१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाराका नेताको पर्सामा अनसन

वीरगन्ज- छिमेकी जिल्ला बाराबाट आएका विभिन्न राजनीतिक दल तथा विभिन्न क्षेत्रका १४ जना अगुवाहरूले प्रदेश नं २ को राजधानी यहाँ बनाउनुपर्ने माग गर्दै पर्साको वीरगन्जमा अनसन बसेका छन् । उनीहरूले राजधानीको माग गर्दै सुरु भएको आन्दोलन पर्सावासीको मात्र नभएर छिमेकी जिल्ला समेतको सरोकार हो भनी जनाउन आइतवार सबै अनसनकारी बाराबाट नै सामेल भएको बताएका छन् ।
वीरगन्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउन घोषित चरणबद्ध संघर्षका कार्यक्रमअन्तर्गत सुरु भएको रिले अनसनमा भाग लिन आउनेलाई पर्साका नेताले पूmलमाला र खादा ओढाएर स्वागत गरे । ‘हामी सुरुदेखि नै यस आन्दोलनमा होमिएका छौं, आज (आइतबार) भने सबै अनसनकारी बाराबाट छौं, हामी साथमा छौं भन्ने सन्देश दिन चाहेका हौं,’ अनसनमा बसेका तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले भने, ‘प्रदेश थेग्ने सामथ्र्य भएको प्रदेशको एकमात्र महानगर हो वीरगन्ज । राजधानीलाई चाहिने पूर्वाधार यहाँ पर्याप्त छ । अन्तराष्ट्रिय व्यपार नाकादेखि मुलुकको प्रमुख प्रवेशद्वार हो यो ठाउँ, काठमाडौं जोड्ने द्रूतमार्गबाट नजिक छ, नजिकै दोस्रो अन्तराष्ट्रिय बिमानस्थल यहाँ नै बन्न लागेको छ, राजधानी धान्ने आधार यहाँ छ, भावनात्मक कुरा होइन ।’
राजनीतिक लगानीको दृष्टिकोणले पनि वीरगन्ज नै राजधानीको भागिदार बन्नुपर्ने अनसन बस्नेहरूको दाबी छ । सोमबार रौतहटबाट आएको टोलीले जारी रिले अनसन अगाडि बढाउने तय भएको सिंहले बताए । आइतबार पनि राजधानीका लागि आन्दोलनरत समूहले वीरगन्जमा केहीबेर चक्का जामसमेत गरेको छ । आन्दोलनलाई अगुवाइ गरेमध्येका शम्भुप्रसाद गुप्ताले आपूmहरूले शान्तिपुर्ण आन्दोलनलाई अघि बढाउदै उत्कर्षसम्म लैजाने किसिमले लागेको बताए । पार्टीगत स्वार्थभन्दा सामूहिक हित र प्रदेशको भविश्यको सवाल जोडिएकोले आन्दोलनमा जनआकर्षण रहेको उनले दाबी गरे । आइतवार सिंहसँगै बाराका अगुवा जुगुलकिशोर साह, अनिलकुमार साह, बिनोदकुमार महतो, राहुल गुप्ता, बबिता जैसवाल, मिना सिंह, सुरेन्द्र पटेल, तेजनाथ पटेल, गौरिशंकर साह, एकलदेव मुखिया, ललिन्द्र पटेल, बिनोद पटेल र रामएकबाल पटेल अनसन बसेका छन् ।

प्रकाशित: २४ पुस २०७४ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App