२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

मतदाता रिझाउन महत्वकांक्षी योजना

काठमाडौं – नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गरि ‘आर्थिक समृद्धिको संकल्प’सहित घोषणापत्रमा सार्वजनिक गरेको छ।

सोमबार सार्वजनिक घोषणापत्रमा कांग्रेसले उच्च र फराकिलो आर्थिक वृद्धिको महत्वाकांक्षी राष्ट्रिय अभियानको नेतृत्व गर्ने उल्लेख गरिएको छ । कांग्रेसले आगामी पाँच वर्षभित्र नेपाली अर्थतन्त्रको आकार ५० खर्ब रुपैयाँ पु¥याउने महत्वकांक्षी योजना मतदातासमक्ष राखेको छ । हाल २५ खर्ब हाराहारीमा रहेको मुलुकको अर्थतन्त्र पाँच वर्षमा त्यत्ति माथि पुर्‍याउन निकै चुनौतिपूर्ण छ । त्यसैले कांग्रेसले मतदाता रिझाउन मात्र यस्तो प्रतिबद्धता घोषणापत्रमा समेटेको देखिन्छ। 

घोषणापत्रमा प्रतिव्यक्ति औसत वार्षिक आयको लक्ष्य पनि धेरै महत्वकांक्षी राखिएको छ । वार्षिक प्रतिव्यक्ति आय एक लाख ५० हजारभन्दा बढी हुनेगरी अर्थतन्त्रलाई गतिशील बनाउने घोषणापत्रमा छ । यो लक्ष्य प्राप्तिका लागि पर्याप्त रोजगारीको अवस्था सिर्जना गर्नु र अर्थतन्त्र मजबुत गराउनु अति आवश्यक हुन्छ । अहिलेकै अवस्थामा उक्त लक्ष्यमा पुग्न निकै कठिन देखिन्छ । यद्यपि, उसले नीतिगत सुधार, स्वदेशी तथा विदेशी पूँजीको परिचालन, चुस्त आर्थिक व्यवस्थापन र असल शासनको प्रत्याभूति सुनिश्चित गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।

नेपालको अर्थतन्त्रलाई ज्ञान, अनुभव, विवेक र अन्तर्राष्ट्रिय विश्वसनीयताका आधारमा दूरगामी सम्पन्नताको बाटोमा हिडाउन सक्ने क्षमता कांग्रेससँग मात्र भएको दाबी गरिएको छ । आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको गतिशील राष्ट्र बनाउने संकल्प घोषणापत्रमा छ । ‘यसका लागि प्रचलित मूल्यमा अर्थतन्त्रको आकार आजको भन्दा चार गुणा ठूलो बनाउनुपर्नेछ । कम्तिमा पनि एक दशकसम्म वार्षिक सातदेखि दश प्रतिशतसम्मको आर्थिक वृद्धि दर निरन्तर हासिल गर्दै हरेक वर्ष तीनदेखि पाँच लाख रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ,’ घोषणापत्रमा भनिएको छ, ‘यो उद्देश्य पूर्ति गर्नका लागि उपयुक्त आन्तरिक तथा वाह्य लगानीको वातावरण तयार गरिनेछ।’

कृषि, पर्यटन, ऊर्जा, उत्पादनमुलक उद्योग र नयाँ व्यापारयोग्य क्षेत्रहरुका सम्भावनालाई समेटेर १० वर्षे विकास दृष्टि र रणनीति बनाई नेपाली समाज र अर्थतन्त्रलाई रुपान्तरण गर्ने लक्ष्य राखिएको छ । वृहत लगानी सुनिश्चित गर्न कांग्रेसले दोस्रो चरणको विश्वसनीय आर्थिक सुधारको शृंखलालाई निरन्तरता दिने, कांग्रेस नेतृत्वको सरकारले हालै पारित गरेका वित्तीय, श्रम, ऊर्जा, उद्योगलगायत क्षेत्रसँग सम्बन्धित ऐन र नीतिहरु कार्यान्वयनमा ल्याइने, ऊर्जा, यातायात तथा सिँचाइ लगायतका भौतिक पूर्वाधार निर्माणमा व्यापक पूँजी निर्माणको अभियान सञ्चालन गर्ने लगायत प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ।

नयाँ आर्थिक अवसरहरुको पहिचान गरी उत्पादन वृद्धि, रोजगारी सिर्जना र समावेशी समृद्धिलाई अभियानको रुपमा अगाडि बढाउने, युवा तथा महिला उद्यमी परिचालन, कृषि आधुनिकीकरण, पर्यटन विकास, उद्योगको द्रूत विकास, शिक्षा, स्वास्थ्यको क्षेत्रमा व्यापक लगानी परिचालन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ।
कांग्रेसले यातायात, ऊर्जा, सडक, सिँचाइ, कृषि, पर्यटनलगायत भौतिक पूर्वाधारको विकासदेखि हरित शहर, स्मार्ट शहर, सांस्कृतिक शहर, ऐतिहासिक शहरहरु विकसित गर्ने विषयलाई प्राथमिकताका साथ घोषणपत्रमा राखेको छ । निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, एक गाउँ एक उत्पादन तथा एक नगर एक कार्यक्रमलाई जोड दिई विशेष प्रकृतिको कृषि प्रसार सेवा विस्तार गर्नेलगायत विषयलाई पनि जोड दिइएको छ।

त्यसैगरी तराईका मतदातालाई आकर्षित गर्न तराई–मधेश केन्द्रित विभिन्न प्रतिबद्धतालाई घोषणापत्रमा समेटेको देखिन्छ । बाढीको दुष्प्रभावबाट तराई–मधेश क्षेत्रलाई मुक्त बनाउन प्रत्येक वर्ष कम्तिमा सय किलोमिटर तटबन्धन निर्माण गरिने, नदीहरूमा दुवैतर्फ निर्माण गरिने तटबन्धलाई गाडी चल्न सक्ने सडकका रुपमा प्रयोग गरिने, तराईका ग्रामिण सडकहरुको कालोपत्रे, स्तरोन्नति, पुलनिर्माण गरिने जस्ता प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ। 

जैविक र खेतीयोग्य जमिनको संरक्षणका लागि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रमलाई राष्ट्रिय गौरवको प्रभावकारी आयोजनाका रूपमा सञ्चालन गरिने र जनकपुरलाई तराइको सांस्कृतिक तथा धार्मिक महानगर र विरगंजलाई व्यावसायिक महानगरका रूपमा विकास गरिनेसमेत कांग्रेसको प्रतिबद्धतामा उल्लेख छ।

प्रकाशित: १४ कार्तिक २०७४ ०६:३१ मंगलबार

मतदाता रिझाउन महत्वकांक्षी योजना