६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

फुट्दै र मधेसी मन दुखाउँदै जसपा

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनको सरकार ढालेर गत फागुन २१ गते नयाँ समीकरण बनाउन जनता समाजवादी पार्टी (जसपा) ले उत्प्रेरकको भूमिका खेलेको थियो। जसपा र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बिना नेकपा एमालेका साथमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार बन्न सम्भव थिएन।

जसपाभित्रको ठुलो हिस्साले नयाँ सत्ता समीकरणप्रति असन्तुष्टि जाहेर गर्दै अध्यक्ष उपेन्द्र यादवलाई रोकेका थिए। तर जसपा अध्यक्ष यादव दलभित्रको असन्तुष्टिलाई पर्वाह नगरी नयाँ सत्ता समीकरणमा होमिन पुगे।

जसका कारण दलभित्रका असन्तुष्टि नेतामाझ मात्र नभई बाहिरी शक्तिको नजरमा पनि उपेन्द्र तारो बने। कांग्रेससहितको सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता समीकरणको खेलमा लाग्नु नै उपेन्द्र यादवका लागि आत्मघाती कदम बन्यो । त्यसले जसपा विभाजनको जगलाई बलियो बनाइदिएको जानकारहरू बताउँछन्।

नयाँ सत्ता गठबन्धन बनाएर त्यसमा सहभागी हुने निर्णय पार्टीबाट अनुमोदन गराउन उपेन्द्र यादवलाई निकै मिहिनेत गर्नुपरेको थियो। लामो कसरतपछि नवलकिशोर साह सुडीलाई वन तथा वातावरण र दीपक कार्कीलाई सोही मन्त्रालयको राज्यमन्त्री बनाउँदै यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बने।

माओवादी केन्द्रसँगको सहकार्य अप्रत्यासित रूपमा टुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवा वैकल्पिक गठबन्धन बनाउने कसरत गर्दैछन्। यसका लागि उनले वर्तमान सत्ता गठबन्धनका मुख्य घटक नेकपा एमालेलाई समेत ‘अफर’ दिँदै आएका छन्। वैकल्पिक शक्तिका रूपमा उनले नेकपा एस अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष यादवलाई समेत साथमा लिन कसरत गर्दैछन्।

अहिलेको वर्तमान सत्ता गठबन्धन भत्काउन यादवले भूमिका खेलेको प्रचार गरिएको छ। तर यो प्रचारमा यथार्थता नरहेको राजनीतिक विश्लेषक डा. विजप्रसाद मिश्र बताउँछन्। उनको विश्लेषणमा उपेन्द्र यादवको पार्टी विभाजन हुनुको मुख्य कारक एमालेसहितको गठबन्धन सरकारमा होमिनु नै हो। ‘बाहिरी शक्तिलाई बिच्काएर उनी नयाँ सत्ता गठबन्धनमा सहभागी नभएको भए राजनीति फरक हुन्थ्यो,’ उनले भने।

उपेन्द्रको पार्टी विभाजनको शृंखला विश्लेषण गर्ने हो भने हरेक पटक सत्ता फेरिने समयमै विभाजन भएको पाइन्छ। यो संयोग नभई शक्ति केन्द्रसँगको उपेन्द्रको द्वन्द्वको कारण भएको विश्लेषक मिश्र बताउँछन्। यस पटक पनि शक्ति केन्द्रले उनलाई संसदीय राजनीतिमा कमजोर पार्न खोजेको देखिन्छ। जसको बाछिटा जेठ २७ देखि हुन लागेको जसपाको महाधिवेशनमा पनि देखिनेछ।

मिश्रका अनुसार महाधिवेशनमा आफूहरूको पदाधिकारी पद सुरक्षित नदेखेपछि कतिपय नेता अतालिएका थिए। उनीहरूका लागि जसपा विभाजनले ठूलो अवसर ल्याइदियो। र, पद सुरक्षित गर्न केही नेता विभाजनको कित्तामा उभिन पुगेको मिश्रको विश्लेषण छ। सोमबार जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गरी जसपा विभाजन प्रक्रियामाथि प्रश्न गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका छन्।

‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ।’

जसपा विभाजनमा भूराजनीतिक प्रभाव प्रमुख भएको विश्लेषक मिश्रको विश्लेषण छ। शक्ति केन्द्रविरुद्ध अघि बढ्दा पटकपटक पार्टी विभाजनको मार झेलेका उपेन्द्रजीसँग यस पटक पनि त्यही भयो। अब उनलाई कमजोर बनाएर अर्को पक्षलाई नयाँ सत्ता गठबन्धनका लागि तयार पारिएको छ।

‘जसपामा देखिएको यो विभाजनको कारण तयार नयाँ सत्ता गठबन्धनको हो,’ विश्लेषक मिश्र भन्छन्, ‘छिट्टै नयाँ गठबन्धन र नयाँ सरकार बन्छ। यो नयाँ सरकार र सत्ता समीकरणको पूर्वाभ्यास मात्र भएको उनको भनाइ छ। अब माओवादीबाहेक दलबीच गठबन्धन बनाउने कसरत हुन्छ,’ स्रोतले भन्यो, ‘नयाँ सरकार कांग्रेस–एमालेसहित विभाजित दलहरूलाई समेटेर बन्ने कसरत हुँदै छ। नतिजा चाँडै देखिन सक्छ।’

भारतसँग ‘खट्टामिठा’ सम्बन्ध

सन् २०२० मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत भूभाग समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा ‘चुच्चे नक्सा’ जारी गरेको थियो। ओली नेतृत्वको नेकपा सरकारको यो निर्णयले देशभित्र र बाहिर निकै चर्चा पायो। तर, यस निर्णयले छिमेकी भारतसँगको सम्बन्धमा तिक्तता पैदा गरिदियो।

चुच्चे नक्सा जारी भएपछि चिढिएको भारतसँगको सम्बन्धमा सुधार नहुँदै ओली नेतृत्वको सरकार ढल्यो। नेकपा एमाले–माओवादी पार्टीबीच एकीकरण भएर गठन भएको नेकपाबाट माओवादी अलग भएर समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि, कांग्रेसको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि पहिलो भ्रमणको निम्तो चीनबाट आयो।

भारतसँगको तीतो सम्बन्धमा मिठास भर्न भने उनले भारत भ्रमण गर्ने निर्णय गरे। र, पहिलो औपचारिक भ्रमण भारतबाटै सुरु गरेर नयाँदिल्लीलाई खुसी पार्ने प्रयत्न गरे दाहालले। चारदिने भारत भ्रमणको बेला दाहालले भारतसँगको सम्बन्ध सुधार गर्न कुनै कसर बाँकी राखेनन्।

भ्रमणको तेस्रो दिन उनी उज्जैनको महाकालेश्वर मन्दिर पुगेर केसरिया रंगमा रंगिए। मन्दिरमा पूजापाठ गरेर प्रसाद चढाए। र, सम्बन्धमा मिठास भरे। त्यसयता उनको भारतसँग सम्बन्धमा मिठासै मिठास भरिएको छ।

विश्लेषक मिश्र भन्छन्, ‘कांग्रेससँगको गठबन्धन अचानक तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि सबै छक्क परे।’ दाहालको यो कदमले भारतलाई समेत झस्काइदिएको मिश्रको विश्लेषण छ। कांग्रेससँगको गठबन्धन टुटाएर अचानक एमालेसँग मिलेर सरकार बनाएदेखि ‘अरूचि’ व्यक्त गरिरहेको भारतलाई अझ सरकारको गत बिहीबारको निर्णयले प्रतिक्रिया जनाउन बाध्य बनाइदियो।

दाहाल नेतृत्व सरकारको गत बिहीबार एक सय रूपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णयप्रति भारत सरकारका विदेशमन्त्री सुब्रह्मण्यम् जयशंकर (एस जसशंकर) ले नेपालले एकतर्फी रूपमा निर्णय गरेको भन्दै आपत्ति नै जनाएका छन्। जयशंकरले नेपाल सरकारको निर्णयले भारतीय भूमिको वास्तविकता परिवर्तन नहुने जिकिर गर्दै ‘हाम्रो अडान स्पष्ट छ, नक्सा बदलिए पनि जमिनमा यथार्थ परिवर्तन हुँदैनु भनेर प्रष्ट बोलेका छन्।

मधेसी शक्तिमा फुटले फाटेको मधेसी मन

मधेसी शक्ति भनेर लोकप्रीय जनता समाजवादी पार्टी(जसपा) आफूलाई राष्ट्रिय पार्टी बनाउन विभिन्न दलसँग एकीकरण गरे पनि यसको जनाधार र तागत मधेस नै हो। मधेसी शक्ति संगठित हुँदा मधेसको मनमा भरोसाको पालुवा पलाउँछ। शक्ति विभाजित हुँदा मधेसको मन फाट्छ। आइतबारको विभाजनले मधेसको मन फेरि फाटेको छ। यसकारण कि मधेसी शक्तिमा फुट नयाँ होइन, यसअघि पनि पटक–पटक भएका छन्।

२०७६ वैशाखमा संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता भएर समाजवादी पार्टी बनेको थियो। फेरि २०७७ वैशाख १० गत्ते उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता सामाजवादी पार्टी (जसपा) बन्यो।

२०७८ भदौ १ गते महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताले जसपा नेपालबाट विभाजित भई नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका थिए। त्यसको एक वर्षपछि २०७९ सालमा डा. बाबुराम भट्टराई, महिन्द्र यादवलगायत नेताहरू जसपाबाट अलग भई नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका थिए।

आइतबार अशोक राई, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, रेणु यादव, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतोलगायत नेताले जसपा नेपाल विभाजन गरी नयाँ पार्टी जसपा गठनको घोषणा गरेका छन्। फुटको शृंखलामा सत्ता कारक रहेको बताइएको छ।

प्रकाशित: २५ वैशाख २०८१ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App