५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

देशले आत्मविश्वास गुमाएको छ: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशले आत्मविश्वास गुमाएको बताएका छन्। उनले आम मानिसहरुले देशको प्रणालीप्रति प्रश्न गर्न थालेको भन्दै काँग्रेसले प्रश्न सुन्नु र जनताको भावना बुझ्नुपर्ने बताए।

नेपाली काँग्रेस सिन्धुली दुधौली नगरपालिकाद्वारा आयोजित नगर सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘नेकपा एमालेलाई गल्लीको छेउमा बसेर गाली गर्ने छुट छ। नयाँ पार्टीलाई तीस वर्ष केही भएन सबै सकियो अब हामी आयौ भन्दै रत्नपार्कमा जादुको छडी लिएर हिँडेको जस्तै गरी हिँड्ने छुट होला तर नेपाली काँग्रेसलाई त्यो छुट छैन। देश काँग्रेसले सम्हाल्नुपर्नेछ सम्हाल्ने कसरी हो, चिन्तन र छलफल यहाँ गर्नुपर्छ’ उनले भने ‘व्यवस्थाप्रति उठेका प्रश्नको जवाफ काँग्रेसले दिनुपर्छ।’

नेपालको अड्डा अदालत प्रहरी प्रशासनप्रति जनताको विश्वास कम हुँदै गएको भन्दै उनले पुराना पार्टीहरूमा समेत जनताको मोह कम हुँदै गएको बताए। सरकारले उल्टो काम गरिरहेको आरोप लगाउँदै महामन्त्री थापाले जेलमा थुन्नुपर्नेलाई छाड्ने र नथुन्नु पर्नेलाई जेलमा थुन्ने काम गरेर सरकारले उल्टो काम गरिहरेको उनको आरोप छ।

सङ्घीयता प्रति जनतालाई वितृष्णा पैदा हुँदै गएको भन्दै जनप्रतिनिधिले फजुल खर्च गर्न नहुने उनको भनाई छ।

‘काँग्रेसले जितेको संघ प्रदेश स्थानीय तह सबै तहका जनप्रतिनिधिलाई हामीले फजुल खर्च गर्न पाउँदैनौ भनेका छौ’, उनले भने ‘प्रदेश देखि स्थानीय तह खर्चिलो भएकाले त्यसलाई काँग्रेसले सुधार गर्नुपर्ने छ।

उनले संवैधानिक प्रणालीप्रति जनताको असन्तुष्टि बढेको भन्दै प्रदेश सरकारको खर्च कटौती हुनुपर्ने बताए। ‘भएका मन्त्रालय फुटाएर मन्त्री र सेवा सुविधा थप गरी राज्यको ढुकुटी सक्ने काम भएपछि नागरिकले ताली बजाउँदैन’ उनले भने।

प्रदेश सरकारप्रति नागरिकको असन्तुष्टि बढ्नुमा सङ्घीय सरकार दोषी भएको भन्दै सङ्घीय सरकारले दिनुपर्ने कानुन र अधिकार प्रदेशलाई नदिएको भन्दै उनले आक्रोश पोखे।

‘मुख्यमन्त्री सिडिओ र मालपोत हाकिम भन्दा तल छ’, उनले भने, ‘एउटा जग्गा पास गर्नुपर्दा मुख्यमन्त्रीलाई मालपोतको हाकिमले डन्डा चलाउँछ, अनि प्रहरी प्रशासनको त कुरै छाडौँ।’

उनले प्रदेश भनेको एउटा तहको सरकार भएको भन्दै प्रहरी विनाको सरकार हुन नसक्ने स्पष्ट पारे।संसद् र सरकार समावेशी बन्नुपर्ने भन्दै उनले निर्वाचन प्रणालीबाटै एउटै पार्टीले बहुमत ल्याउन सक्ने गरी निर्वाचन प्रणाली सुधार गर्न छलफल र बहस हुनुपर्ने बताए।

‘यो छलफल बिग्रियो भत्कियो भन्नेहरुले होइन हामी काँग्रेसले गर्ने हो, काँग्रेसले सम्हाल्ने हो’, सांसद समेत रहेका महामन्त्री थापाले भने, ‘काँग्रेसको जिम्मामा देश रहेकाले यो भएन र त्यो भएन भन्ने छुट काँग्रेसलाई छैन।’

कोशी प्रदेशमा केही दिनमै काँग्रेसको नेतृत्वमा सरकार बन्ने उनको दाबी थियो। ‘सात प्रदेश मध्ये ६ ओटा प्रदेश सरकारमा काँग्रेसको सहभागिता छ। ३ सय ३२ ओटा पालिकामा अहिले हाम्रो नेतृत्व छ’, उनले भने ‘२६ सय ६८ ओटा वडामा रुख चिन्ह लिएर जितेका वडा अध्यक्ष छन् देशको प्रधानमन्त्री पनि हामीले भोट हालेर बनाएका हौ। भोट झिकेको दिन प्रधानमन्त्री खुस्किछ र केही समयमा काँग्रेसको प्रधानमन्त्री हुन्छ।’ उनले थपे ‘सङ्घीय सरकारको नेतृत्व पनि केही समयपछि काँग्रेसले लिन्छ।’

देशका जुनसुकै तहमा जितेका काँग्रेसका जनप्रतिनिधिले राम्रो काम गरेर देखाए आउदो निर्वाचनमा काँग्रेसलाई जनता स्वयमले रुचाएर भोट हाल्ने उनको भनाइ थियो।

कार्यक्रममा केन्द्रीय सदस्य उदयशमसेर राणा बागमती प्रदेशका सभापति इन्द्र बानिया लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: १३ आश्विन २०८० १६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App