८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

उम्मेदवार घरदैलो र भेटघाटमा केन्द्रित

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव तिथि नजिकिँदै जाँदा उम्मेदवार प्रचारप्रसार शैली फेर्दै घरदैलो र मतदाता भेटघाटमा केन्द्रित हुन थालेका छन् । मतदातालाई आकर्षण गर्न ठूलाठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफल बढी प्रभावकारी हुने उम्मेदवारको अनुभव छ । सम्भव भएसम्म सबै घरमा पुग्ने र  मतदातासँग भेटघाट गर्ने योजना उम्मेदवारको छ । प्रायः  बिहानको समय र शनिबारको दिन पारेर उम्मेदवार घरदैलोमा व्यस्त हुने गरेका छन्।

नागरिककर्मी बिहीबार बिहान काठमाडौं १० मा पुग्दा कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार राजन केसी चोभारमा घरदैलो कार्यक्रममा व्यस्त थिए । उनले भने, ‘बिहान घरदैलो र मतदातासँगको भेटघाटमा व्यस्त हुने गर्छु ।  दिउँसो भेटघाट र छलफल गर्ने गर्छु ।’ भौगोलिक अवस्था हेरी एक दिनमा दुई सयदेखि पाँच सय घरसम्म आफू पुग्ने गरेको उनले बताए। 

मतदातालाई आकर्षण गर्न ठूलाठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफल बढी प्रभावकारी हुने उम्मेदवारको अनुभव छ ।

यस्तै ललितपुर ३ मा माओवादी केन्द्रबाट प्रतिनिधिसभा उम्मेदवार पम्फा भुसालले घरदैलो कार्यक्रमअन्तर्गत एक दिनमा सकेसम्म एउटा वडामा घरदैलो कार्यक्रम सकाउने गरेको बताइन् । घरदैलो कार्यक्रममा पुग्दा एउटा वडामा कम्तीमा ८० प्रतिशत घरमा पुग्ने गरेको उनको भनाइ छ । उनले शनिबारदेखि भेटघाटमा व्यस्त हुने बताइन्।

ललितपुर ३ मै कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार मदन अमात्यले पनि घरदैलो कार्यक्रम र भेटघाटमा केन्द्रित भएको बताए । उनले भने, ‘बिहानबिहान घरदैलो र दिउँसो–साँझ भेटघाट गर्ने गरेको छु ।’ आफू ललितपुरको स्थानीय भएकाले घरदैलो गर्न सहज भएको उनको भनाइ छ।

घरदैलो कार्यक्रममा पुग्दा उम्मेदवारले सकेसम्म फेसबुक लाइभ गर्ने गर्छन् । बीचबीचमा उनीहरूले ससाना कोणसभा पनि गर्ने गरेका छन् । भक्तपुर २ (क) मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सरोजराज गोसार्इंले घरदैलो कार्यक्रममा जाँदा सानातिनो कोणसभा पनि गर्ने गरेको सुनाए । बिहीबार उनी कटुन्जेमा घरदैलो कार्यक्रमा व्यस्त थिए । ‘चुनावको तिथिसम्म पुग्दा दुईतीन ठूला सभा गर्ने हाम्रो कार्यक्रम छ । त्यसबीचमा हामीले सबै ठाउँमा घरदैलो कार्यक्रम सक्छौं,’ उनले भने । यसैगरी काठमाडौं ७ (क) मा एमाले उम्मेदवार वसन्त मानन्धरले पनि घरदैलो र भेटघाट कार्यक्रममा व्यस्त हुने गरेको सुनाए । उनले भने, ‘एक दिनमा चारदेखि पाँच घन्टा घरदैलो कार्यक्रममा व्यस्त हुन्छु । एकपटकको घरदैलो कार्यक्रममा पाँच सय घरसम्म पुग्छु।’ 

घरदैलो कार्यक्रममा जाँदा मतदातासँग भेटघाट हुने र उनीहरूको चाहना बुझ्न सजिलो हुने उम्मेदवारहरूको भनाइ छ । भक्तपुर २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार गणेशमान चक्रधरले पनि घरदैलो र भेटघाटमा आफू केन्द्रित भएको  बताए । ‘ठूलाठूला सभाबाट भोट माग्नुभन्दा मतदातासँग भेट गरेर भोट माग्दा बढी प्रभावकारी हुन्छ’, उनले भने । यस्तै भनाइ भक्तपुर २ (क) का कांग्रेस उम्मेदवार अंगद खड्काको पनि छ । उनी भन्छन्, ‘घरदैलो कार्यक्रमलाई मैले प्राथमिकता दिएको छु । घरदैलो र भेटघाट कार्यक्रम बढी प्रभावकारी हुने गर्छ।’

घरदैलो कार्यक्रममा उम्मेदवारहरू निकटका र विश्वासिला स्थानीय कार्यकर्ता सँगै लैजाने गर्छन् । कुनैकुनै उम्मेदवार स्थानीय बाजागाजासहति घरदैलो कार्यक्रममा पुग्ने गर्छन् । घरदैलो कार्यक्रमा जानुअघि उम्मेदवारले सम्बन्धित ठाउँको समस्या, यसअघिका चुनावको परिणाम, मतदाताको मनोविज्ञानलगायत बुझने गर्छन्।

प्रकाशित: १६ मंसिर २०७४ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App