७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

असन्तुष्ट कार्यकर्ता फकाउँदै कांग्रेस उम्मेदवार

बारा- स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट टिकट नपाएर अन्य पार्टीबाट चुनाव लडेर असन्तुष्ट बनेका कार्यकर्तालाई कांग्रेस नेता तथा उम्मेदवारले पुनः कांग्रेसमै फर्काउन कसरत सुरु गरेका छन् ।
स्थानीय तह निर्वाचनमा टिकट नपाएर अन्य पार्टीमा गएका पुनः कांग्रेसमै फर्किदा जित सुनिश्चित हुने भएकाले कांग्रेसका उम्मेदवारले आ–आफ्नो निर्वाचन क्षेत्रका असन्तुष्टलाई फकाउँने कार्यमा लागेको बताइएको छ ।
स्थानीय तहको चुनावमा कांग्रेसबाट नगरपालिका, गाउँपालिकाको प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षको लागि टिकट नपाएर धेरै कांग्रेसका पुराना नेता तथा कार्यकर्ता असन्तुष्ट बनेर अन्य पार्टीमा प्रवेश गरी चुनाव लडेका थिए ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने पचरौता नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएर एमाले पार्टीबाट प्रमुख पदमा चुनाव लडेका लोकनाथ यादवलाई कांग्रेसमै फर्काउने प्रयास गरिएको छ ।
भारतको सीमानासँग जोडिएका पचरौता नगरपालिका प्रमुखमा एमालेबाट चुनाव लडेका लोकनाथ यादवले लगभग दुई हजार मत पाएका थिए । लोकनाथ यादवले पाएका धेरै मत उनको व्यक्तित्व र परिवारिक पकडले पाएका थिए । लोकनाथलाई कांग्रेसमै फर्काउन केन्द्रीय सदस्य तथा सो क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार राधेचन्द यादव जुटेका छन् ।
सुवर्ण गाउँपालिकाको प्रमुखमा पनि कांग्रेसबाट टिकट नपाए राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका कैशियर भन्ने राजेन्द्रप्रसाद यादवलाई अहिले कांग्रेसमा ल्याउने प्रयास गरिएको छ ।
राजपाबाट सुवर्ण गाउँपालिकको प्रमुखमा चुनाव लडेका यादवले १८ सयको हाराहारीमा मत पाएका थिए । महागढीमाई नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा कांग्रेसबाट टिकट नपाएपछि माओवादी केन्द्रबाट टिकट वडाध्यक्ष विजय भएका शशीकान्त मिश्रलाई समेत कांग्रेस मै फर्काउने प्रयास गरिएको कांग्रेसका नेताले बताएका छन् ।
गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट टिकट नपाएर प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. ३ मा पर्ने फेटा गाउँपालिकामा फोरम लोकतान्त्रिकबाट चन्देश्वर दुवे प्रमुख पदमा उम्मेदवार बनेका थिए । दुवेले प्रमुख पदमा पराजय भए पनि उनले चार वटा वडामा वडाअध्यक्ष जिताउन सफल भए ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा पर्ने पर्साैनी गाउँपालिकाका प्रमुखमा राजपा विजयी भएका भोला साह कलवार कांग्रेसबाट नै असन्तुष्ट बनेर राजपामा प्रवेश गरेका थिए ।
जिल्लामा कायम रहेका ४ वटा प्रतिनिधिसभा र आठ वटा प्रदेशको निर्वाचन क्षेत्रमा रहेका पुराना असन्तुष्ट भएका कार्यकर्तालाई मनाउन सके मात्रै बाराका अधिकांश सिट जित्न सक्ने कांग्रेसका जिल्ला नेताले बताएका छन्  ।
कांग्रेसबाट असन्तुष्ट भएर अन्य पार्टीमा गएकालाई पुनः फर्काउन जुटेका नेता राधेचन्द यादवले लोकतन्त्रलाई मान्ने व्यक्तिहरू कांग्रेस बाहेक अन्य पार्टीमा रहन नसक्ने भएकाले कांग्रेसबाट अन्य पार्टीमा गएकालाई पुनः फर्काउन लागिपरेको बताएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा टिकटका विषयमा असन्तुष्ट बनेर अन्य पार्टीमा गएका पुराना कार्यकर्तालाई फर्काएमा प्रतिनिधीसभाको निर्वाचन क्षेत्र नं. २ मात्रै कांग्रेसको पाँच हजारको हाराहारीमा भोट बढ्न सक्ने अनुमान रहेको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा प्रत्यासी यादवले बताए ।
कांग्रेस छाडेर अन्य पार्टीबाट चुनाव लडेर कांग्रेसका उम्मेदवारलाई हराउनेहरू पुनः फर्केर आउँदा उनीहरूलाई देखेर कांग्रेसका कार्यकर्ता भड्किने सम्भावना रहेको बताइएको छ ।
नेता यादवले कार्यकर्ताको राय सल्लाहअनुसार नै छाडेर गएकालाई पुनः कांग्रेसमै ल्याउने प्यास गरिएको बताए । अहिले लोकतन्त्र मान्नेहरू आपसमा लड्दा वाम शक्तिले लोकतन्त्रलाई समाप्त गर्ने सम्भावना रहेकोले यसलाई रोक्न कांग्रेस कार्यकर्ता सतर्क रहनुपर्ने बताए ।
प्रतिनिधिसभा २ नम्बर निर्वाचन क्षेत्रमा वाम गठन्धनबाट एमाओवादीका नेता शिवचन्द्र कुशवाहा र राजपा फोरम गठबन्धनबाट संघीय समाजवादी फोरमका महासचिव रामसहाय यादव चुनावी मैदानमा रहेका छन् ।
कांग्रेस प्रत्यासी यादव यस क्षेत्रबाट २०४८ साल देखि नै पटकपटक चुनाव लड्दै आएकाले यस क्षेत्रमा उनको राम्रो पकड रहेको स्थानीय बताउँछन् ।
लगभग ८३ हजार मतदाता रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा यादव समुदायको २० हजारको हाराहारीमा मतदाता रहेका छन ।

प्रकाशित: २६ कार्तिक २०७४ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App