९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री मोहले प्रदेशसभामा

नेपालगन्ज – जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा सिफारिस भएका एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले अन्ततः सल्यानबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । पार्टीबाट प्रदेश सरकारको नेतृत्व गर्ने आकांक्षासहित उनी प्रदेशसभा सदस्य निर्वाचनमा होमिएका हुन् ।

सोही प्रदेशबाट अर्का पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री यामलाल कँडेलले सुर्खेत २ (क) बाट उम्मेदवारी दिएका छन् । दुईपटक सांसद र एकपटक मन्त्री भइसकेका कँडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आपूmभन्दा कनिष्ठलाई पठाएर प्रदेशसभामा लाग्नुको भित्री उद्देश्य पनि मुख्यमन्त्री पद नै हो ।

केही दिनअघिसम्म मुख्यमन्त्रीका सम्भावित उम्मेदवारबारे अन्योल रहेको ५ र ६ नम्बर प्रदेशमा दोस्रो चरणको मनोनयनयसँगै स्पष्ट अनुहार बाहिर आएको छ । पहिलो चरण निर्वाचनक्रममा प्रदेश नं. ६ बाट वाम गठबन्धनका दुई नेता माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र नरेश भण्डारीले क्रमशः कालिकोट र जुम्लाबाट प्रदेशसभाका लागि मनोनयन दर्ता गरिसकेका छन् । शाही वर्तमान सरकारका बिनाविभागीयमन्त्री हुन् भने भण्डारी पूर्वसभासद हुन् । प्रत्यक्ष र समानुपातिक गरी ४० सदस्य रहने प्रदेश संसद्बाट ६ नम्बर प्रदेशको मुख्यमन्त्रीमा वाम गठबन्धनतर्पmबाट यिनै चारलाई हेरिएको छ ।

कांग्रेसले पनि पूर्वमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै हुम्लाबाट प्रदेशसभा चुनावी मैदानमा अघि सारेको छ । वर्तमान सरकारका सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट पनि सम्भावित मुख्यमन्त्री देखिएका छन् । उनले बिहीबार सुर्खेतको २ (ख) बाट मनोनयन दर्ता गरे । पूर्वसांसद दीपकजंग शाहले पनि जाजरकोटबाट प्रदेशसभामा उम्मेदवारी दिएका छन् ।

बुधबारसम्म ५ नम्बर प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीको आकृति अझ धमिलो थियो । बिहीबार एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङको २ (ख) बाट उम्मेदवारी दर्ता गरेपछि वाम गठबन्धनबाट सम्भावित मुख्यमन्त्रीको चित्र स्पष्ट भएको छ । स्रोतका अनुसार दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ दाबी गरिरहेका पोखरेललाई गठबन्धनले मुख्यमन्त्रीमा निश्चित गर्दै प्रदेशसभामा मनाएको हो । उक्त क्षेत्रमा माओवादी केन्द्रका कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गरेका छन् ।

५ नम्बर प्रदेश एमालेका ‘भेट्रान’ नेताले भरिभराउ प्रदेश हो । केन्द्रीय कमिटीका १३ पदाधिकारीमध्ये ६ जना यही प्रदेशका छन् । उपाध्यक्षद्वय वामदेग गौतम र युवराज ज्ञवाली, उपमहासचिव विष्णु पौडेल, सचिवत्रय प्रदीप ज्ञवाली, घनश्याम भुसाल र गोकर्ण बिष्ट यही प्रदेशका हुन् । यसका साथै स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र छविलाल विश्वकर्मा तथा पोलिटश्युरो÷वैकल्पिक पोलिटब्युरो सदस्य वेदुराम भुसाल, डा. विजय पौडेल, राधा ज्ञवाली, गौरा प्रसाई, गोकुल घर्ती र दलबहादुर राना यही प्रदेशका नेता हुन् । नवलवरासीबाट प्रदेशसभामा उम्मेदवारी दिएका केन्द्रीय सदस्य वैजनाथ चौधरी मुख्यमन्त्री पद ठूला नेताको रोजाइमा नपर्दा अचम्मित भएको बताउँछन् । ‘हाम्रो प्रदेशमा पार्टीका एकसे एक ठूला नेता हुनुहुन्छ, तर कोही पनि खुसीसाथ प्रदेशमा आउन तयार भएको देखिएन,’ चौधरी भन्छन्, ‘यसले यो पदको गरिमा नै कम आकलन गरेको छ ।’

५ नम्बर प्रदेशमा कांग्रेसबाट एकजना पनि केन्द्रीय सदस्य तहका नेता प्रदेशसभा चुनावी मैदानमा छैनन् । कांग्रेसका कपिलबस्तुका पूर्वमन्त्री वीरेन्द्र कनोडिया र दाङका डिल्ली चौधरी (वर्तमान श्रमराज्यमन्त्री) सबैभन्दा ‘हाइप्रोफाइल’ उम्मेदवार हुन् । अधिकांश उम्मेदवार जिल्लास्तरीय नेता छन् । ‘कांग्रेसले ५ नम्बर प्रदेशमा आप्mनो सम्भावित मुख्यमन्त्री उम्मेदवार तोकेको देखिएन,’ बाँके कांग्रेस नेता मेघराज ओली भन्छन्, ‘केही अपवादबाहेक सबै नेता जिल्लास्तरकै छन् ।’ वाम गठबन्धनले केन्द्रीय नेतालाई मुख्यमन्त्रीको रुपमा अघि सारेको अवस्थामा कांग्रेसले पनि सोहीअनुसारको नेतालाई अघि सार्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित: १८ कार्तिक २०७४ ०३:४६ शनिबार

मुख्यमन्त्री मोहले प्रदेशसभामा