८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

दाङको थारु बहुल क्षेत्रमा कांग्रेस थप बलियो

दाङ- नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएपछि दाङको एउटा निर्वाचन क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने देखिएको छ । यो एकीकरणले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसलाई मजबुत बनाएको छ । यी दुई पार्टीबीच एकीकरण भएसँगै कांग्रेसले यो क्षेत्रमा प्रभावशाली उपस्थिति जनाउने आकलन गरिएको छ ।

थारु समुदायमा बढी प्रभाव रहेको नेपाल लोकतान्त्रिक फोरमसँग एकीकरणपछि कांग्रेस थप बलियो बनेको छ ।

थरुहट आन्दोलनको उद्गम थलोका रूपमा रहेको यो चुनावी क्षेत्र (देउखुरी) थरुहट आन्दोलनका कमान्डरमध्येका योगेन्द्र चौधरीको गृहजिल्ला हो । चौधरी फोरम लोकतान्त्रिकका प्रमुख सचेतक थिए । थारु बहुल यो क्षेत्रमा उनको प्रभाव बलियो मानिन्छ । ‘यो पार्टी एकीकरणले दाङको एक नम्बर क्षेत्रमा कांग्रेसको स्थिति थप बलियो बनेको छ,’ कांग्रेस केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले नागरिकसँग भनिन्, ‘फोरम लोकतान्त्रिकको प्रभाव देउखुरी क्षेत्रमा राम्रो थियो, अब त्यो प्रभाव कांग्रेसमा गाभिएको छ ।’ तर कांग्रेसभित्रको अन्तरघातको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
जिल्लाको १ नम्बर चुनावी क्षेत्र कांग्रेस नेता खुमबहादुर खड्काको क्षेत्र भएकाले यहाँ कांग्रेसको बलियो पकड भएको मानिन्छ ।  कांग्रेस केन्द्रीय सदस्य पार्वती डिसी चौधरीको चुनावी क्षेत्र पनि यही नै हो । थरुहट आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका योगेन्द्र चौधरीको प्रवेशले कांग्रेसलाई थप टेवा पु¥याएको विश्लेषण भइरहेको छ । ‘मैले मेरो प्रभावबारे भन्न सुहाउँदैन,’ चौधरीले भने, ‘तर, फोरम लोकतान्त्रिकका लागि राम्रो प्रभाव भएको क्षेत्र देउखुरी हो ।’
विगतका चुनावी परिणामलाई हेर्ने हो भने पनि यो क्षेत्रमा फोरम लोकतान्त्रिक चौथो शक्तिका रूपमा रहँदै आएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकको मत ३ हजार थियो । दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा यो पार्टीले आफ्नो मतलाई ४ हजार ६ सय ४९ पु¥याएको थियो । यो मत माओवादीभन्दा एक तह कम हो । विजयी नेपाली कांग्रेसले ८ हजार ७ सय १९ मत ल्याएको थियो भने दोस्रोमा रहेको एमालेले ७ हजार ७५ र तेस्रोमा रहेको माओवादीले ५ हजार ६ सय ८ मत प्राप्त गरेको थियो । माओवादीपछि बढी मत प्राप्त गर्ने पार्टी फोरम लोकतान्त्रिक थियो । गत संविधानसभाको निर्वाचनको मत जोडघटाउ गर्दा पनि त्यो बेलाको पहिलो शक्ति र चौथो शक्तिबीचको एकीकरणले अहिलेको वाम तालमेलका लागि ठूलो चुनौती हुने देखिन्छ । ‘यो तालमेलले क्षेत्र नम्बर १ मा वाम तालमेलको सहजताको सम्भावना अब भंग भएको छ,’ पार्वतीले भनिन्, ‘अब कांग्रेस बलियो भएको छ ।’
फोरम लोकतान्त्रिक गत स्थानीय तह निर्वाचनमा पनि चौथो स्थानमा कायम भएको थियो । यो चुनावी क्षेत्रका लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा फोरम लोकतान्त्रिक चौथो शक्ति बनेको थियो । ‘हामीहरू संविधानसभा निर्वाचनदेखि नै चौथो शक्तिका रूपमा यो क्षेत्रमा रहँदै आएका थियौं,’ फोरम लोकतान्त्रिक क्षेत्र नम्बर १ का अध्यक्ष हिरालाल चौधरीले भने, ‘अब यो पूरै शक्ति नेपाली कांग्रेसको भएको छ ।’   
देउखुरी क्षेत्रमा आफ्नो प्रभाव कायम राख्न सकेका योगेन्द्र चौधरी आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारमा सिफारिससमेत भएका छन् । फोरम लोकतान्त्रिकका तर्फबाट सिफारिस भएका उनलाई कांग्रेसले बलियो उम्मेदवारका रूपमा प्रस्तुत गर्न सक्ने सम्भावना छ । तर, आपसी छलफलबाट उम्मेदवार चयन सहमति  भएको योगेन्द्रले बताए । उनले भने, ‘अब मैले मेरो दाबीभन्दा पनि पार्टीको निर्णयलाई आधिकारिक मान्नुपर्छ ।’
उनीबाहेक कांग्रेसबाट नेता खुमबहादुर खड्का, निवर्तमान सांसद सुशीला चौधरी, पूर्वसांसद कृष्णकिशोर घिमिरे, प्रदीप थापालगायतको नाम सिफारिस भएको छ । प्रत्यक्षमै बलिया दाबेदार मानिएकी केन्द्रीय सदस्य पार्वती डिसी चौधरीको भने समानुपातिक उम्मेदवारको बन्दसूचीमा नाम पठाइएको छ । ‘केन्द्रीय नेताहरूले समानुपातिकमा जानुपर्छ भन्नुभएको छ,’ पार्वतीले भनिन् ।

प्रकाशित: २ कार्तिक २०७४ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App