४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिलाई एमालेको चेतावनीः संसद महासचिव अविलम्व नियुक्ति गरियोस्, चलखेल स्वीकार छैन

नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेकाे आरोप लगाएका छन्।

उनले संघीय संसदको महासचिव पद खालि अवस्थामा हुनु र अधिवशेन शुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो? भन्दै प्रश्न गरे। महासचिवमा राष्ट्रपतिले राजनीति गरेको उनको आरोप थियो। उनले राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिए। कानूनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व नियुक्ति गर्न आग्रह गरे। आगामी बैठकहरुमा राष्ट्रपतिको बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन चेतावनी दिँदै राष्ट्रपति पदको गरिमालाई कामय राख्न आग्रह गरे।

उनले भने, ‘आज हाम्रो संघीय संसदको महासचिव पद खालि अवस्थामा छ। भर्खरै मात्रै सम्माननीय अध्यक्षज्युले खालि भएको कुरा सुनाउनुभयो। तर यो अधिवशेन शुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो? हामीले कस्तो राष्ट्रपति पायौँ? निकै लामो अध्ययन चिन्तन गर्ने, राष्ट्रपति ज्यु तपाईको अध्ययन चिन्तन अब बढी भएन र? एउटा संसदको महासचिवमा तपाईको चलखेल किन? आज विनम्रतापूर्वक यस सभाको बैठकमा आग्रह गर्दछु। हामीलाई कानूनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व दिइयोस्। मलाई विश्वास छ, आगामी बैठकहरुमा हामीले सम्माननीय राष्ट्रपतिको बारेमा अलि कडा शब्द प्रयोग गर्नुपर्ने छैन। राष्ट्रपति भनेको सम्मानित पद हो। यसको गरिमालाई कामय राख्न आग्रह गर्दछु।’

प्रकाशित: २२ माघ २०८० १७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App