१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले गण्डकी प्रदेश अधिवेशन सुरु, अध्यक्ष ओली आएनन्

पोखरामा सोमबार सुरु भएको एमाले गण्डकी अधिवेशन । तस्बिरः उमेश पुन/नागरिक

नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ। अमरसिंहचौरमा भएको उद्घाटनमा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भनिए पनि अन्तिम समयमा ओली सहभागी भएनन्।

मौसम खराबीका कारण समयमै उडान हुन नभएपछि अध्यक्ष ओली पोखरा नआएका हुन्। ओली नआएपछि महासचिव शंकर पोखरेलले अधिवेशनको सम्बोधन गरेका छन्। पोखरा आउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आए पनि समयमै उडान नभएपछि अध्यक्ष ओली फर्किएको पोखरेलले जानकारी दिएका थिए।

त्यस अवसरमा नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले गठबन्धन सरकारप्रति युवाहरुको आशा मरेको बताए। उनले गठबन्धन सरकारप्रति आशा मरेकै कारण युवाहरु देश छाडेर टाढा टाढा गइरहेको बताए। ‘गठबन्धन सरकारप्रति युवाहरुको आशा मरेको छ,’ उनले भने, ‘त्यही भएर युवाहरु दिनहुँ लामबद्ध हुँदै देश छाडेर टाढा टाढा गइरहेका छन्।’

सचिव विष्टले गठबन्धन सरकार रेडियो टेलिभिजनमा मात्र देखिएको टिप्पणी समेत गरे। ‘सरकार रेडियो टेलिभिजनमा मात्र देखिएको छ, नत्र अन्यत्र देखिएको छैन,’ उनले भने, ‘युवाहरुको आशा भरोसामा, बेरोजगारीले, मजदुरले, उत्पीडित समुदायले सरकार देख्न सकेका छैनन्।’

सचिव विष्टले भोका नांगाप्रति सरकार उदासीन बनेको आरोप लगाए। ‘सरकार राष्ट्रिय समस्याप्रति पनि उदासीन छ,’ उनले भने, ‘यो सरकारको अगाडि गुनासो गर्नु भनेको भैंसीको अगाडि बाँसुरी बजाए जस्तै हो। जति बजाए पनि केही फरक पर्दैन।’

अधिवेशनमा ९०७ जना प्रतिनिधि रहने एमाले गण्डकीका उपसचिव एवम् प्रचारप्रसार उपसमिति संयोजक रश्मि आचार्यले जानकारी दिए। उनका अनुसार कास्कीबाट १४६, स्याङ्जाबाट ११३, गोरखाबाट ५३, बागलुङबाट ७२, पर्वतबाट ११०, नवलपुरबाट १०९, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना प्रतिनिधिका रुपमा सहभागी हुनेछन्।

प्रकाशित: १५ आश्विन २०८० १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App