१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

संसद् सुचारु,प्रतिपक्षले उठाएको विषय अर्को बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने

सत्तापक्ष र प्रतिपक्ष सांसदहरूबिच विवाद सुरु भएपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ। प्रतिपक्षले उठाएका सवालमा प्रधानमन्त्रीले अर्को बैठकमा सम्बोधन गर्नुपर्ने सहमति भएपछि बैठक सुरु भएको हो। 

शुक्रवारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले अबको बैठकमा प्रधानमन्त्रीले एमालेसहित प्रतिपक्ष दलहरूले उठाएका मागहरूको विषयमा सम्बोधन गर्नुपर्ने माग राखे।

एमालेसहित अन्य प्रतिपक्ष दलहरूले बालकुमारी घटनाको प्रतिवेदन संसद्मा टेबुल गर्न र त्यसले दोषी ठहराएका मन्त्रीहरूको राजीनामाको माग गरिरहेका छन्। एमालेले गत ६ गतेदेखि यही माग उठाइरहेको छ। 

‘सरकार छ गते भाग्यो, हिजो भाग्यो, आज भाग्यो । १३ र १४ गते पनि भाग्ला । तर नाकमा नत्थी लगाएर संसद्मा ल्याउनुपर्ने स्थितिमा नपुर्‍याइयोस। प्रधानमन्त्रीको मन्त्रीहरूलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफको अपेक्षासहित बिदा हुन्छु’, उनले चेतावनी दिए । 

सरकार र प्रतिपक्ष दलहरूबिच विवाद भएपछि सभामुख देवराज घिमिरेले यसअघि १५ मिनेटका लागि संसद् स्थगन गरेका थिए। नेपाली कांग्रेसका सांसद राजनकुमार केसीले बिहीबार प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूले अनौठो र अचम्मको नाटक मञ्चन गरेर बाहिर गएको भनेपछि विवाद बढेको थियो।

केसीले सांसदमा भनेका थिए, ‘हिजो राजनीतिक दलसम्बन्धी विधेयक पेस हुने बेला अनौठो र अचम्मको नाटक मञ्चन देखियो। गणपूरक सङ्ख्या पुग्छ की भनेर १०÷१५ जना सांसदहरू बाहिर जानुभयो।’

केसीको भनाइको प्रतिवाद गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाएका थिए। उनले केसीको आरोप झुटो रहेको भन्दै संसद् चल्न नदिन अडान राखेका थिए। प्रतिपक्षका सांसदहरू आ–आफ्नो स्थानमा उभिएर विरोध गरिरहे।

यसबीचमा राप्रपाका प्रमुख सचेत ज्ञानेन्द्र शाहीले पनि बालकुमारी घटना नभएर हत्या भएको कुरा प्रधानमन्त्रीले स्वीकार गरिसकेको र हत्यारालाई अहिले सम्म किन कारबाही नभएको सरकारले तुरुन्त जवाफ  दिनुपर्ने माग राखेका थिए।  उनले प्रधानमन्त्री तथा गृहमन्त्रीमध्ये कसले जवाफ दिने हो तुरुन्त उपस्थित भएर जवाफ दिनुपर्ने बताए। 

यसपछि पनि संसद्मा नियमित होहल्ला भएपनि सांसद माधव सापकोटाले प्रतिपक्षका सांसदलाई राजीनामा गरेर सडकमा जान चेतावनी दिएका थिए। उनले नेकपा एमाले र राप्रपाले संसद् कुनै हालतमा चल्न नदिने अडान दिएपछि यस्तो चेतावनी दिएका हुन। ‘तपाईँहरूको सांसद पद राजीनामा गरेर सडकमा जानुस्’, सापकोटाले भने, ‘यही संसद्मा बस्ने, अराजक हुने, उछृखंल हुने यो के तरिका हो।’

उनले संसद् नियमावलीको धारा २१ ‘ङ’ पढेर सुनाएका थिए। प्रतिपक्षलाई भने,‘ प्रतिपक्षलाई यो श्रवण गर्न अनुरोध गर्न पाउँछु। नियमापत्ति गरेर आफ्ना कुरा शानदार राख्नुपर्दछ।’ सापकोटाले प्रतिपक्षले संसद्मा देखाएको व्यवहार नियमसँगत भएको पटक–पटक जिकिर गरेका थिए।  ‘तपाईँहरूको आज संख्या बढी छ। संख्याको बल छ भन्दा बित्तिकै हाम्रा स्वरहरू दबाउन पाइन्छ?’, उनले प्रश्न गरेका थिए। 

यसबीचमा सभामुख देवराज घिमिरेले पटक–पटक रुलिङ गरेका थिए। तर विवाद साम्य नभएपनि उनले १५ मिनेटका लागि संसद् स्थगन भएको सूचना सुनाएका थिए। 

प्रकाशित: ११ फाल्गुन २०८० १६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App