७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस जोगाउने र वाम उछिन्ने दाउमा

चुनाव प्रचारका क्रममा आयोजित कोणसभामा सहभागी काठमाडौं ६ का कांग्रेस उम्मेदवार भीमसेनदास प्रधान र उक्त क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त वाम गठबन्धनका झक्कुप्रसाद सुवेदी । तस्बिर : नागरिक

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेस र वाम गठबन्धन उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

उक्त क्षेत्रको स्थलगत भ्रमण गर्दा कांग्रेसका भीमसेनदास प्रधान र वाम गठबन्धनका  माओवादी केन्द्रका झक्कु सुवेदीबीच नै तीव्र प्रतिस्पर्धा हुने देखिएको हो । उक्त क्षेत्रका अन्य उम्मेदवारभन्दा प्रभावशाली देखिएका दुवै उम्मेदवारले एकअर्कालाई नै प्रतिस्पर्धीका रुपमा हेरेका छन्। 

बुधबार कांग्रेस उम्मेदवार प्रधान फुटुङतिर घरदैलो गरिरहँदा वाम गठबन्धनका उम्मेदवार सुवेदी मनमैजु, लोकतान्त्रिक चोकतिर घरदैलोमा व्यस्त थिए । दुवै उम्मेदवार साँझबिहान घरदैलोमा र दिउँसो अन्तरक्रिया र आन्तरिक बैठकमा व्यस्त भएको पाइयो। 

यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी प्रधानलाई पुनः कांग्रेसले दोहो¥याएको छ । एमालेका तत्कालीन उम्मेदवार योगेश भट्टराईलाई १४ सय मतले हराएर संसद्मा पुगेका रक्षामन्त्रीसमेत रहेका प्रधान फेरि चुनाव जित्नेमा ढुक्क छन् । असनका रैथाने प्रधान भन्छन्, ‘म यहाँको स्थानीय हुँ । मैले यहाँ वर्षौंदेखि रगतपसिना बगाएको छु । त्यसैले म जित्छु।’ 

एमाले र माओवादी केन्द्रबीच गठबन्धन गरेर मैदानमा आए पनि कम्तीमा ३ हजार मत अन्तरले चुनाव जित्ने दाबी प्रधानले गरेका छन्।

बिहान र साँझ घरदैलोमा व्यस्त हुने प्रधान राति भने आन्तरिक बैठकमा व्यस्त हुँदा रहेछन् । ‘दिनभर घरदैलोमा नै व्यस्त । त्यसैले रातिको समयममा बैठक गरेर असन्तुष्टिलाई सम्बोधन गरिरहेको छु,’ प्रधानले भने । उनी मंसिर १५ गते असनमा र १८ गते गोगंबुमा आमसभा गर्ने तयारीमा छन्।

बुधबार साँझ उनले महाबौद्धमा कोणसभा गरे । उनले भने, ‘विपक्षी वाम गठबन्धनका उम्मेदवार स्थानीय नहुनुले मेरो जित सुनिश्चित छ ।’ प्रधानले काठमाडौंलाई सांस्कृतिक सहर बनाउने, काठमाडौं उपत्यकालाई एकीकृत सहरको रोडम्यापमा लैजाने लगायतको अजेन्डा अगाडि सारेका छन् । प्रधानसँगसँगै प्रदेश (क) मा न्हुच्छेनारायण मानन्धर मैदानमा छन् भने प्रदेश (ख) मा विष्णुभक्त तिमल्सिना उम्मेदवार रहेका छन्।

काठमाडौं महानगरपालिकाका २६, २७, २८ वडा, टोखा नगरपालिकाको १, ८, ९, १० र ११ तथा तारकेश्वर नगरपालिका ३, ४ र ५ बाहेकका सबै वडा उक्त निर्वाचन क्षेत्रभित्र पर्दछन्। 

करिब ६० हजार मतदाता रहेको उक्त क्षेत्रको जनताको मत आफ्नो पक्षमा पार्नका लागि झक्कु सुवेदी पनि घरदैलोमा व्यस्त छन् । बुधवार प्रधानको कोणसभामा उपस्थित संख्या भन्दा झन्डै दोब्बर संख्यामा सुवेदीको घरदैलो गर्ने भीड देखिन्थ्यो । ‘वाम गठबन्धन नै मेरो जितको मुख्य आधार हो,’ सुवेदीले घरदैलो कार्यक्रममा भने, ‘यसअघिका सांसदले यो क्षेत्रमा कुनै काम गरेको देखिएन । जनताको विकासको काममा लगनशील नदेखिएकाले मत मेरो पक्षमा आउनेछ ।’ संविधानसभा– २०६४ मा काठमाडौं–२ मा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेर चर्चामा आएका सुवेदी वाम गठबन्धनको भागबन्डाअनुसार काठमाडौं–६ मा उम्मेदवार बनेका हुन् । प्रदेशसभातर्फ (क) एमालेका केशव स्थापित (ख) मा र योगेन्द्र संग्रौला (ख) मैदानमा छन् । यस क्षेत्रमा ०६४ भने माओवादीका हितमान शाक्यले जित हासिल गरेका थिए।   

सुवेदीले तारकेश्वर, बैडेश्वरलगायतका स्थानलाई पर्यटकीय क्षेत्र बनाउने, खानेपानी, सडक र ढलको व्यवस्थापन गर्नेलगायतका मुद्दा लिएर मैदानमा उत्रिएको बताए । उनका शिवपुरी जलाधार, टोखा–छहरे सुरुङमार्ग बनाउनेलगायतका अजेन्डा पनि छन् । 

उक्त क्षेत्रबाट कांग्रेस र वाम गठबन्धनबाहेक संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल, नेमकिपा, नयाँशक्ति पार्टी नेपाल, राप्रपा प्रजातान्त्रिक र वैद्य माओवादीले उम्मेदवारी दिएका छन् । दुई दलबाहेक अन्य दलको चुनाव प्रचारप्रसार प्रभावकारी हुन सकेका छैन । 

उक्त क्षेत्रका मतदाता भवानी खतिवडाका अनुसार चुनावमा कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीचमै प्रतिस्पर्धा हुने देखिन्छ । ‘यहाँ कांग्रेस र वाम गठबन्धनको नै तीव्र प्रतिस्पर्धा हुन्छ । अन्य साना दल उपस्थिति देखाउने कोसिसमा छन्।’ 

 

प्रकाशित: १४ मंसिर २०७४ ०२:३४ बिहीबार

कांग्रेस जोगाउने वाम उछिन्ने दाउमा