२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

‘हिजोको व्यवस्थाले कायापलट हुँदैन, लोकतन्त्र भन्दा उत्तम विकल्प छैन’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पछाडि फर्किएर गन्तव्यमा नपुगिने बताएका छन्। गन्तव्यमा पुग्न सही बाटो हिंड्नु पर्ने भन्दै उनले उल्टो बाटोले थप दुख मात्र दिने बताए। 

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै महामन्त्री शर्माले हिजोको व्यवस्था फर्कियो भने देशमा कायापलट हुन्छ भन्ने मनोविज्ञान विकसित भएको बताए। लोकतन्त्र भन्दा उत्तम विकल्प अरू हुनै नसक्ने भन्दै उनले पुरानो व्यवस्था फर्काएर चमत्कार हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए।

पछिल्लो समय राजावादीहरुले सक्रियता बढाइरहेको भन्दै उनले लोकतन्त्रका विकृत पाटाहरुमा सुधार गर्नुपर्नेमा उल्टो नारा बोकेर हिंडेको बताए। नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गरेर अस्थिर बनाउने चलखेल भइरहेको भन्दै उनले नेपाली कांग्रेसले धैर्य र परिपक्व भएर काम गर्नुपर्ने बताए।

निर्वाचन मात्र कांग्रेसको प्राथमिकता नरहेको भन्दै नेता शर्माले ०८४ सालको चिन्ता गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताए। कांग्रेस देश र जनताको पक्षमा गम्भीर भएर लाग्दा निर्वाचनको परिणाम पनि सुखद आउने भएकाले त्यता ध्यान दिनुपर्ने उनले बताए। ६ कक्षामा पढ्दै गरेको विद्यार्थीले एसइईको चिन्ता गर्न थाल्यो भने पुरै पढाई बिग्रने भन्दै उनले कांग्रेसले वर्तमानको चिन्ता गर्नुपर्ने बताए।

मुलुक बनेन भनेर आउने आम निर्वाचनमा मत माग्ने खेती गरेका केही दलहरुलाई उनले मुलुक बनेको मानक के हो ? भनेर प्रश्न गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेप्रति इंकित गर्दै महामन्त्री शर्माले देश बर्बाद भयो भनेर २०८४ को निर्वाचनमा भोट माग्ने तर वर्तमानको चिन्ता नलिएको बताए।

‘मुलुक बनेको मानक के हो ? अमेरिका, जापान, चिनले अहिलेसम्म मुलुक बन्यो भनेर घोषणा गरेका छैनन्, उनले भने, ‘केही भएको छैन भनिएको छ। धेरै कुरा भएको छ र अझै धेरै गर्न बाँकी छ।’

बिजुली, बाटो, शिक्षा, स्वास्थ्य, खानेपानीका क्षेत्रमा २०६० साल यता धेरै प्रगति भएको भन्दै शर्माले अझै धेरै कुराहरु गर्न बाँकी रहेको बताए। लोकतन्त्र उन्नत र उत्तम व्यवस्था रहेको भन्दै उनले यसका कतिपय कुराहरुमा सुधार आवश्यक रहेको उनले बताए।

मुलुकमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तिन पटक मन्त्री र चार पटक सांसद हुन पाइने व्यवस्था गर्नु पर्ने उनको धारणा छ।

प्रकाशित: १६ मंसिर २०८० १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App