७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको सातै प्रदेशमा सभा

काठमाडौं- नेपाली कांग्रेस संविधानसभाबाट जारी संविधानको कार्यान्वयन, लोकतन्त्रको रक्षासहित मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने मुख्य लक्ष्यसहित मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारमा जुटेको छ । संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनपूर्व नै एमाले, नेकपा माओवादी केन्द्रसहितका दल मुलुकमा साम्यवादी शासन ल्याउन उद्यत भएको कांग्रेसको आरोप छ । यही एजेण्डा जनतासमक्ष लैजान कांग्रेसले निर्वाचन प्रचारलाई तीन चरणमा विभाजन गरेको छ । उसले पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेगरी सातै प्रदेशमा प्रदेशस्तरीय सभा गर्ने तयारी गरेको छ ।
पार्टी सभापतिसहित शीर्ष नेतालाई नै प्रदेश केन्द्रित सात सभामा उपस्थित गराउने गरी कार्यतालिका तय हुने कांग्रेस प्रचार समिति संयोजक बालकृष्ण खाँणले बताए । उनले भने, ‘प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता र प्रदेशसभाका सबै क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउँछौं ।’ त्यस्तै मझौला नेताले प्रदेशका विभिन्न केन्द्रमा सम्बोधन गर्नेछन् भने पार्टीका प्रभावशाली तर उम्मेदवार हुन वञ्चित नेतालाई कांग्रेसले केन्द्रीय प्रतिनिधिका रुपमा जिल्लामा खटाउने तयारी गरेको छ । सबै नेता एउटै विचार र संकल्पसहित निर्वाचन प्रचारमा जुट्ने जानकारी दिँदै खाँणले थपे, ‘पार्टीभित्र कुनै समस्या छैन ।’
निर्वाचन प्रचारका लागि पार्टीले केही सामग्री उपलब्ध गराउने खाँणले जानकारी दिए । ‘पार्टी झन्डा, घोषणापत्र, निर्वाचन चिह्न र पार्टी सभापतिको अपिल केन्द्रीय कार्यालयले उपलब्ध गराउँछ,’ खाँणले भने, ‘अरु सामाग्री उम्मेदवार आफैंले व्यवस्था गर्ने हो ।’ कांग्रेसले प्रत्येक प्रदेशसभामा एक हजार झन्डा, दुई हजार चुनाव चिह्न, संक्षिप्त र पूर्ण गरी तीन हजार घोषणापत्र केन्द्रीय कार्यालयले उपलब्ध गराउने नीति बनाएको छ । पार्टी सभापतिको अपिल पनि केन्द्रले उपलब्ध गराउने भएको छ । ‘परम्परागत प्रचार सामग्रीका साथै रेडियो, टिभीमार्फत पनि पार्टीको पक्षमा सन्देश र विचार प्रवाह गर्नेछौं,’ खाँणले भने, ‘अहिलेको चुनाव, चुनावमात्रै नभएर लोकतन्त्रवादी र गैर लोकतन्त्रवादीबीचको जनमत संग्रह हो ।’
पञ्चायती शैलीको राष्ट्रवादको मुद्दा उठाएर एमाले र त्यसका अध्यक्ष केपी ओली चुनावी प्रचारमा जुटेको सुनाउँदै नेता खाँणले भने,‘कांग्रेस हिमाल, पहाड र तराई–मधेसलाई अलग होइन, एकताको सूत्रमा बाँध्न चाहन्छ ।’ वाम गठबन्धनले जति दाबी गरे पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेससहितका लोकतन्त्रवादी शक्तिले नै विजय प्राप्त गर्ने दाबी उनले गरे । ‘मुलुकको विकास, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षार्थ पनि लोकतान्त्रिक शक्तिले विजय प्राप्त गर्नेछन्,’ उनले भने, ‘गठबन्धन बनाउनु नौलो कुरा होइन, यो स्वाभाविक नै हो तर संविधान र व्यवस्था नै बदलेर एकदलीय शासन लागू गर्ने कुरामा हाम्रो गम्भीर ध्यानाकार्षण भएको छ ।’

प्रकाशित: २१ कार्तिक २०७४ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App