनि बताए। नेपालको अहित चिताउने, राष्ट्रिय भावनामा न्युनता वा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाएर बस्न नमिल्ने बताए। उनले नेपालले नेपाली नोटमा नेपालको नक्शा छाप्ने कुरालाई कुनैपनि देशले आपत्ति जनाउनुपर्ने विषय नरहेको बताए।  

प्रकाशित: २८ वैशाख २०८१ १४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App