रौतहट – रौतहटमा प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारहरूले उत्साहपूर्ण मनोनयन दर्ता गराएका छन्। लोकतान्त्रिक गठबन्धन बन्न नसकेपछि वाम गठबन्धन खेमामा भने थप उत्साह देखिएको छ । रौतहटको संसदीय निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका तर्फबाट रौतहट सभापति कृष्णप्रसाद यादवले प्रादेशिक सभाका ‘क’ क्षेत्रका लागि नागेन्द्र साह र ‘ख’ क्षेत्रका लागि राजेश चौधरीसहितले मनोनयन दर्ता गराएका छन् । यसैगरी वाम गठबन्धनबाट पूर्व राज्यमन्त्री एवं माओवादी नेता सत्यनारायण भगत बिनले प्रदेशसभाका लागि ‘क’का लागि एमालेका भिखारी यादव र ‘ख’का लागि माओवादीका उपेन्द्र साहसहितले मनोनयन दर्ता गराएका छन्।
फोरम–राजपा गठबन्धनका तर्फबाट राजपा अध्यक्ष मन्डलका नेता अनिल झाले प्रदेश सभाका लागि ‘क’बाट केन्द्रीय सदस्य बाबुलाल साह र ‘ख’बाट फोरम केन्द्रीय सदस्य योगेन्द्र यादवसहित मनोनयन दर्ता गराएका छन्।
रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि नेकाका पूर्वमन्त्री आफताब आलमले प्रदेश सभाका लागि ‘क’बाट नागेन्द्र सिन्हा र ‘ख’बाट रामचन्द्र गिरीसहितले मनोनयन दर्ता गराएका छन् । गत संविधान सभामा आलमलाई फोरम लोकतान्त्रिकबाट पराजित गर्दै हालै एमालेमा प्रवेश गरेका पूर्व राज्यमन्त्री राजाबाबु मुस्ताक आलमले वामगठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट ‘क’मा एमालेका शैलेन्द्र साह र ‘ख’मा माओवादी केन्द्रका पूर्व सांसद सुरेन्द्र जयसवाल अशोकले मनोनयन दर्ता गराएका छन् । यसै गरी फोरम–राजपा गठबन्धनको तर्फबाट फोरमका किरण साहले ‘क’बाट डा. रामशंकर ठाकुर र खबाट रामकिशोर यादवसहित मनोनयन दर्ता गराएका छन्।
सर्वाधिक चर्चामा रहेको रौतहटको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि बिनाविभागीय मन्त्री एवं माओवादी नेता प्रभु साहले ‘क’बाट एमालेका नागेन्द्र यादव र ‘ख’बाट माओवादी केन्द्रका कुन्दन कुशवाहाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, नेकाका पूर्व सांसद सुनीलकुमार यादवले ‘क’बाट शेख सेराज र ‘ख’बाट रामनारायण यादवसहितले मनोनयन दर्ता गराएका छन् । फोरम–राजपा गठबन्धनको तर्फबाट राजपाका नवप्रवेशी ओमप्रकाश साहले ‘क’बाट राजपा उपाध्यक्ष गोविन्द चौधरी र ‘ख’बाट फोरमका वृजकिशोर यादवसहित मनोनयन दर्ता गराएका छन्।
क्षेत्र नम्बर ४ बाट कांग्रेसका देवप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाका लागि र ‘क’बाट धनलाल थोकर र ‘ख’बाट रामाज्ञा यादवले प्रदेश सभाका लागि मनोनयन दर्ता गराएका छन् । फोरम राजपा गठबन्धनको तर्फबाट राजपामा नवप्रवेशी कन्थमुनिप्रसाद जयसवालले ‘क’बाट मुक्तिनारायण चौधरी र ‘ख’बाट पूर्व आइजिपी प्रदीपशमशेर जबराले मनोनयन दर्ता गराएका छन् । वाम गठबन्धनका तर्फबाट पूर्व राज्यमन्त्री एवं एमालेका केन्द्रीय सदस्य डा. वंशीधर मिश्रले ‘क’बाट माओवादीका पूर्व सांसद देवेन्द्र पटेल र एमालेका नागेन्द्र यादवसहितले मनोनयन दर्ता गराएका छन् । विभिन्न दलको गठबन्धन भएपछि विगतका तुलनामा उम्मेदवारको संख्या घटेको छ भने स्वतन्त्र उम्मेदवारी कमै परको छ।
बागी बने बबन
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बबन सिंहले रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारको हैसियतमा मनोनयन दर्ता गराएका छन् । २०६४ सालको संविधान सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका सिंह मधेस आन्दोलनमा निकै सक्रिय रहेका थिए । मधेस आन्दोलन पश्चात संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका सिंहले पार्टीले मूल्यांकन नगरेको भन्दै बागी उम्मेदवार बनेका हुन्।
प्रकाशित: १७ कार्तिक २०७४ ०३:१९ शुक्रबार