२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

सुरक्षाका चार चुनौती

वीरगन्ज – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर बढाइएको सुरक्षा सतर्कता आममानिसले सामान्यतया देखेको सुरक्षा प्रबन्धभन्दा फरक छ । सुरक्षा जाँच, गस्ती र निगरानी बढाइएपछि सर्वसाधारणले यसपालि सुरक्षा संवेदनशीलता पहिलेभन्दा बढी भएको आँकलन गरेका छन्। 

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने जिल्लास्थित सुरक्षा समितिको बैठक दिनहुँजसो बसिरहेको छ । जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका अधिकारीहरुको सो बैठकले जिल्लाको सुरक्षा अवस्थालाई निरन्तर विश्लेषण गरिरहेको पर्साका प्रहरी उपरीक्षक गाणेश रेग्मीले बताए । जिल्लामा सुरक्षा संयन्त्रले काम गरिरहेको र सुरक्षा व्यवस्था नियन्त्रणमा रहेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए । जिल्लामा चार सुरक्षा चुनौती रहेको उनले बताए। 

संगठित गतिविधि 

नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिले पर्सा जिल्लामा पनि पछिल्लो समयमा प्रभावित गरेको देखिन्छ । जिल्लामा विस्फोटक पड्काएर तर्साउने घटना ३ वटा भएका छन् । यसलाई सुरक्षा अधिकारीहरुले गम्भीर रुपमा लिएका छन् । अहिले यस्ता गतिविधि रोक्न प्रहरीले ११ जनालाई पक्राउ गरेको छ भने अन्य सात जनालाई दैनिक जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने गरी निगरानीमा राखिएको छ। 

एमाले जिल्ला पार्टी कार्यालयमा झोलाभित्र शंकास्पद वस्तु राखेर तर्साउने काम गरिएको थियो । सेनाको टोलीले विस्फोटक लगाएर नष्ट गरेपछि प्रेसर कुकर खाली रहेको भेटिएको थियो । सोही पार्टीका पूर्वसांसद रामचन्द्र साहको करेसाबारीमा सुतलीबम पड्केको थियो। 

यस्तै नेपाली कांग्रेसका पूर्वसांसद तथा पर्सा क्षेत्र २ बाट प्रतिनिधिसभाका उम्मेदवार अजय चौरसियाको गाडीमुनि सुतलीबम पड्काइएको थियो । यी घटनामा कुनै मानवीय क्षति नभए पनि सुरक्षा सतर्कता बढाइएको छ । विप्लव समूहका भोजपुरा इन्चार्ज बिगा चौरसियासहित ११ जना प्रहरी नियन्त्रणमा छन् । यीमध्ये केहीलाई  सार्वजनिक अपराधसम्बन्धी मुद्दा र केहीलाई जिल्ला अदालतको आदेशमा सार्वजनिक सुरक्षा ऐनअन्तरगत नजरबन्दमा राखिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । शुक्रबार राति बिन्दवासनी गाउँपालिकाको मधवलबाट धर्मेन्द्र चौरसियालाई प्रहरीले पक्राउ गरेको छ। 

यसअघि प्रहरीले वीरगन्ज चिनी कारखाना आवास क्षेत्रबाट महेन्द्र साह कलवारलाई  संगठित भूमिगत गतिविधि सञ्चालन गरेको प्रमाणसहित पक्राउ गरेको थियो । कलवारको कोठाबाट भूमिगत पार्टीको बैठकको माइन्युट, चन्दा उठाइएको रसिदको ठेली र अन्य कागजात फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए। 

सीमावर्ती क्षेत्रको अपराध

सिमावर्ती क्षेत्रमा हुने धेरैजसो आपराधिक गतिविधिमा भारतीय पक्षको संलग्नता हुने गरेको छ । भारतमा भएका कतिपय घटनामा पनि नेपालका आपराधिक व्यक्तिको संलग्न हुने गरेको पाइएको छ । सीमा क्षेत्रको अपराध पहिलेदेखि नै यस क्षेत्रको सुरक्षा चुनौती रहँदै आएको छ । यसै सन्दर्भमा छलफल गर्न गत मंसिर ७ गते वीरगन्जमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठक बसेको थियो । नेपालमा हुने निर्वाचनका लागि सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइने निष्कर्ष बैठकले निकालेको थियो । दुवैतर्फका सुरक्षा अधिकारीहरुबीच सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा निगरानी गर्ने, सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गर्ने, मतदानको दिन सीमा बन्द गर्ने, सुरक्षा तथा अन्य आवश्यक विषयका सूचना आदानप्रदान गर्नेलगायतमा समन्वय गरिएको छ । पछिल्लो समयमा नेपालमा साना हतियारको बिगबिगी छ । नेपालमा आपराधिक घटनामा पक्राउ पर्नेमा भारतीय पेसेवर अपराधी पनि भेटिएकाले सीमापारिका अपराधीबाट पनि नेपालमा सुरक्षा चुनौती देखिएको हो ।

दलीय प्रतिस्पर्धा 

प्रतिस्पर्धी दलका कार्यकर्ताहरुबीच भिडन्तको सम्भावना हुन सक्ने आकलन पनि सुरक्षा निकायले गरेको छ । सामाजिक सञ्जालमा एकअर्काप्रति देखिएको आक्रमण भौतिक भिडन्तमा परिणत नहोस् भनेर प्रहरीले सतर्कता अपनाएको छ । दलका कार्यक्रम हुने ठाउँमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो उपस्थिति हुने गरेको छ । तर अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन।

गलत हल्ला

सुरक्षा निकायले यसपालि देखेको अर्को मुख्य चुनौती हो गलत हल्ला । अनलाइन सञ्चारमाध्यम र समाजिक सञ्जालमार्फत बढी मानिसमा सूचना फैलाउन विभिन्न खालका हल्ला फैलाउने गरेको पाइएको छ । सही सूचनाका लागि ध्यान केन्द्रित गरेको सुरक्षा संयन्त्रले अनावश्यक हल्लाले ध्यान तानेको सुरक्षा अधिकारी बताउँछन् । ‘पर्सा जिल्लामा बम विस्फोट भनिएका घटनाहरु हाम्रो बुझाइमा अलि ठूलो आकारको पाटाका पड्काइएका घटना हुन्,’ रेग्मीले भने, ‘हुँदै नभएका कतिपय घटना अनलाइन माध्यममा समाचार बनेर आइरहेको भन्दै सर्वसाधारणले सोध्ने गरेका छन् ।’

र्सामा १ सय ६७ वटा मतदानस्थल रहेका छन् । यीमध्ये १५ वटा सामान्य, ७४ वटा संवेदनशील र ७८ वटा अति संवेदनशील मानिएको छ । जिल्लामा एक हजार ८ सय १६ म्यादी प्रहरीसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित छन् ।

प्रकाशित: १७ मंसिर २०७४ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App