१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बागीले आधिकारिक तनावमा

अजित तिवारी/जितेन्द्रकुमार झा

विराटनगर/सप्तरी – टिकट वितरणप्रति असन्तुष्ट नेताहरूले आफ्नै दल सम्बद्ध गठबन्धनको निर्णय लत्याउँदै हेभिवेट उम्मेदवारकै क्षेत्रबाट बागी उम्मेदवारी दिएका छन् । मोरङ र सप्तरीको केन्द्र र प्रदेशमा हेभिवेट नेतालाई ‘अप्ठ्यारो’ मा पार्ने गरी बागी उम्मेदवारी परेको छ । असन्तुष्टि सम्बोधन नहुँदा पार्टी र गठबन्धनलाई नै ‘असर’ पार्ने गरी बागी उम्मेदवारी दर्ता भएको हो । बागी उम्मेदवारी परेपछि आधिकारिक तनावमा परेका छन् । 

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका क्षेत्रीय इन्चार्ज भेषनाथ रिजालले बागी उम्मेदवारी दिएका छन् । वाम गठनबन्धले मोरङको त्यस क्षेत्रमा एमालेका सचेतक भानुभक्त ढकाललाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ । ढकालले बिहीबार तामझामसहित विराटनगरमा उम्मेदवारी दर्ता गराए । ढकालले उम्मेदवारी दर्ता गरेलगत्तै रिजालले आफ्ना  समर्थक÷प्रस्तावकसहित बागी (स्वतन्त्र) उम्मेदवारी दर्ता गराए । 

प्रदेशसभातर्फ मोरङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट एमालेका पूर्वजिल्ला उपाध्यक्ष डिबी राईले बागी उम्मेदवारी दिएका छन् । एमालेका बागी उम्मेदवार रिजाल र राईले सँगसँगै उम्मेदवारी मनोनयन गराएका थिए । २०५६ सालमा स्थानीय निकाय, २०६४ र ०७० सालको संविधानसभा र ०७४ को स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न खोजेका राईलाई एमालेले ‘महत्त्व’ नदिएपछि उनी अहिले बागी बनेका हुन् । ‘०५६ सालको निर्वाचनदेखि नै पार्टीलाई मेरो इच्छा बताइरहेको थिएँ,’ बागी उम्मेदवारी दर्तापछि राईले भने, ‘पार्टी नेतृत्वले हुन्छ–हुन्छ मात्र भनिरह्यो, कहिल्यै टिकट दिएन।’

राईले पार्टीले इमानदारको कदर नगरेको र कहिल्यै अवसर नदिएकाले बागी उम्मेदवार बनेको बताए । एमालेका अर्का बागी उम्मेदवार रिजालले पार्टीभित्र त्याग, काम गर्ने र समर्पित नेताकार्यकर्तालाई पाखा लगाएकाले बागी उम्मेदवार बनेको तर्क गरे । 

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख) मा नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । नेत्री जस्मिन मण्डलले ५ (ख) बाट बागी उम्मेदवारी दर्ता गराएकी छिन् । पार्टीले टिकट नदिएपछि जनताको आग्रहमा आफू स्वतन्त्र उम्मेदवार बनेको उनले बताइन् । यसअघि उनी विजयकुमार गच्छदारले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा थिइन् । जस्मिन सद्भावनाका पुराना नेता बद्रीप्रसाद मण्डलकी भतिजी हुन् । बद्रीप्रसाद मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार छन् । मण्डलले बागी उम्मेदवारी दिएको क्षेत्र नम्बर ५ (ख) मा कांग्रेसबाट राजेश गुप्ता र संघीय समाजवादी फोरमबाट जयराम यादवले उम्मेदवारी दिएका छन्। 

एमालेका जिल्ला सदस्य ओसिम आलम र फोरमका नेता मोहम्द फैयाजलाई भने बागी उम्मेदवारी मनोनयन गर्नबाट पार्टीले अन्तिम समयमा रोकेको थियो ।  

मधेसी गठबन्धनमा पनि बागी

राजपा–फोरम गठबन्धन पनि उम्मेदवारी दर्तासँगै संकटमा परेको छ । आन्तरिक विवाद खुलेरै बाहिरिएको छ भने गठबन्धनका शीर्ष नेताविरुद्ध नै दुवैतर्फबाट बागी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। 

प्रतिनिधिसभाका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन्। 

सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका राजपा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री मृगेन्द्रकुमारसिंह यादवविरुद्ध संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अनिरुद्धप्रसादसिंह यादवले बागी उम्मेदवारी दर्ता गराएका छन् । अनिरुद्ध र मृगेन्द्र दाजु–भाइ हुन्। 

प्रदेशसभाका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट उम्मेदवारी दर्ता गराएका राजपाकै अर्का वरिष्ठ उपाध्यक्ष नवलकिशोर साहविरुद्ध संघीय समाजवादी फोरम नेपालका तराई–मधेस प्रादेशिक समितिका मुख्य सचिव शम्भु झाले बागी उम्मेदवारी दर्ता गराए। 

प्रदेशसभाका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट मनोनयन दर्ता गराएका राजपाका महासचिव मनीष सुमनविरुद्ध फोरमका नेता भीमराज यादव बागी बनेका छन् । यादव स्थानीय तह निर्वाचनमा फोरमबाट राजविराज नगरपालिकाको मेयर पदमा चुनाव लडेका थिए । राजपा महासचिव सुमनविरुद्ध राजपाकै क्षेत्रीय सभापति लक्ष्मण यादवले पनि बागी उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तापछि फोरम अध्यक्ष उपेन्द्र यादवले राजपा–फोरम गठबन्धनलाई कुनै प्रकारको संकट नरहेको स्पष्ट पारे । दुई पार्टीबीचको संस्थागत गठबन्धन इमानदारीपूर्वक निर्वाह गरिने बताउँदै केही व्यक्ति यताउता गर्दैमा गठबन्धन भंग नहुने उनको भनाइ थियो। 

चर्चामा आचार्य र शर्माको उम्मेदवारी

वाम गठबन्धनबाट मोरङ निर्वाचन क्षेत्र नम्बर ६ (क) बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाइँ जीवन आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । 

विराटनगर सभागृहमा आचार्य वाम गठबन्धनकै उम्मेदवारसँग आएर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रतिस्पर्धा कांग्रेस उम्मेदवार चुमनारायण तवदारसँग हुनेछ । आचार्यले दाबी गरिरहेको मोरङको क्षेत्र नम्बर ६ (क) मा माओवादीका अमन मोदी पनि आकांक्षी देखिएपछि मोरङ माओवादीमा विवाद चुलिएको थियो । माओवादीले मोदीलाई मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि विवाद साम्य भएको थियो । 

‘मैले उम्मेदवारी दिएकै क्षेत्रमा हुर्के, बढे र पढेको मानिस हुँ,’ उम्मेदवारी दर्तापछि पत्रकारसँग आचार्यले भने, ‘कुनै परिवारसँग जोडिनु नै सबै कुरा होइन, विकास र स्मृद्धिका लागि मेरो उम्मेदवारी हो ।’

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ बाट नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका अन्य उम्मेदवारभन्दा उनको मनोनयन दर्ता गराउन जाँदा तामझाम बढी थियो । कलेज प्रबन्धनिर्देशकबाट राजीनामा गरेपछि कांग्रेसले उनलाई टिकट दिएको हो । शर्माको प्रतिस्पर्धा एमालेका नेता भानुभक्त ढकालसँग हुँदैछ। 

 

तस्बिर ः 

१. माओवादी अध्यक्ष दाहालका ज्वाइँ जीवन आचार्य । 

२. कांग्रेस उम्मेदवार सुनील शर्मा । 

३. कांग्रेसकी बागी उम्मेदवार जस्मिन मण्डल ।

४. एमालेका बागी उम्मेदवार भेषनाथ रिजाल (बायाँ), डिबी राई (दायाँ) ।

तस्बिर ः नागरिक

प्रकाशित: १९ कार्तिक २०७४ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App