८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश ४ मा १२ जनाको उम्मेदवारी दर्ता

कास्की- माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नं. ४ मा विभिन्न दलका १२ जनाले मनोनयन दर्ता गराएका छन्। बुधबार बिहान १० बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो।

क्षेत्रीय निर्वाचन कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वाम गठबन्धनले (नेकपा एमाले र माओवादी केन्द्र) संयुक्त उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका हुन्। प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा तालमेल गरेको जनर्मोचाले पनि दुई सदस्यको लागि मनोनयन दर्ता गरेको छ।

कार्यालयका अनुसार गठबन्धनले राष्ट्रियसभाको लागि ६ सिटमा मनोनयन दर्ता गरेको छ। नेकपा एमालेबाट चार जना र नेकपा माओवादी केन्द्रबाट दुई जनाले उम्मेदवारी दिएका छन्। एमालेबाट पर्वतका गणेश तिमिल्सिनाले खुलातर्फ, बाग्लुङकी शान्ति अधिकारी र लमजुङकी दिपा गुरुङ महिलातर्फ, स्याङजाका रामबहादुर थापाले अपाङ्गतर्फबाट मनोनयन दर्ता गरेका छन् । माओवादी केन्द्रबाट बाग्लुङका दिननाथ शर्मा र स्याङजाका खिम बहादुर विकले मनोनयन दर्ता गराएका छन् । शर्माले खुलातर्फ र विकले दलिततर्फबाट उम्मेदवारी दिएका हुन्।

यस्तै, कांग्रेसले पनि खुला, महिला, दलित र अपाङ्ग सिटको लागि मनोनयन दर्ता गराएको छ। खुलामा कास्कीका सुरेन्द्र पाण्डे, महिलातर्फ तनहुँकी वृन्दादेवी आलेमगर, दलिततर्फ पर्वतका जितबहादुर सुनार र तनहुँका प्रकाश पन्तले अपाङ्गतर्फबाट मनोनयन दर्ता गराएका हुन्।

राष्ट्रिय जनमोर्चाबाट बाग्लुङका कृष्ण अधिकारीले खुला र बाग्लुङकै मिना पुनले महिलातर्फबाट उम्मेदवारी दर्ता गराएकी छन्।

संविधानको धारा ८६ अनुसार एक प्रदेशबाट कम्तिमा तीन महिला, एक जना दलित र एकजना अपाङ्गता भएका व्यक्तिसहित आठ जना राष्ट्रियसभा सदस्य बन्न पाउनेछन् । तर, कुनैपनि दलले सबै सिटमा उम्मेदवारी भने दर्ता गराएका छैनन्।

बुधवार दिउँसो चार बजेदेखि पाँच बजेसम्म उम्मेदवारको सूचि प्रकाशन गर्ने, ११ गते उम्मेदवारको दाबी विरोधमा उजुरी दिने, १३ गते मनोनयन पत्र र उजुरी माथि जाँचबुझ गरी निर्णय गर्ने र १४ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र उक्त दिन २ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ।

राष्ट्रियसभा सदस्यको लागि ३५ वर्ष उमेर पुग्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ भने राष्ट्रिय सभा सदस्यहरुको कार्यकाल छ वर्षको हुनेछ।

प्रदेश ४ मा दुई सय ३० मतदाता

माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ४ का दुई सय ३० जनाले मतदान गर्न पाउने भएका छन् । छन् । मुख्य निर्वाचनको कार्यालयले मंगलबार प्रकाशन गरेको मतदाताको अन्तिम नामावली अनुसार प्रदेससभाका प्रत्यक्ष तथा समानुपातिक सदस्य ६० र ८५ स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष सहित एक सय ७० जनाले मतदान गर्न पाउनेछन्।

प्रदेश नं. ४ मा एक महानगर २६ नगरपालिका र ५८ गाउँपालिका सहित ८५ स्थानीय तह रहेका छन्। ८५ स्थानीय तहका एक सय ७० प्रमुख/उपप्रमुख तथा ६० जना प्रदेससभा सदस्यले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने भएका छन्।

स्थानीय तहको मतपरिणाम अनुसार नेपाली कांग्रेस प्रमुख/अध्यक्षमा ४४ स्थान तथा उपप्रमुख/उपाध्यक्षमा ३७ स्थानमा विजयी बनेको थियो । त्यस्तै नेकपा एमालेले प्रमुख/अध्यक्षमा ३४ तथा उपप्रमुख/उपाध्यक्षमा ३६ स्थानमा विजयी बनेको थियो।

माओवादी केन्द्रले ५ प्रमुख/अध्यक्ष तथा ७ उपप्रमुख/उपाध्यक्ष जितेको थियो । जनर्मोचा र स्वतन्त्रका उम्मेदवारले एक/एक स्थानमा प्रमुख पद जितेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनर्मोचाले दुई/दुई वटा उपप्रमुख पदमा विजयी बनेका थिए । उपप्रमुखमा एक स्वतन्त्र उम्मेदवार पनि विजयी बनेका थिए।

 

प्रकाशित: १० माघ २०७४ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App