१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सर्वाेच्चले माग्यो भारतीय नागरिकलाई सांसद बनाउनुको कारण

काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभाका सांसद सुरेशचन्द्र दासको भारतीय मतदाता सूचिमा नाम राख्नुको कारण मागेको छ। 

प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र सम्शेर जबरा, दीपकमुमार कार्कीको संवैधानिक इजलासले निर्वाचन आयोगलाई भारतीय नागरिकलाई उम्मेदवार हुन दिनुको कारण देखाउन बुधबार आदेश गरेको हो। 

सिराहा धनगढीमाईका दुर्गानन्द चौधरीले सांसद दास भारतीय नागरिक भएकाले उनको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा आइतबार निवेदन दिएका थिए। 

उनले सांसद दासको नाममा आएको निर्वाचन परिणाम समेत बदरको माग गरेका छ। तर, दासले प्रतिनिधिसभा सदस्यको हैसियतमा सपथ लिइसकेका छन्। 

नागरिक दैनिकले नेकपा माओवादी केन्द्रका तर्फबाट सिराहा निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद सुरेशचन्द्र दासको नाम भारतको मतदाता सूचीमा रहेको खुलेको समाचार प्रकाशित गरेको थियो। सोही आधारमा चौधरीले रिट निवेदन दर्ता गरेका हुन्। 

निवेदकले निर्वाचन आयोग, संघीय संसद सचिवलाय, सांसद सुरेशचन्द्र दासलाई विपक्षी बनाइ रिट दर्ता गरेका थिए।

प्रकाशित: २३ फाल्गुन २०७४ ०९:१८ बुधबार

सर्वाेच्चले माग्यो भारतीय नागरिकलाई सांसद बनाउनुको कारण